समाचार
विद्रोही गिरी
नवलपरासी, ३२ जेठ । स्थानीय प्रशासनको मिलेमतोमा नवलपरासीका खोलाहरुहरुमा हेभी उपकरण प्रयोग गरेर खोलाहरुमा अवैध उत्खनन् भएको छ । खोलामा एक्साभेटर प्रयोग गरी ढुङ्गा, गिट्टी बालुवा रातारात उठाउने काम भइरहेको स्थानीयले आरोप लगाएका छन् ।
जिल्ला विकास समितिले असार १ गतेबाट खोलाजन्य सामग्री उठाउन नदिने भएपछि प्राकृतिक स्रोतको दोहन गर्दै रातारात ढुङ्गा, गिट्टी बालुवा निकासी भएको हो । अवैध रुपमा एक्साभेटर मेसिन खोलामा प्रयोग गरी उत्खनन् भइरहेको प्रहरी प्रशासनमा जानकारी गराउँदा पनि सुनुवाई नभएपछि स्थानीयले खोलामा एक्साभेटर प्रयोगमा प्रशासनको समेत मिलेमतो भएको बताएका हुन् ।
जिल्लाका खजुरा, भूमही पानभार, तुरिया, रायपुरिया खोलाको जिविसले एक्साभेटर प्रयोग नगरी सामग्री उठाउन ठेक्का लगाएको थियो । तर यी खोलाहरुमा एक्साभेटरको प्रयोग गरी तोकिएको परिमाणभन्दा दोब्बर ढुङ्गा, गिट्टी, बालुवा निकासी गरिएको स्थानीय बिक्रम शर्माले बताए ।
जिल्ला विकास समितिले विनयी केरुङ्गे र अरुणखोला अमानतमा ढुङ्गा, गिट्टी, बालुवा उठाउन दिएपछि यी खोलाहरुमा समेत एक्साभेटर प्रयोग भएको छ । रातमा सुत्न नसक्ने गरी खोलाबाट टिपरहरु निस्कने गरेको स्थानीयवासीले बताएका छन् ।
खोलाबाट दिनहुँ टिपर लोड भई निकासी भएको देखेर स्थानीयले खोलामा एक्साभेटर गएको दाबी गर्दै त्यसबारे जिल्ला प्रहरी, वन र प्रशासनमासमेत जानकारी गराएका थिए । तर यसबारे स्थानीय प्रशासन समेत मौन रहेको दुम्कीबासका एक स्थानीयबासीले बताए । ‘प्रहरी र वन नमिलेसम्म खोलामा मेसिन जान सक्दैन’ नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘दैनिक तीन वटा एक्साभेटर र दुई वटा लोडरले खोलामा काम गर्छन्, त्यहाँ किन रोकिँदैन ?’
खोलामा ठुला मेसिन प्रयोग गरेर उत्खनन् गर्न नपाइने जिल्ला विकास समिति नवलपरासीले जनाएको छ । खोलालाई नियमन गर्नका लागि जिल्ला प्रहरी र सुरक्षा निकायलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । ‘भूमही खोलामा उत्खनन् रोक्न हामीले निर्देशन गरेका छौं’ प्रजिअ पन्थले भने, ‘अन्य खोलामा एलडीओ सरलाई थाहा होला ।’ ठेक्का लगाएका खोलमामा जिविसले मापदण्ड अनुसार काम भए, नभएको अनुगमन गर्ने काम गरिरहेको स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलले बताए ।
खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा र मिस्कट निकासी जेठ मसान्तसम्ममात्र ठेक्का लगाइएको छ । त्यो भएर पनि स्थानीय प्रहरी मिलाउने र जेठभित्र सामग्री थुपार्नमा सम्बन्धित ठेकेदार लागेका छन् । जेठको महिनामा यसरी थुपारेको सामग्री असारपछि ब्यवसायीले बिक्री गर्ने भएकाले पनि खोलामा मेसिन प्रयोग गर्ने होड चलेको हो ।