समाचार

उपभोक्ताको अधिकार सुनिश्चित गर्दै प्रशासन कालोबजार नियन्त्रणका लागि कडाई गरिने

शालिग्राम नेपाल नारायणगढ, १ असार । कालोबजार नियन्त्रणका लागि स्थानीय प्रशासनले कडाइका साथ नियम पालना गराउने भएको छ । खाद्य वस्तुदेखि अखाद्य वस्तु, उपभोग्य सामग्री, शिक्षा, स्वास्थ्य जनताको सरोकार राख्ने विषयमा अनुगमन गरी नियमलाई पालना गराउन लागेको हो । दशैँ, तिहार तथा चाडपर्वमा मात्र सक्रिय देखिने जिल्ला प्रशासन कार्यालयको बजार अनुगमन शाखाले अहिले अन्य क्षेत्रका विषयमा समेत निगरानी राखेपछि जनतालाई राहत पाउने आशा पलाएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग काठमाण्डौले नारायणगढमा गरेको एक कार्यक्रममा स्थानीय प्रशासनले अब हरेक क्षेत्रमा निगरानी राखी कामजोरी गर्नेलाई दण्डित गर्ने चेतावनी दिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले नियम विपरीत मूल्य राख्ने, दर्ता नभई संस्था सञ्चालनमा ल्याउनेहरु विरुद्ध कारबाही गरिने बताए । ‘चितवनको बजार ज्यादै अव्यवस्थित भएको छ’ उनले भने, ‘ऐन, नियम लागु गर्नको लागि पहल गरेको अझ अव्यवस्थित भएजस्तो लागेको छ । नेपालको विद्यमान नियम, कानून, ऐनमा केही सुधार गर्नु पर्नेछ भने त्यसलाई के गर्न सकिन्छ, त्यो सुझावसहित सम्बन्धित निकायमा पठाउन म तयार छु ।’ कसैले विद्यमान कानूनलाई मानिँदैन भनी अटेर गरेको छ भने त्यसलाई प्रशासनले टुलुटुलु हेरेर नबस्ने र कारबाही गर्ने प्रजिअ सिंहले बताए । ‘बजारमा मूल्यसूची राखेको पाइँदैन, केहीले राखेका छन् तर त्यो झारा टार्ने काममात्र भएको छ’ उनले भने, ‘खाद्य सामग्रीका पसलमा राखेको मूल्य सूची अनुसार सामान बिक्री भएको पाइँदैन । सूचीमा एउटा, दिने अर्को मूल्य हुन्छ । यस्तो गर्नेलाई प्रशासनले छाड्दैन । त्यस्ता व्यवसायी ढिलो चाँडो कारबाहीमा पर्नेछन् ।’ ‘वर्षौदेखि अनुगमन नभएको र खुलेआम ठगी गर्ने फेन्सी पसलहरु हुन्’ प्रजिअ सिंहले भने, ‘कपडाको मूल्य कोडमा राख्ने यो कहाँको नियम हो ? वाइ एक्स जेड यसको मूल्य कति ? पसल सञ्चालकले मात्र बुझ्ने कोडमा मूल्य राख्ने यो नियम कहाँको हो ? यस्ता पसलेलाई कारबाही गरिन्छ । नेपालको कुनैपनि नियममा यस्तो कोड राख्न पाइने व्यवस्था छैन ।’ उपभोक्तालाई खुलेआम ठग्ने यो तरिका बन्द गरी उपभोक्ताले प्रष्टसँग थाहा पाउने गरी कपडाको मूल्य राख्नु पर्ने उनले बताए । ‘हरेक सामानको मूल्य कति हो भनेर उपभोक्ताले जान्न पाउने अधिकार छ’ उनले भने, ‘यसलाई प्रशासनले गम्भीर रुपमा लिएको छ ।’ कपडाका सबै पसलमा प्रष्ट बुझिने गरी मूल्यको ट्याग राख्न प्रजिअ सिंहले अनुरोध गरे । खाद्य तथा अखाद्य पसलमा मूल्य सूची नराखेकालाई नियम अनुसार कारबाही प्रकृया अगाडि बढाउने उनले चेतावनी दिए । चितवनका राजमार्गस्थित लाइन होटलहरुले पनि जथाभावी मूल्य लिएर खाना खुवाएको, फोहर स्थानमा खाना बनाएको, चर्को मूल्य लिएको भन्ने गुनासोहरु धेरै आएकाले त्यसतर्फ पनि प्रशासनले कडाईका साथ काम गर्ने उनले जानकारी दिए । कालोबजारी नियन्त्रणमा ल्याउनका लागि राजनीतिक दलहरुको सहयोग पाएपनि सार्वजनिक स्थानमा बोल्दा एउटा र व्यवहारमा अर्कोजस्तो कहिलेकाहीँ भइरहेको उनले बताए । अर्कोलाई पर्दा चुप लाग्ने तर आफूलाई पर्दा चर्को आवाज उठाउने प्रवृत्ति अन्त्य गर्नको लागि उनले अनुरोध गरे । राष्ट्रिय उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ता अधिकारलाई अहिलेको संविधानले सम्बोधन गरेकाले अब यसलाई संस्थागत गराउन राज्य सक्रिय हुनुपर्ने बताए । ‘व्यापारीले ठगी गरेको पाइएमा तत्काल उजुरी हालेमा उनीहरुमाथि कारबाही हुन्छ’ उनले भने, ‘यो अधिकार संविधानले उपभोक्तालाई दिएको छ । आफू ठगिएको थाहा पाएमा चुप लागेर बस्न हँुदैन ।’ बजारमा पाइने खाद्य वस्तु, उपभोग्य अन्य सामग्री सबैमा व्यापारीहरुको ठगी धन्दा मौलाएको उनले बताए । यसका विरुद्ध अब सरकारी निकाय र उपभोक्ता आफै सक्रिय हुनुपर्ने उनको भनाई थियो । बजारमा पाइने सामग्रीलाई आफूले पहिचान गरी जाँचेर मात्र खरिद गर्न उनले अनुरोध गरे । खाना पकाउने एलपी ग्यासको सिलिण्डरको मिति हेरेर लिने, खाने तेलमा मिसावट भएनभएको परीक्षण गर्ने, मसला, फलफूलजस्ता खाद्य सामग्रीलाई आफैले घरमा परीक्षण गरेरमात्र उपभोग गर्न उनले उपभोक्तालाई अनुरोध गरे । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठले उपभोक्ताको अधिकार र बजारमा विद्यमान अवस्थाको विषयमा जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओमनारायण शर्मा, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम लगायतको सहभागिता रहेको थियो ।