समाचार

चेपाङलाई बनाइयो मागी खाने भाँडो

नारायणगढ, २ असार । गरीब चेपाङलाई कुनै संघसंस्थाले मागी खाने भाँडो बनाएकोप्रति चेपाङ समुदायले आपत्ति जनाएका छन् । आफ्नो नाममा विभिन्न संघसंस्था तथा स्वार्थका लागि खोलिएका केही व्यक्तिले चेपाङलाई देखाउँदै मागी खाएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । चेपाङहरुका लागि आयोजित कृषि, पशु व्यवसाय तथा भूकम्प सम्बन्धी दुईदिने तालिम कार्यक्रमको समापनमा बुधबार नारायणगढमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । चेपाङलाई देखाएर वर्षौंदेखि पैसाको खेती भइरहेको भन्दै चेपाङ र सरकारी निकायका अधिकारीहरुले आपत्ति जनाएका छन् । स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले कुनैपनि संस्थाले चेपाङको नाममा मागी खान नपाउने बताए । ‘मैले मात्र गरेको छु, यहाँ कुनै निकायले चेपाङको काम गर्न सक्दैन भनी हिँडेको मैले पाएको छु’ उनले भने, ‘यदि यस्तै काम गर्दै हिँड्ने हो भने त्यसलाई कानुनी दायरामा ल्याउन सकिन्छ ।’ सरकारी निकायलाई चुनौती दिँदै, आफ्ना अभिभावकसँग बसेर अध्ययन गर्ने बालबालिकाको अधिकार खोसेर आफ्नो स्वार्थको लागि पाल्न कुनै पनि व्यक्तिले नपाउने उनले बताए । ‘चितवनमा चेपाङका बालबालिकालाई मागी खाने भाँडो बनाइरहेकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ’ कार्यक्रममा स्थानीय विकास अधिकारी पोखरेलले भने, ‘सरकारी नियकाले गरेको कामलाई ओझेलमा पार्दै ढाकछोप गर्ने अनि निश्चित स्वार्थमा गरिएको कामलाई मलजल गर्ने काम भएको छ ।’ जिल्ला विकास समितिले जनता आवास कार्यक्रममार्फत ८ सय ३२ वटा घर निर्माण गरेको जानकारी दिँदै उनले भने, ‘चेपाङका बालबालिकाहरुको लागि अध्ययन गर्न शक्तिखोर, अन्त्योदय माविमा छात्रावासको व्यवस्था गरिएको छ । सरकारी तहबाट भएको कामलाई ओझेलमा पार्दै एउटा व्यक्तिलेमात्रै काम गरेको छ भनी गलत प्रचार गरी समुदायलाई भ्रमित पार्ने कामप्रति हाम्रो आपत्ति छ ।’ ‘गैरसरकारी संस्थाले एउटा निश्चित समयको लागि काम गर्ने र पछि छाडेर जाने गरेका छन्’ पोखरेलले भने, ‘तर सरकारी निकायले भने सधैँभरी जनताको सेवा गरेर बसेको हुन्छ ।’ केही समयको लागि जिल्लामा आउने अनि सरकारी निकायलाई चुनौती दिँदै गलत प्रचार गर्नेहरुलाई कारबाही गर्न सकिने उनले जानकारी दिए । चेपाङ समुदायलाई सुझाव दिँदै पोखरेलले चेपाङले अध्ययन गर्न नपाएको, खान नपाएको, आयआर्जन गर्ने ठाउँ नपाएको, आफूमा काम गर्ने शक्ति भएपनि अवसर नपाएको भन्दै जिविसमा आए त्यसको निकासको लागि सहयोग गर्न आफू सदैव तयार रहेको बताए । जिल्ला विकास समितिको हरेक वर्ष हुने परिषदमा सहभागी भएर आफ्ना मागहरु राखेमा त्यसलाई जिविसले सम्बोधन गर्ने जानकारी दिए । तालिममा सहभागी भएका चेपाङहरुलाई उनले तालिममा सिकेको कुरालाई व्यवहारमा उतारेर काम गर्न अनुरोध गरे । उनले कुनै गैरसरकारी निकायले उचालेको भरमा नहिँड्न समेत चेपाङ समुदायलाई आग्रह गरे । पूर्वसभासद गोविन्दराम चेपाङले चेपाङको विकास सम्बन्धी हुने हरेक कार्यक्रमको जानकारी नेपाल चेपाङ संघ जिल्ला कार्य समितिलाई गराउनु पर्ने बताए । विभिन्न नाममा आएका गैरसरकारी संस्था तथा व्यक्तिले आफूखुसी आफ्नो समुदायमा भएगरेका कामको जानकारी नहुँदा आफूहरु समस्यामा परेको उनले बताए । ‘हाम्रो समुदायमा गरीब तथा विपन्न व्यक्तिहरु धेरै भएपनि उनीहरु इज्जतसाथ बसेका छन्’ उनले भने, ‘हाम्रो समुदायलाई देखाएर मागी खाने काम भएकोप्रति हाम्रो आपत्ति छ ।’ गाउँमा आफ्ना अभिभावकसँग बसेर अध्ययन गरिरहेका बालबालिकालाई शहरमा ल्याएर अध्ययन गराउने नाममा माखी खाने भाँडो बनाइएको उनले बताए । नेपाल चेपाङ संघ चितवनका अध्यक्ष लक्ष्मण चेपाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमका सहभागी चेपाङले आफूहरुलाई कसैले दुरुपयोग गर्न नहुने भन्दै चिन्ता व्यक्त गरेका थिए । उनीहरुले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आफूहरुले प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।