समाचार

सतनचुलीमा सिलाईबुनाई

रामनगर, २ असार । सतनचुली सामुदायिक वन उपभोक्ता समूह रामननगरले आफ्ना उपभोक्ता महिलालाई ६ महिने सिलाईबुनाई तालिम आयोजना गरेको छ । गरिबी निवारण कार्यक्रम अन्तर्गत समुदायका महिलालाई तालिम दिइएको सामुदायिक वनका अध्यक्ष यमबहादुर रानाले जानकारी दिए । तालिममा १ सय ६ जना महिला सहभागी छन् । तालिमको प्रशिक्षक कल्पना धरेल रहेकी छिन् । उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला वन अधिकृत गणेश रायले वन जोगाउने जिम्मा समुदायको हातमा आएकाले वन संरक्षण कार्यक्रमलाई थप प्रभावकारी बनाउन समुदायलाई आग्रह गरे । वन संरक्षण गर्न सके यस्ता तालिम र अवसर थप पाइने उनले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल, सहायक वन अधिकृत कृष्ण पौडेल, नेपाली काँग्रेसका द्रुपदराज भट्टराई, नेकपा एमालेका जंगबहादुर भण्डारी, नेकपा माओवादी केन्द्रका टंकप्रसाद न्यौपाने, नेकपा–माओवादीका लिला पौडेल, सामुदायिक वनका पूर्वअध्यक्ष बद्रीनाथ आचार्य, वडा नम्बर एकका सचिव बालकृष्ण थपलियालगायतले मन्तव्य दिएका थिए ।