समाचार

वागिश्वरीमा योग सप्ताह सुरु

नारायणगढ, २ असार । वागिश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ आश्रम र भारतीय महावाणिज्यदूतावासको संयुक्त आयोजनामा योग सप्ताहको सुरुआत गरिएको छ । जुन २१ मा मनाइने विश्व योग दिवसको अवसर पारेर चितवनमा बुधबारदेखि योग सप्ताहको सुरुआत गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि भारतीय महावाणिज्यदूतावास वीरगञ्जकी महावाणिज्यदूत अन्जु रन्जनले योगले मानिसलाई मर्यादित बनाउने बताइन् । योग भइरहेको ठाउँमा जनचेतना फैलाउन सजिलो हुने भएकाले चितवनमा संयुक्त रुपमा योग सप्ताह मनाउन आफूहरुले सहयोग गरेको उनले बताइन् । योगको संरक्षण गर्न चितवनभन्दा महत्वपूर्ण ठाउँ अन्त कतै नभएको बताउँदै रन्जनले गुरु वशिष्ठ र रामले यस भूमिमा १६ वर्षसम्म तपस्या गरेको उल्लेख गरिन् । आफूभित्रको देवत्व उजागर गर्नको लागि योगको विकास गर्नुपर्ने रन्जनको भनाई थियो । मानिसको खराब विचार हटाएर सुविचार कायम गर्न समेत योग महत्वपूर्ण हुने रन्जनले बताइन् । सांसद कृष्णभक्त पोखरेलले पछिल्लो समय मानिसहरुमा मानसिक तनाव बढ्दै गएकाले योगले त्यसको निराकरण गर्ने बताए । योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सा अस्पतालका निर्देशक डाक्टर हेमराज कोइरालाले योग सामाजिक अनु्शासन भएको बताए । योगले मानिसलाई निरोगी बनाउन मद्दत गर्ने भएकाले योग सबै क्षेत्रसँग जोडिएको डाक्टर कोइरालाको भनाई थियो । प्राकृतिक चिकित्सालयले सरकारबाट कुनै पनि सहयोग नपाएको उल्लेख गर्दै प्राकृतिक चिकित्सा क्षेत्रलाई राज्यले विशेष सुविधान उपलब्ध गराउनुपर्ने उनले बताए । अहिले प्राकृतिक चिकित्सालयले दैनिक ४० जनालाई सेवा पु¥याउन सक्ने डाक्टर कोइरालाले बताए । वागिश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमका अध्यक्ष शान्ताप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका संयोजक शैलेन्द्रकुमार पियाले स्वागत मन्तव्य राखेका थिए । यसैबीच, महावाणिज्य दूतावास वीरगंजको आयोजना, उद्योग वाणिज्य संघ चितवनको सहआयोजना तथा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र नारायणगढ र पतञ्जली योग सेवा केन्द्र चितवनको सहयोगमा बुधबार नारायणी नदी किनारमा दोश्रो अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न भएको छ । भारतीय महावाणिज्यदूत अञ्जु रञ्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह प्रमुख अतिथि रहेका थिए ।