समाचार

विश्वविद्यालयको छैठौं स्थापना दिवस

नारायणगढ, असार ४ । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले सप्ताहब्यापी कार्यक्रमको आयोजना गरी छैठौं स्थापना दिवस मनाएको छ । २०६७ साल असार ३ गते चितवनको रामपुरमा स्थापना भएको विश्वविद्यालयले स्थापना दिवसका अवसरमा रक्तदान, बिरुवा वितरण, कृषकहरुलाई प्राविधिक ज्ञान हस्तान्तरण, कृषकहरुसँग अन्र्तक्रिया र समापन समारोह गरी स्थापना दिवस मनाएको हो । विश्वविद्यालय परिसरमा शुक्रबार गरिएको रक्तदान कार्यक्रममा तीन जना महिलासहित २४ जनाले रक्तदान गरे । जिल्लाका बिभिन्न क्षेत्रका अगुवा किसानहरुसँग अन्तरक्रिया गर्नुका साथै किसानहरुलाई लिची र आँपका विरुवा वितरण गरिएको थियो । कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. इश्वरीप्रसाद ढकाल र रजिष्टार मनराज कक्षपति लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको समापन समारोहमा त्रिविबाट समायोजन भै आएका २५ बर्ष सेवा पुरा गरेका ६४ जना कर्मचारी तथा १२ जना प्राध्यापकहरुलाई “विश्वविद्यालय सेवा पदक” प्रदान गरिएको थियो ।