समाचार
नारायणगढ, ३२ जेठ । १५ औँ अन्तर्राष्ट्रिय बालश्रमविरुद्ध दिवसको अवसरमा युथ क्लब नारायणगढले शहीदचोकमा बालश्रमको अन्त्यका लागि प्रतिवद्धता स्वरुप हस्ताक्षर अभियान कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबका कार्यवाहक अध्यक्ष रामचन्द्र आचार्यको अध्यक्षता र भरतपुर उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख तुलसीप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा हस्ताक्षर अभियान सुरु गरिएको हो । प्रमुख अतिथि श्रेष्ठले हस्ताक्षर गरेपछि कार्यक्रम सुरु भएको थियो ।
हस्ताक्षर कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष भुवन आचार्य, हेरम्बकुमार असीम, विष्णुप्रसाद सापकोटा, नगर बालमैत्री समिति सदस्य सरस्वती पौडेल, क्लबका कार्यकारी निर्देशक दयाराम कँडेल, महासचिव राजनकुमार श्रेष्ठ, कोषाध्यक्ष अनिता नेपाली निवर्तमान अध्यक्ष सुरेशकुमार श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ, सर्वसाधारण, सडक प्रयोगकर्ता लगायतले प्रतिवद्धता जनाउँदै हस्ताक्षर गरेका थिए ।
“आपुर्ति चक्रमा बालश्रमको अन्त्य, सबैको सरोकार” मूल नारासाथ संकलित हस्ताक्षरलाई उपमहानगरपालिकामार्फत जिल्ला प्रसाशन कार्यालयमा बुझाउने कार्यक्रम रहेकोे छ । २०७६ सालसम्ममा भरतपुर उपमहानगरपालिकालाई बालमैत्री नगर निर्माण गर्न विगत तीन वर्षदेखि युनिसेफ नेपालको सहयोगमा भरतपुर उपमहानगरपालिका, युथ क्लब नारायणगढ र दियालो परिवारले बालश्रम तथा बाल संरक्षण कार्यक्रम संचालन गर्दै आइरहेको छ ।
यसैगरी, बालश्रम विरुद्धको दिवसको अवसरमा दियालो परिवार नारायणगढले पनि सचेतनामुलक कार्यक्रम गरेको छ । भरतपुर उपमहानगरपालिकामा मात्रै अहिले दुई हजारभन्दा धेरै बालश्रमिक भएको कार्यालयले जनाएको छ । श्रम न्यूनीकरणको कार्यक्रम लागु भएपनि श्रममा लगाउनेलाई कानुनी दायरामा नल्याएसम्म यसको प्रभावकारिता नदेखिने बालबालिकाको क्षेत्रमा काम गर्नेहरुले बताउँदै आएका छन् ।