Mon12112017

Last update01:57:25 AM

Back You are here: Home समाचार फोहरको व्यवस्थापन नयाँ ढंगबाट

समाचार

फोहरको व्यवस्थापन नयाँ ढंगबाट

शालिग्राम नेपाल नारायणगढ, १७ असार । नगर क्षेत्रमा निस्कने फोहरलाई छिटो उठाएर व्यवस्थापन गर्नको लागि भरतपुर उपमहानगरपालिकाले नयाँ ढंगबाट काम गर्ने तयारी गरेको छ । फोहर निस्कने तर उठाउन समस्या भइरहने भएपछि उपमहानगरपालिकाले कम जनशक्ति लाग्ने प्रविधिसहितको व्यवस्था गर्न थालेको हो । यस अगाडि ठेकेदारमार्फत उठाउँदै आएको फोहर व्यवस्थापनमा उपमहानगरपालिका र दुई वटा ठेकेदारले काम गर्ने भएपछि काम चुस्त हुने भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले जानकारी दिए । ‘यस अगाडि ट्याक्टरले उठाउँदै आएको फोहर अब कम्प्याक्टरले उठाउनेछ’ कार्यकारी अधिकृत बरालले भने, ‘यो साधनले एकै पटकमा धेरै फोहर उठाउने भएकाले काम छरितो हुनेछ ।’ पोखरा र काठमाडौँमा प्रयोग हँुदै आएको कम्प्याक्टर अब भरतपुर उपमहानगरपालिकाले ल्याउँदैछ । चार वटा ट्याक्टरले उठाउने फोहर एउटै कम्प्याक्टरले उठाउने भएकाले जनशक्ति कम लाग्ने र फोहर चुहिँदै सडकमा खस्ने समस्या हटेर जाने बरालले बताए । घरघरबाट निस्कने, होटल र रेष्टुरेन्टबाट निस्कने फोहरलाई कम्प्याक्टरको माध्यमबाट छिटो उठाएर चोक, चौतारोमा फोहर देख्न नपर्ने अवस्था सिर्जना गर्न लागेको कार्यालयले जानकारी दिएको छ । अहिलेसम्म एउटा ठेकेदराले मात्रै फोहर उठाउने ठेक्का पाएकोमा काम प्रभावकारी नदेखिएपछि कामको प्रकृति परिवर्तन गर्ने तयारी भएको छ । साउनदेखि लागु हुनेगरी नयाँ ढंगबाट फोहरमैला व्यवस्थापन गर्न लागिएको छ । तीन वटा खण्डमा फोहरमैला उठाउने व्यवस्था गरिएको छ । उपमहानगरपालिकाको वडा नं. १ देखि ६ सम्म एउटा ठेकेदार, वडा नं. ७ देखि १२ सम्म अर्को ठेकेदार र वडा नंं १३ देखि २९ सम्म कार्यालयले फोहर उठाउने जिम्मा लिनेछ । दुई वटा ठेकेदार र कार्यालय भएपछि काममा प्रतिस्पर्धा हुने र त्यसको परिणाम राम्रो हुने भएकाले नयाँ व्यवस्था गर्न लागेको कार्यकारी अधिकृत बरालले बताए । भरतपुर उपमहानगरपालिकाभित्र अहिले दैनिक ५० टन फोहर निस्कने गरेको छ । योभन्दा थप फोहर निस्कने भएपनि कार्यालयले लिएको तथ्यांकमा ५० टनमात्र देखिएको भरतपुर उपमहानगरपालिकाका वातावरण शाखाका इन्जिनियर विराट घिमिरेले बताए । ‘अस्पतालजन्य फोहर, घरबाट निस्कने फोहर, कुहिने फोहर र नकुहिने फोहर निस्कने गरेको छ’ घिमिरेले भने, ‘अस्पतालजन्य फोहरलाई छुट्टै व्यवस्थापन गर्नको लागि दीर्घकालीन व्यवस्था गर्ने तयारी भएको छ । अहिले नगर क्षेत्रबाट निस्कने फोहरलाई व्यवस्थापन गरेपछि अस्पतालजन्य फोहरका विषयमा हेर्नेछौँ ।’ नगर क्षेत्रबाट निस्कने फोहरको व्यवस्थापन खर्चमा कार्यालयको ठूलो धनराशी खर्च भएकाले त्यसतर्फ ध्यान गएको कार्यकारी अधिकृत बरालले बताए । उनका अनुसार, वार्षिक रुपमा फोहर उठाएर फाल्नको लागि मात्रै दुई करोड २० लाख खर्च भइरहेको छ । सरसफाई शुल्क भनेर नगरवासीबाट उठाएको रकम वार्षिक ७० लाख रुपैयाँमात्र भएकोले अबको चार वर्षभित्र शुल्कबाटै व्यवस्थापन खर्च पु¥याउने लक्ष्य रहेको उनले बताए । विकास बजेटबाट फोहरमैला व्यवस्थापन गर्नुपर्ने भएकाले सरसफाई शुल्क कडाइका साथ उठाउने भएपछि व्यवस्थापन गर्नको लागि सहज हुने कार्यालयले अनुमान गरेको छ । मेडिकल सिटीको रुपमा विकास हँुदै गएको भरतपुर क्षेत्रमा त्यहाँबाट निस्कने फोहरलाई निजी साझेदारीमार्फत व्यवस्थापन गर्ने तयारी भएको कार्यकारी अधिकृत बरालले बताए । ‘अस्पतालजन्य फोहर अस्पतालले नै व्यवस्थापन गर्नुपर्ने हो तर यहाँ त्यो प्रयास भएको छैन’ उनले भने, ‘अब निजी साझेदारीको प्रयासमा व्यवस्थापन गर्नेछौँ ।’ अस्पतालबाट निस्कने फोहरलाई छुट्टै स्थानमा व्यवस्थापन गर्ने गरी अध्ययन कार्य सुरु गरिएको कार्यालयले जनाएको छ । नगरबाट निस्कने फोहरलाई उच्च प्रविधिको प्रयोग गरेर जलदेवी वन क्षेत्रमा डम्पिङ साइछ बनाउन लागिएको कार्यालयले जनाएको छ । उपमहानगरपालिका कार्यालयका अनुसार, वैदेशिक सहयोगमा प्रविधि ल्याएर व्यवस्थापनको अध्ययन थालिएको छ । हरेक दिन फोहरको मात्रा वृद्धि भइरहेकाले कुहिने फोहरलाई घरमा नै व्यवस्थापन गर्नको लागि नगरवासीलाई अनुरोध गरिएको वातावरण शाखा प्रमुख घिमिरेले बताए । घरमा फोहर व्यवस्थापन गर्नको लागि अहिलेसम्म दुई हजार रिङ वितरण भइसकेको छ । यस कार्यलाई अझ वृद्धि गर्ने र सचेतनाको कार्यक्रम बढाउने तयारी भएको उनले बताए । प्लाष्टिकको प्रयोग कम गर्न, तरकारी, भात, कागज, खाद्य सामग्रीलगायतका फोहरलाई घरमा नै व्यवस्थापन गरेर करेसाबारीमा मलका रुपमा प्रयोग गर्न समेत सकिने कार्यालयले जनाएको छ । नगर क्षेत्रबाट निस्कने फोहर बिदा र चाडपर्वमा नउठ्ने समस्या अब हटेर जाने कार्यालयले जनाएको छ । अबको तीन महिनाभित्र भरतपुर नगर क्षेत्रमा फोहरको थुप्रो देख्न नपर्ने योजना उपमहानगरपालिकाको छ ।