समाचार
नारायणगढ, २ असार । बालमैत्री शिक्षण सिकाई पद्धतिको आवश्यकतामाथि सरोकारवालाहरुले जोड दिएका छन् ।
भरतपुर उपमहानगरपालिका बालमैत्री नगरपालिका घोषणाको तयारीमा रहेकोले प्रत्येक विद्यालयले बालमैत्री शिक्षण सिकाई पद्धतिलाई अंगाल्नु पर्ने भरतपुर उपमहानगरपालिकाका कार्यकारी प्रमुख महेश बरालले बताए ।
भरतपुर उपमहानगरपालिकाद्वारा आयोजित प्रारम्भिक बाल विकास एवम् बालमैत्री शिक्षण सिकाई तालिमको समापन कार्यक्रममा कार्यकारी अधिकृत बरालले बालमैत्री नगरपालिका घोषणा गर्न बालमैत्री शिक्षण सिकाई पद्धति पनि एक सुचक भएको बताए ।
प्राविधिक सहयोग गरेको सेतो गुराँस बाल विकास सेवा चितवनकी सचिव एवम् कार्यक्रमकी अध्यक्ष शान्ति अधिकारीले पाँच दिनसम्म सिकेको सीपलाई व्यवहारमा उतार्न सकेमा धेरै बालबालिकाको शिक्षण सिकाईमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताइन् ।
कार्यक्रममा लक्ष्मी उच्च माविका प्राचार्य रेशमबाबु ढकाल, जिल्ला शिक्षा कार्यालय चितवनका विद्यालय निरीक्षक बाबुराम दवाडीलगायतले मन्तव्य राखेका थिए । पाँच दिनसम्म चलेको तालिममा ३१ वटा विद्यालयका ३३ जना बालविकास केन्द्रका सहयोगी सहभागी थिए ।