समाचार

डेढ सय वृद्धवृद्धा सम्मानित

रत्ननगर, १ असार । रत्ननगर नगरपालिका वडा नं. ४ का एक सय ४१ जना वृद्धवृद्धालाई मंगलबार सम्मान गरिएको छ । रत्ननगर नगरपालिकाको जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत एकता आमा समूहले कार्यक्रमको आयोजना गरी वृद्धवृद्धालाई सम्मान गरेको हो । रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरेले वृद्धवृद्धालाई दोसल्ला ओढाएर नगद र सम्मानपत्र दिएका थिए । कार्यक्रममा सम्मानित वृद्धवृद्धालाई ग्लुकोज, जुस र मिठाई वितरण गरिएको थियो । एकता आमा समूहकी अध्यक्ष लक्ष्मी सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ननगर नगरपालिकाका पहिलो नगर प्रमुख नारायण वन, वडा नागरिक मञ्चकी संयोजक ज्वाला वन, वडा सचिव शिव लामिछाने, नेपाली काँग्रेसका वडा सभापति ओमप्रसाद घिमिरे, एमालेका वडा अध्यक्ष कृष्णप्रसाद कँडेल लगायतले बोलेका थिए ।