Mon12112017

Last update01:57:25 AM

Back You are here: Home समाचार

समाचार

स्पर निर्माणमा तीस लाख घोटालाको आशंका

माडी, २७ बैशाख । बाढी नियन्त्रण गर्नको लागि माडी नगरपालिका–३, रतनीमा निर्माण गरिएको स्पर 

(ड्याम) निर्माणमा रकम दुरुपयोग भएको भेटिएको छ ।

जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय हेटौंडाबाट प्राप्त जानकारी अनुसार, दुई वटा उपभोक्ता समितिको नाममा ६६ लाख ६० हजार चार सय ६८ निकासा भएको रकम दुरुपयोग भएको हो । बाढी नियन्त्रण गर्नको लागि माडीको रतनीमा दुई वटा उपभोक्ता समितिले काम गरेको स्पर निर्माणमा रकम दुरुपयोग भएको देखिएपछि माडीबासीले सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । 

दुई वटा आयोजनाको नाममा ६६ लाख ६० हजार चार सय ६८ रुपैयाँमध्ये तोकिए अनुसार खर्च विवरण मुल्याङ्कन गर्दा ३५ लाख १९ हजार ९७ रुपैयाँमात्र खर्च भएको देखिन्छ । यसरी जाली खरिद, जाली भर्ने, ठाउँ मिलाउने, ढुवानी, ढुङ्गा लगायतको रकम मुल्याङ्कन गर्दा करीब ३३ लाख रुपैयाँको चलखेल भएको देखिन्छ । 

उपभोक्ता समितिले जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय हेटौंडामा बुझाएको विवरण र वास्तविक खर्चको विवरण हेर्दा रकम दुरुपयोग भएको पुष्टि हुन्छ । मदन पौडेल संयोजक रहेको रिउ खोला संरक्षण समिति साविक माडी न.पा.–१० ले ४२ लाख ४५ हजार आठ सय ३२ रुपैयाँको लागतमा १२ मिटरका जम्मा पाँच वटा स्पर निर्माण सम्पन्न गरेको छ । रतनी सिमरा कृष्णनगर राइटोल बगही रिउ खोला नियन्त्रण उपभोक्ता समितिको नामबाट नौ मिटरको एउटा र पाँच मिटरका दुई वटा स्पर निर्माण भएको छ । यसको अध्यक्षमा कुलबहादुर दुरा रहेका छन् ।

उपभोक्ता समितिका अध्यक्ष मदन पौडेलसँग सम्पर्क गर्दा उनले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय हेटौंडाको टेण्डर अनुसार नै काम सम्पन्न भएर रकम निकासा भएको बताए । निकासा रकम र वास्तविक खर्चको विवरण हेर्दा रकम चलखेल भएको माडीका सामाजिक अगुवा श्रीप्रसाद दवाडीले बताए ।

लक्ष्मीनारायण टे«डिङ, गैंडाकोटबाट किनेको बिल विवरण अनुसार, तारको जम्मा मूल्य १२ लाख एक सय १६ रुपैयाँमात्र देखिन्छ । जाली भरेको ज्यालातर्फ प्रतिजाली चार सय लागेको र योजना अनुसार छ सय २६ वटा जालीको पाँच लाख एक हजार छ सय रुपैयाँ लागेको देखिन्छ । 

ढुङ्गा ढुवानी सम्झौता अनुसार, सात सय ७० ट्याक्टर ढुङ्गा भरिएकोमा प्रतिट्याक्टरको दुई हजार ५० लागे अनुसार १५ लाख ७७ हजार तीन सय ८१ रुपैयाँ खर्च देखिन्छ । जाली राख्ने ठाउँको लागि जे.सि.बी. खर्च दुई लाख २० हजार लागेपनि सम्पूर्ण रकम जोड्दा करिब ३३ लाख जतिको दुरुपयोग भएको पाइएको माडीका अगुवा दवाडीले जानकारी दिए ।

माडीमा रेडियो माडीलगायत छ वटा संस्थाद्वारा बुधबार आयोजना गरिएको मेयरका उम्मेदवारहरु बीचको अन्तरसंवाद कार्यक्रममा उपभोक्ता समिति अध्यक्ष मदन 

पौडेल समक्ष रकम चलखेल भएको बिषयमा कुरा राख्न सहभागी आतुर थिए । तर निमन्त्रणा पाएर पनि राप्रपाबाट माडी नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका उनी उपस्थित भएनन् । 

मदन पौडेललाई स्पर निर्माणका बिषयमा कुरा राख्नका लागि तथ्य र प्रमाणसहितको विवरण हेटौँडास्थित जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयबाट ल्याइएको थियो । तर, अन्य सबै पार्टीका उम्मेदवारहरु सहभागी भएको कार्यक्रममा पौडेल अनुपस्थित रहेकाले थप शंका उत्पन्न भएको हो ।

भरतपुर अस्पतालमा लैंङ्गिक संकट व्यवस्थापन केन्द्र स्थापनाको तयारी

वसन्त ढुंगाना
भरतपुर, २८ चैत । अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापनाका लागि भरतपुर अस्पतालमा तयारी थालिएको छ ।
हिंसामा परेका महिलालाई अल्पकालीन आवास, कानुनी उपचार, पुनस्र्थापना, प्रहरीद्वारा सुरक्षा दिने विषयको सुनिश्चितता र निःशुल्क स्वास्थ्य सेवा दिने गरी लैंङ्गिक हिंसा एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गर्न लागिएको हो ।
‘महिलाहरु शैक्षिक, सामाजिक, राजनैतिक, धार्मिक, आर्थिक, संस्कृतिक रुपमा हिंसामा पर्ने गर्दछन् । उनीहरु हिंसामा परेपछि उपचार नपाइरहेको अस्वस्था छ’ स्वास्थ्य मन्त्रालयका जेन्डर ईक्यूटी सिनयर एड्भाईजर सिताराम प्रसाईले भने, ‘भरतपुर अस्पतालमा हिंसापीडित महिलाहरुको तीब्र गतिमा उपचार गर्नको लागि दुई साताभित्र केन्द्र स्थापना गरिनेछ ।’
केन्द्र स्थापना गर्नको लागि यहाँका सरोकारवाला पक्षहरुसँग छलफल गरिसकिएको उनले बताए । एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापनाको लागि सरकारले चालु आर्थिक वर्षका लागि आठ लाख रुपैयाँ बजेट छुट्याएको छ । आपतकालीन सेवा उपलब्ध गराउनको लागि राज्यले ७५ वटै जिल्लामा चार वर्षअघि लैंङ्गिक हिंसा कोष स्थापना गरेको थियो ।
‘सरकारको चाहना लैंङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरी हिंसा प्रभावितहरुलाई उपचार लगायत अन्य आवश्यक सेवाहरु एकीकृत रुपमा उपलब्ध गराउने हो’ प्रसाईले भने, ‘उपचार, चिकित्साजन्य प्रमाण संकलन एवं संरक्षण, मानसिक एवं मनोसामाजिक परामर्श, सुरक्षा, आश्रय, कानुनी उपचार बहुपक्षीय संयोजन प्रकृयाद्वारा पीडितलाई सेवा पु¥याइन्छ ।’ सेवा संचालन गर्नका लागि एक जना स्टाफ नर्स करारमा राख्न पाउने व्यवस्था रहेको छ ।
सरकारले सन् २०१० लाई लैंगिक हिंसा विरुद्धको वर्ष घोषणा गरी हिंसापीडित महिलाहरुको उपचारका लागि प्रत्येक जिल्ला अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गर्ने घोषणा गरेको थियो । त्यसको दुई वर्षपछि सन् २०१२ मा २१ जिल्लामा केन्द्र स्थापना गरियो । शाखा बिस्तारस्वरुप चितवनमा स्वास्थ्य मन्त्रालयले गृहकार्य थालेको हो ।
चितवनसहित यस वर्ष आठ स्थानमा अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना हुँदैछ । धुलीखेल, काभ्रेपलाञ्चोक, सुनसरी, पाँचथर, सोलुखुम्बु, सर्लाही, तनहुँ, नवलपरासी, बर्दिया, प्यूठान, डोटी, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र रौतहटका जिल्ला अस्पतालमा यो सेवा सञ्चालन भएको छ ।
यसैगरी धौलागिरी अञ्चल अस्पताल बाग्लुङ्, महाकाली अञ्चल अस्पताल कञ्चनपुर, सगरमाथा अञ्चल अस्पताल सप्तरी, नारायणी उपक्षेत्रीय अस्पताल हेटौँडा र दाङमा समेत यो सेवा पु¥याइएको छ । लैङ्गिक हिंसा सम्बन्धी एक अध्ययनका अनुसार, तीस प्रतिशत महिला अझै विभिन्न हिंसामा परेका छन् ।
एकद्वार केन्द्र स्थापना भैसकेपछि हिंसामा परेका महिलाको मनोबल बढ्दै गएको उनले बताए । हिंसा प्रभावितको स्वास्थ्य सम्बन्धी विवरण संकलन, परीक्षण उपचार अभिलेखीकरण, शारीरिक चोटपटकको उपचार गर्ने, कानुनी प्रमाणका लागि आवश्यक पर्ने नमूनाको संकलन, परीक्षण एवं संरक्षण, गर्भ परीक्षण तथा आकस्मिक गर्भ निरोधक सेवा र यौनजन्य संक्रमणको उपचार तत्काल अस्पतालले गर्नु पर्नेछ ।
‘अस्पतालमा प्रहरी, विभिन्न संघसंस्था तथा हिंसापीडितहरु स्वयं आउन पनि सक्नुहुन्छ । उहाँहरुको अस्पतालले तीब्र गतिमा सहज रुपमा उपचार गर्नुपर्छ’ उनले भने, ‘त्यहाँ उपचारका लागि सम्भव भएन भने केन्द्रले अन्य स्थानमा लगेर भए पनि निःशुल्क उपचार गराउनुपर्छ ।’ 
अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापनाका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा १० सदस्यीय समिति बन्नेछ । स्थानीय विकास अधिकारी, जिल्ला प्रहरी प्रमुख, जिल्ला न्यायाधिवक्ता, जिल्ला शिक्षा अधिकारी, जिल्ला सेवा केन्द्र रहेको नगरपालिकाको कार्यकारी अधिकृत, संकट व्यवस्थापन केन्द्रका मेडिकल अधिकृत, नेपाल बार एसोसिएसन जिल्ला एकाईका अध्यक्ष, महिला तथा बालबालिका अधिकृत र सम्बन्धित अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सदस्य रहेन छन् ।
उपचार सेवा लिएर फर्केपछि हिंसा नदोहोरियोस् भन्नका लागि नियमित सम्पर्क गर्नुपर्ने देखिन्छ । कानुनी प्रमाणका लागि आवश्यक पर्ने चिकित्साजन्य नमूनाको संकलन परीक्षण एवं संरक्षणका लागि अस्पतालले धेरै संवेदनशील भएर काम गर्नुपर्ने स्वास्थ्य मन्त्रालयकी अधिकृत रेखा राणा बताउँछिन् । ‘कतिपय स्थानमा अस्पतालका कारण हिंसाका प्रमाणहरु हराउने गर्दछन्’ उनले भनिन्, ‘पीडितलाई तीब्र गतिमा न्याय दिनको लागि अस्पताल पनि जिम्मेवार बन्नु प¥यो ।’
घरेलु हिंसा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको घरेलु हिंसा र कसुर ऐन २०६६ अनुसार, घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना भन्ने बुझिन्छ । यो शब्दले गाली गर्ने तथा भावनात्मक चोट पु¥याउने अन्य कुनै कार्यलाई समेत जनाउँछ ।
धम्की, जबर्जस्ती वा स्वेच्छाचारी तरिकाले महिलालाई स्वतन्त्र हुनबाट वञ्चित गराउने कुनै पनि कार्यलाई कानूनले महिला हिंसाको परिधिमा राखेकोे छ । आफ्नै घरका पुरुष वा घरेलु सम्बन्ध भएका अन्य सदस्यद्वारा महिलामाथि हुने हिंसालाई घरेलु हिंसा भनिएको छ ।
भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. युवानिधि बस्यौलाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकान्त झा, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठ, सहभागीका कार्यकारी निर्देशक शालिग्राम शर्मा पौडेल, आदर्श नारी गृहकी अध्यक्ष मिना खरेलले सुझाव दिएका थिए ।

चितवन मेटलको अध्यक्षमा कार्की

चितवन, २९ चैत । चितवन उद्योग संघ अन्तर्गतको चितवन मेटल इन्जिनियरीङ उद्योग समितिको अध्यक्षमा ताराबहादुर कार्की (प्रेम) चयन भएका छन् ।
भरतपुरमा सोमबार सम्पन्न भएको दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशनले कार्कीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा विष्णुप्रसाद कँडेल, कृष्णप्रसाद भण्डारी र शान्ता पोखरेल न्यौपाने, सचिवमा राजु पडासैनी, सहसचिवमा दयाराम सुवेदी र कोषाध्यक्षमा मोहनलाल श्रेष्ठ चयन भएका छन् ।
अधिवेशनको बन्द सत्रमा सचिव राजु पुडासैनीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष मोहनलाल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेशनको समुद्घाटन नेपाल उद्योग परिसंघ (सिएनआई) का उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले गरेका थिए । उनले उद्योगीहरु संगठित हुँदै अघि बढ्नुपर्ने बताए ।
अध्यक्ष कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा चितवन उद्योग संघका महासचिव सूर्यप्रसाद न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कालिका नगरपालिकामा भावी मेयरको चर्चा

शिशिर सिंखडा
खोलेसिमल, २९ चैत । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा पूर्वी चितवनको कालिका नगरपालिकामा चुनावी चहलपहल बढ्दै गएको छ ।
स्थानीय निर्वाचनको मिति बैशाख ३१ गतेलाई मध्यनजर गर्दै ठूला तीन दलहरु वडा भेला, बैठक, कमिटी गठन र छलफलमा जुटेका छन् । साविक जुटपानी, पदमपुर, शक्तिखोर र सिद्धि गा.वि.स. समेटी ११ वडा भएको यस नगरपालिकामा मेयर, उपमेयर र वडा अध्यक्ष तथा सदस्य बन्न नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का स्थानीय नेताहरु दौडधुपमा छन् ।
उनीहरु आफ्ना नेता तथा कार्यकर्तासंग भेटघाट र सम्बन्ध सुधार गर्न लागिपरेका छन् । माओवादी केन्द्रका नेताहरु भने आन्तरिक चुनावी रणनीतिमा लागे पनि बाहिरी वातावरणमा देखिएका छैनन् । हरेक चोक र चिया पसलमा कुन पार्टीका को मेयर, को उपमेयर बन्ने भन्ने चर्चा चल्ने गरेको छ ।
नगरमा मेयर, उपमेयर बन्ने आकांक्षीहरुको नाम नेपाली कांग्रेस नगर समितिले संकलन गरिसकेको छ । कांग्रेसका १२ जनाले मेयर पदको लागि इच्छा व्यक्त गरेको नेपाली कांग्रेस कालिका नगर सभापति राजु श्रेष्ठले जानकारी दिए ।
मेयरमा इच्छा व्यक्त गर्नेहरुमा कमल आचार्य, शिवराम के.सी., राजु श्रेष्ठ, लिलाबहादुर गुरुङ, सरोज गुरुङ, कृष्णकुमार श्रेष्ठ, काशीराम गिरी, इन्द्रप्रसाद अधिकारी, मिलन पाण्डे, शिव शर्मा पौडेल, महाश्रम शर्मा र अशोकराज वाग्ले रहेको श्रेष्ठले बताए ।
मेयरका आकांक्षीमध्येबाट सर्वसम्मतको प्रयास थालिएको र २९ गते मंगलबारसम्म सहमतिको आधारमा तीन जनाको नाम क्षेत्रीय समितिमा पठाउने प्रयास भइरहेको श्रेष्ठले बताए । १२ जना नै पार्टीका सक्षम कार्यकर्ता भएकाले पार्टीले अवसर दिए सबैले मेयर भएर काम गर्ने क्षमता राख्ने नगर सभापति श्रेष्ठले बताए ।
मेयरमा इच्छा व्यक्त गरेकामध्ये कमल आचार्यले आफू पार्टीको पुरानो कार्यकर्ता रहेकोले उम्मेदवारी पाउनुपर्ने दाबी गर्दै आएका छन् । पोल्ट्री व्यवसायी शिवराम के.सी.ले पनि मेयरको लागि आफू बलियो उम्मेदवार रहेको बताउँदै आएका छन् । उपमेयरमा भने कमला पौडेल, निरुजा श्रेष्ठ र खिलिमा चौधरीले इच्छा व्यक्त गरेका छन् ।
कालिका नगरपालिकाको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट मेयरमा ५ जनाको नाम चर्चामा रहेको छ । साविक शक्तिखोर गा.वि.स.का पूर्वअध्यक्ष गोपी श्रेष्ठ, साविक पदमपुर गा.वि.स.का पूर्वअध्यक्ष जयचन्द्रप्रसाद चौधरी, नेकपा एमालेका नगर प्रतिनिधि विनोद रेग्मी, नगर सचिवालय सदस्य केशव लामा र साविक पदमपुर गा.वि.स.का पूर्वउपाध्यक्ष टिकाराज रिजाल पनि मेयर पदका आकांक्षी देखिएका छन् ।
युवामाझ लोकप्रिय रेग्मी, पुराना नेताहरु श्रेष्ठ, चौधरी, लामा र रिजालमध्ये कसले उम्मेदवारी पाउने भन्नेबारे एमाले कार्यकर्तामाझ बहस चलेको छ । बैशाख २ गतेसम्म नगर कमिटीले उम्मेदवारको नाम छनौट गरी पठाउनुपर्ने भएकोले छलफलबाट सर्वसम्मतिको आधारमा नाम पठाउन पहल भइरहेको नेकपा एमाले कालिका नगर कमिटीका संयोजक भिष्मप्रसाद खनालले जानकारी दिए । उपमेयरमा विमला लामा, कमला भट्टराई, कविता लामिछाने र आशा वाईबाको नाम चर्चामा आएको छ ।
नेकपा माओवादी केन्द्रका तर्फबाट मेयर पदमा रामध्वज डल्लाकोटीको नाम चर्चामा रहेको छ । चर्चाकै क्रममा सुदर्शन अधिकारी र रामचन्द्र पौडेल पनि देखिएका छन् । डल्लाकोटीले इच्छा व्यक्त गरेमा अन्य उम्मेदवारले सर्वसम्मति व्यक्त गर्न सक्ने बताइएको छ । उपमेयरमा मञ्जु सिंखडा, दुर्गा रायमाझी, प्रमिता रिजाल, सरिता लामा र कविता न्यौपानेको चर्चा रहेको छ ।
स्थानीय तहको निर्वाचनको सन्दर्भमा माओवादी केन्द्र अहिले वडा भेला र कमिटी गठनमा व्यस्त रहेको माओवादी केन्द्रका कालिका नगर प्रतिनिधि रामध्वज डल्लाकोटीले बताए । बैशाख २ र ३ गते वडावडामा छलफल गरी उम्मेदवारको लागि नाम संकलन गरेपछि मात्र छनोट प्रक्रिया अगाडि बढ्ने भएकोले अहिले यसै भन्न नसकिने उनले बताए । पार्टीको निर्देशन अनुसार सबै नेता, कार्यकर्ता अगाडि बढ्ने भएकोले सर्वसम्मतिबाटै उम्मेदवार छनोट गरिने उनले बताए ।
नगरभित्रका राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल लगायतका साना दलको भने निर्वाचित लक्षित कार्यक्रम र चर्चा परिचर्चा भएको पाइएको छैन ।

एमाले आठ नम्बर वडा अध्यक्ष उम्मेदवारमा देवकोटा
नारायणगढ, २८ चैत । स्थानीय तहको चुनावका लागि चितवनमा नेकपा एमालेले वडा तहबाट उम्मेदवार छनौट सुरु गरेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर आठको वडा कमिटी बैठकले सर्वसम्मत वडा अध्यक्ष र एक दलित महिला सदस्य उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ । अध्यक्षमा केशव देवकोटा र दलित महिला सदस्यमा पार्वती सुनुवारलाई सिफारिस गरिएको हो ।
यस्तै, कालिका नगरपालिकाको वडा नम्बर पाँचमा वडा अध्यक्ष उम्मेदवारमा रूदल महतोलाई सिफरिस गरिएको छ । अन्य पदाधिकारीका विषयमा भने सहमति नभएको एमाले कालिका नगर कमिटिले जानकारी दिएको छ । 
यसैगरी, रत्ननगर नगरपालिका पाँच नम्बर वडा अध्यक्ष उम्मेदवारका लागि कृष्ण चौधरीको नाम सर्वसम्मत सिफारिस गरिएको छ । रत्ननगर वडा नम्बर १४, पिठुवामा हरि श्रेष्ठको नाम वडा अध्यक्ष उम्मेदवारका लागि सिफारिस गरिएको पार्टी स्रोतले जानकारी दिएको छ ।
एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले वडा तहबाट कतिपय वडामा सर्वसम्मत नाम सिफारिस हुने र कतिपय वडामा आकांक्षी सबैको नाम जिल्ला कमिटीमा सिफारिस हुने बताए । चैत ३० गतेभित्र वडा कमिटीको बैठकले वडा अध्यक्ष र सदस्यको नाम सिफारिस गरिसक्न एमाले जिल्ला कमिटीले निर्देशन दिएको छ ।
वडाबाट सिफारिस भएर आएको नाममा जिल्ला कमिटीले बैशाख पहिलो सातापछि अन्तिम निर्णय गर्ने भएको छ । चितवनमा औपचारिक निर्णय गरी वडा अध्यक्ष र सदस्यको उम्मेदवार छनौट सुरु गर्ने नेकपा एमाले पहिलो शक्ति भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राप्रपा लगायतका राजनीतिक दलहरु उम्मेद्वार छनौटका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् । चितवनमा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका छन् । 

शुभकामना आदानप्रदान

नारायणगढ, २९ चैत । नेकपा एमालेनिकट नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठन चितवनले नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।
नेकपा एमाले पार्टी कार्यालय भरतपुरमा जिल्ला अध्यक्ष ददिराम देवकोटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठनका केन्द्रीय सदस्य ध्रुव लम्साल, जिल्लाका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर श्रेष्ठ, जिल्ला सदस्य देवी तामाङ लगयातले भूपू सैनिकका समस्याबारे बोलेका थिए ।

महिला सहभागिताको प्रश्न

पुरुषहरुको तुलनामा नेपाली राजनीतिमा महिलाको सहभागिता निक्कै कममात्र रहेको छ । राज्यका हरेक निकायमा महिलाको कम्तीमा ३३ प्रतिशत सहभागिता सुनिश्चित गराउने नेपालको संविधानमा उल्लेख छ । तर, देशको नीति निर्माणमा प्रमुख भूमिका रहने राजनीतिक दलमा नै महिला सहभागिता ३३ प्रतिशत पनि सुनिश्चित भएको छैन । अहिलेको व्यवस्थापिका संसदमा पनि ३३ प्रतिशत महिला सहभागिता हुन सकेको छैन । अहिले देशका ठूला भनिएका राजनीतिक दलका केन्द्रीय समितिहरुमा पनि महिलाको सहभागिता निकै कम रहेको छ । मुलुकका मुख्य तीन दलमध्ये नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र कुनै पनि दलको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिता छैन ।
राजनीतिमामात्र नभई महिलाहरु सामाजिक तथा सांस्कृतिक हिसावले पनि पछाडि परेका छन् । २०६८ सालको जनगणना अनुसार नेपालमा महिला साक्षर प्रतिशत ५७ र पुरुषको ७५ रहेको छ । शिक्षाको कमीका कारण पनि महिलाहरुले पुरुषको तुलनामा अवसर पाउन सकेका छैनन् । महिलाहरुलाई शिक्षित बनाएमात्र उनीहरुले पनि प्रतिष्पर्धामा आफूलाई अब्बल सावित गर्न सक्दछन् । शिक्षित महिलाले नै अन्धविश्वास, रुढीवादी बिचार र गलत संस्कृतिको बिरुद्ध लड्न सक्दछन् । यसैगरी महिलाको हातमा आम्दानीको श्रोत पनि छैन । उनीहरुको रोजगारी र आम्दानीको स्रोतसम्म पहुँच पु¥याउन उत्तिकै जरुरी हुन्छ । आम्दानीको स्रोतमा पहुँच नभएकै कारण अधिकांश महिलाले पुरुषहरुको अगाडि हात थाप्नु पर्ने हुन्छ जसले महिलाहरुलाई अगाडि बढ्न बाधा उत्पन्न गरिरहेको छ । सदियौंदेखि पछाडि पारिएका महिलाहरु एकैपटकमा पुरुषहरुसँग प्रतिष्पर्धा गरेर नेतृत्वमा पुग्न सक्ने अवस्था रहँदैन । महिलालाई अवसर नदिईकन उनीहरुले गर्न सक्दैनन् भन्ने निष्कर्ष निकाल्ने परिपाटी पनि गलत छ । महिलाहरुलाई निर्णायक तहमा पु¥याएर, शिक्षा, रोजगार र आर्थिक अवशर उपलब्ध गराएर उनीहरुको क्षमता अभिबृद्धि गरिनु पर्दछ ।
सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गराउने घोषणा गरेको छ । निर्वाचन नियमावली अनुसार कुनै पनि राजनीतिक पार्टीले गाउँ, नगर, उपमहानगर र महानगरपालिकाको प्रमुख वा उपप्रमुख मध्ये एकजना अनिवार्य महिला उम्मेदवार बनाउनुपर्ने छ । यसैगरी हरेक वडामा निर्वाचन हुने पाँच पदमध्ये दुई जना महिलालाई उम्मेदवार बनाउनुपर्ने बाध्यता छ । यसले आगामी स्थानीय तहमा महिला सहभागिता बढ्ने निश्चित छ । राजनीतिमा महिलाको सहभागिता बृद्धि हुनु भनेको नीति निर्माणको तहमा उनीहरुको पहँुच स्थापित हुनु हो । आरक्षण दिएरै भएपनि धेरै महिलालाई नेतृत्वमा पु¥याउँदा उनीहरुको नेतृत्व क्षमता बढ्छ । त्यसका लागि धेरै भन्दा धेरै महिलाहरुलाई राजनीतिक निर्णयक तहमा पु¥याउनु आवश्यक हुन्छ ।

बछौलीमा एमालेको वडा कार्यालय

नारायणगढ, २९ चैत । स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी एमालेले बछौलीमा सोमबार वडा कार्यालय स्थापना गरेको छ ।
नेकपा एमाले रत्ननगर वडा नं. ६, वडा कार्यालयको पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला इज्चार्ज कृष्ण खनालले उद्घाटन गरेका थिए । उनले सबैको सहमतिमा वडा अध्यक्षसहितको पदलाई टुङ्गो लगाएर चुनाव प्रचारमा जुट्न कार्यकर्तालाई आग्रह गरे । गाउँदेखि केन्द्रसम्म एमालेको अवस्था राम्रो रहेको भन्दै उनले जनताको घरघरमा पुगेर एमालेले गरेका सकारात्मक कामबारे जानकारी गराउन आग्रह गरे ।
वडा अध्यक्ष विष्णु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सचिवालय सदस्य नारायण वन, प्रदेश सदस्य तथा नगर कमिटीका निवर्तमान अध्यक्ष प्रेमनाथ दुवाडी, नगर अध्यक्ष बद्रिनाथ घिमिरे, जिल्ला सदस्यहरु राजाराम रेग्मी, चण्डिका ढकाल, विशेष नगर कमिटी बछौलीका अध्यक्ष लोकराज भुषाल, क्षेत्रीय सदस्य अर्जुन ढकाल लगायतले मन्तव्य राखेका थिए ।

नयाँ वर्षमा इन्द्रणी साँझ

चितवन, २९ चैत । नारायणगढको नारायणी कला मन्दिरमा बैशाख एक गते गरिमा इन्द्रेणी साँझ २०७४ आयोजना हुने भएको छ ।
कला मन्दिरले सोमबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी इन्द्रेणी साँझबारे जानकारी गराएको हो । पाँच सय दर्शक आउने अपेक्षा गरिएको कार्यक्रममा स्थानीय ४० देखि ४५ जना कलाकारले आफ्नो कला प्रस्तुत गर्ने नारायणी कला मन्दिरका अध्यक्ष उमेश अधिकारीले जानकारी दिए ।
इन्द्रेणी साँझको प्रवेश शुल्क प्रतिव्यक्ति एक हजार रुपैयाँ तोकिएको छ । प्रवेश पास लिनेहरुलाई बेलुकाको खाना र खाजा निःशुल्क उपलब्ध गराइनेछ । मौलिक गीत तथा स्थानीय कलाकारलाई प्रोत्साहन गर्नका लागि नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष ईन्द्रेणी साँझ आयोजना हुँदै आएको कला मन्दिरका उपाध्यक्ष अमर प्रधानले जानकारी दिए ।
इन्द्रेणी साँझमा अनुराधा क्षेत्री, एकराज रोकाया, सबिना गौतम, बिना सेञ्चुरी, मधु लामा लगायतले गीत प्रस्तुत गर्नेछन् । गरिमा विकास बैंक लिमिटेड मुख्य प्रयोजक रहेको कार्यक्रमा सानमिगेल, ओल्ड दरबार, चौतारी यातायात व्यवसायी समिति, ग्रिस्भ पावर, बुडलेस ट्रेडिङ, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, त्रिदेव घर जग्गा कारोबार प्रायोजक रहेका छन् ।

मगर गुठीको सम्मान

कालिका, २९ चैत । कालिका नगरपालिका वडा नं. ७ मा रहेको काटजुट मगर गुठी समाजको आयोजनामा सोमबार विभिन्न क्षेत्रमा योगदान पु¥याउने ब्यक्तिलाई सम्मान गरिएकोे छ ।
गुठीले मगर समुदायभित्र रहेका ७० बर्षमाथिका दिलबहादुर सिंजाली मगर र सुमित्रा दर्लामी मगर, विद्यार्थी दिपक सिंजाली मगर, संस्थाका सदस्यहरु बमबहादुर सारु मगर, प्रेमबहादुर राना मगर, टेकबहादुृर राना मगर, जितबहादुर सिंजाली मगर र सुनिमाया सुँयाल मगरलाई दोसल्लासँगै मायाको चिनो प्रदान गरी सम्मानपत्रले सम्मान गरेको थियो ।
संस्थाका अध्यक्ष बलबहादुर सिंजाली मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संस्थापक बमबहादुर सारु मगर रहेका थिए । सम्मान कार्यक्रममा संस्थाका सदस्य कुमार आले मगर, पूर्वअध्यक्ष चित्रबहादुर सिंजाली मगर लगायतले बोलेका थिए ।