Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार किसानको आकर्षण बाख्रापालनमा

समाचार

किसानको आकर्षण बाख्रापालनमा

बसन्त ढुंगाना भरतपुर, ३२ जेठ । जगतपुरका योगेन्द्रबहादुर खड्का दैनिक बाख्रा स्याहार्न व्यस्त हुन्छन् । दुई वर्षदेखि व्यावसायिक बाख्रापालनमा लागेका खड्काको खोरमा अहिले दुई सय २५ वटा बाख्रा छन् । २०७० सालमा २५ वटा लोकल बाख्रा र १३ वटा वोयर जातका बाख्रा गरी ३८ वटा बाख्रा खरिद गरेर उनी बाख्रापालनमा लागेका हुन् । सुरुमा ५० लाख लगानी गरेका खड्काले जग्गाभाडा, उन्नत जातका बाख्रा खरिद गरेर हालसम्म दुई करोड लगानी गरेका छन् । यो वर्ष ४० देखि ५० लाख रुपैयाँ बराबरका बाख्रा बिक्री हुने उनको आँकलन छ । ‘तुरुन्त यसबाट फाईदा हुँदैन । पहिलो वर्ष ऋणको ब्याज तिर्नमात्र पुग्छ । सुरुमै फाइदा हेरेर हुँदैन । पछि राम्रो आम्दानी हुन्छ’ उनले भने, ‘यो वर्ष हामीले धेरै बाख्रा बिक्री गर्छौं । सयको हाराहामीमा हामीसँग बोयर जातका बाख्रा छन् । अरु लोकल र क्रस बाख्रा हुर्किसकेका छन् ।’ बोयर जातका बाख्रा नेपालमा कममात्र भएकाले जिल्ला बाहिरबाट बोयर जातका बाख्रा लिन आउने गरेको खड्का बताउँछन् । नुवाकोट, धादिङ्, दाङ, सल्यान, सुर्खेत, गुल्मी, इलाम, झापालगायतका जिल्लाका किसानहरु बाख्रा लिन र बुझ्न आउने गरेको उनले बताए । अहिले उनले तीन जनालाई रोजगारी दिएका छन् । ‘युवाहरु विदेशिएको अवस्थामा गाउँमा पनि केही व्यवसाय गर्नु पर्छ भनेर बाख्रापालनमा लागेको हुँ’ उनले भने, ‘सबै विदेशतिर गएर मात्र के गर्ने ?’ माडी नगरपालिका ६, राधापुरका गंगाप्रसाद न्यौपानेले २०३९ सालमा २६ हजार ऋण लिएर ५० वटा बाख्रा पाल्न सुरु गरे । बाख्रापालन सुरु गरेको छ महिनामै ७२ वटा बाख्रा उनको खोरमा भए । तर ती बाख्रा विभिन्न रोगले मरे । ब्राख्रापालनबाट निराश बनेका न्यौपानेले ऋण तिर्न भैंसीपालन सुरु गरे । भैंसीपालनबाट पनि फाइदा नभएपछि गुजारा चलाउन अधियामा एक वटा बाख्रा ल्याएर पाल्न सुरु गरे । ‘एक वर्षसम्म पालेर माउ फिर्ता गरेँ’ उनले भने, ‘पाठापाठी हुर्काउन थालें ।’ थोरै लगानीमा राम्रो आम्दानी लिन खोजेका उनको खोरमा अहिले ३३ वटा बाख्रा छन् । वार्षिक डेढ लाखसम्म आम्दानी हुने उनले बताए । देवनगरकी देवी कोइराला पनि यतिखेर बाख्रापालनमा व्यस्त छिन् । कुनै समय १ सय ७० वटा ब्राखा भएपनि बाख्रापालनका लागि आधारभुत ज्ञान नहुँदा २८ वटामा सिमित भए । तर पनि उनले बाख्रा पाल्न हिम्मत हारिनन् । ‘मैले बाख्रा पालेरै छोराछोरी पढाएँ, घर खर्च चलाएँ’ उनले भनिन्, ‘अहिले बाख्रा बढाउने सोचमा छु । पाठापाठी, व्याउने बाख्रा, बोका सबैको छुट्टाछुट्टै खोर बनाएकी छु ।’ चितवन जिल्लामा अहिले बाख्रापालन व्यवसायप्रति किसानहरुको आकर्षण बढ्दै गएको छ । अन्य व्यवसायभन्दा यसबाट राम्रो फाइदा पुग्ने भएपछि किसानहरु यस व्यवसायतर्फ आकर्षित भएका हुन् । बाख्राको माग बढिरहेकाले बजारको समस्या नभएको उनीहरुले भनाई छ । जुटपानीका देवेन्द्र धितालले १५ महिनाअघि बाख्रापालन सुरु गर्नुभन्दा अघि उनी शिक्षक थिए । अहिले जागिर छोडेर उनले ३० वटा बाख्राको हेरचाह गरिरहेका छन् । ‘व्यावसायिक रुपमा कृषि कर्म गर्ने हो भने स्वदेशमा नै आत्मनिर्भर बन्न सकिन्छ’ उनले भने, ‘सरकारले किसानलाई दिने अनुदान तल्लोस्तरसम्म पु¥याउनु पर्छ ।’ चितवनको आठ वटा पहाडी गाविस तथा माडी, जगतपुर, पदमपुरलगायतका नगर क्षेत्रमा व्यावसायिक रुपमा बाख्रापालन सुरु भएको छ । जिल्लामा अहिले बाख्रापालन व्यवसायलाई अगाडि बढाउनको लागि किसानहरु संगठित रुपमै लागेका छन् । जिल्ला व्यावसायिक बाख्रापालक संघ चितवनका अध्यक्ष मोहन ढकाल जिल्लामा बाख्रापालनतर्फ किसानहरुको आकर्षण गर्नको लागि प्राविधिक ज्ञान, अनुदान, बिमाजस्ता प्रकृयालाई सरकारले बढी जोड दिनुपर्ने बताउँछन् । उन्नत जातका बाख्रा पाल्न खोज्ने किसानहरुलाई सस्तो मूल्यमा उन्नत जातका बाख्रा स्थानीय खोरमा पु¥याउन सहयोग हुनुपर्ने उनको माग छ । बाख्रापालनका लागि कार्यालयले प्राविधिक ज्ञान, क्षमता अभिवृद्धि तालिम, घाँस उत्पादनका लागि बीउ, प्राविधिक सुविधा, समय–समयमा खोप र अन्य औषधि लगायतका सेवाहरु किसान माझ सहज रुपमा उपलब्ध गराउने हो भने बाख्रापालनतर्फ किसानहरुको आकर्षण गर्न सकिने उनले बताए । चितवनमा बाख्रापालनको अवस्था सन्तोषजनक रहेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डाक्टर रामकुमार कार्की बताउँछन् । कार्यालयमा अहिलेसम्म दुई सयभन्दा बढी बाख्रा फार्म दर्ता भइसकेको उनले बताए । वार्षिक २ लाख वटाभन्दा बढी बाख्रा उत्पादन हुने गरेको कार्कीले बताए । ‘बाख्रापालन व्यवसायलाई अगाडि बढाउनको लागि ५ वटा स्रोतकेन्द्र स्थापना गरेका छौँ’ उनले भने, ‘युवालक्षित कार्यक्रममार्फत बाख्रापालक किसानलाई २ लाखका दरले अनुदान दिइएको छ । साना बाख्रा फार्महरुलाई बाख्रा फार्म शुद्धिकरण गर्न २० हजारका दरले अनुदान दिएका छौँ’ उनले भने, ‘घाँसखेतीको लागि सहुलियत रुपमा आर्थिक सहयोग, पशु बिमा, हरेक वर्ष बाख्रामा लाग्ने रोगका लागि पिपिआर औषधि निःशुल्क वितरण लगायतका काम गरेका छौँ ।’