समाचार

जनजातिलाई उद्घोषण तालिम

रत्ननगर, ३२ जेठ । पूर्वी चितवनको कालिका नगरपालिका ७, सुर्यपुरमा आयोजना गरिएको सातदिने नेतृत्व विकास तथा उद्घोषण तालिम सकिएको छ । नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद् साविक जुटपानीले आयोजना गरेको तालिममा २५ जनाको सहभागिता थियो । कालिका नगरपालिकाको सहयोगमा सञ्चालित तालिममा पत्रकारहरु शिशिर सिंखडा, राधेश्याम खतिवडा, सन्तकुमार चौधरी र रामु आचार्यले सहजीकरण गरेका थिए । समापन कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका कार्यकारी अधिकृत गोविन्द सिग्देलले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । तालिम समापन कार्यक्रमको अवसरमा नगरपालिकाका २२ जना बृद्धा एवम् अपाङ्गलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका राजु श्रेष्ठ, नेकपा एमालेका केशव लामा, नेकपा माओवादी केन्द्रका धन लामा, आदिवासी जनजाति महासंघका जिल्ला सदस्य साउने बोटे, उपाध्यक्ष ज्ञानु कुमाललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम महासंघ गाउँ समन्वय परिषदका अध्यक्ष होमबहादुर गुरुङको सभापतित्वमा भएको थियो ।