समाचार
रत्ननगर, ३ असार । जिल्ला वन कार्यालय चितवनले डम्पिङ साइटको विकल्प खोज्न रत्ननगर नगरपालिकालाई आग्रह गरेको छ ।
सामुदायिक वनभित्र फोहोर डम्पिङ गर्दा वन र वन्यजन्तुलाई गम्भीर असर गरेको भन्दै जिल्ला वन कार्यालयका प्रमुख गणेश रायले नगरपालिकालाई डम्पिङ साइटको विकल्प खोज्न आग्रह गरेका हुन् । रत्ननगर नगरपालिकाले १५ बर्षदेखि पञ्चकन्या सामुदायिक वनको निश्चित क्षेत्रमा फोहोर डम्पिङ गर्दै आएको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरेले तत्काल जग्गा खरिद गरी डम्पिङ साइट बनाउन सक्ने अवस्थामा नगरपालिका नहरेको बताए । फोहोरलाई गाड्ने र दुर्गन्ध फैलिन नदिन औषधि हाल्ने गरिएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख तेजेन्द्रनाथ लामिछानेले बताए । रत्ननगर नगरपालिका भित्र दैनिक ३० टन फोहोर निस्कन्छ ।