Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार कर्मचारीको ढिलासुस्तीले सेवाग्राहीलाई सास्ती

समाचार

कर्मचारीको ढिलासुस्तीले सेवाग्राहीलाई सास्ती

बसन्त ढुंगाना नारायणगढ, असार ४ । जिल्ला मालपोत कार्यालय चितवनबाट एकैदिनमा जग्गा रजिष्ट्रेसन सम्बन्धी काम गर्न असम्भव हुन थालेको छ । केही हप्ता अगाडिसम्म एकैदिनमा सकिने काम कर्मचारीहरुको ढिलासुस्तीले दुई–तीन दिनसम्म लाग्ने गरेको छ । सेवाग्राहीले खचाखच भरिएको मालपोत कार्यालयको पञ्जिकरण शाखामा आफ्नो जग्गाको लापुलापुजा खोज्दै थिए रत्ननगर १० का ईश्वरीप्रसाद लामिछाने । आफूले किनेको जग्गाको लालपुर्जा लिन उनले मालपोत कार्यालय धाउन थालेको १५ दिन पुगेछ तर अझैसम्म पनि उनले लालपुर्जा पाएका छैनन् । ‘१५ दिन भैसक्यो, अझैसम्म मेरो लालपुर्जा बनेको छैन, जग्गा लिनेनेले लालपुर्जा फिर्ता मागेको छ’ उनले गुनासो गरे– ‘दिनदिनै मालपोत कार्यालय धाउँदा हैरान भैसके, हाकिमलाई भन्दा पनि सुनुवाई भएन, मैले अझै कति दिन हैरानी खेप्नु पर्ने हो ? थाहा छैन ।’ माडीका मोहन साह कानुले आफूले किनेको जग्गा रजिष्ट्रेसन पास गर्न मालपोत कार्यालय धाएको तीन दिन भैसक्यो तर उनको काम अझै सकिएको छैन । ‘पाँच छ जना होटलमा बस्दा जग्गा पास गर्ने पैसासम्म सकिँन लागिसक्यो’ उनले भने –‘अरु काम सकिएर सनाखत गर्ने पालो आएको थियो, कर्मचारीले फाईल कहाँ पु¥याईदिए, अहिलेसम्म भेटिएको छैन् ।’ मालपोत कार्यालयमा घुसखोरी बढेको र बिचौलियाले सेवाग्राहीलाई ठगेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले मालपोत र नापी कार्यालयमा सेवाग्राहीबाहेक अरुलाई पस्न नदिएपछि कर्मचारीहरुले विभिन्न कारण देखाई काममा ढिलासुस्ती गर्ने गरेको छन् । जिल्ला प्रशासन कार्यालयले मालपोत र नापीमा बिचौलिया रोक्ने क्रममा पाँच जनालाई पक्राउ गरी कार्वाहीसमेत गरेको छ । त्यस लगत्तै मालपोत कार्यालयमा कोटा सिस्टम लागु गरिएको छ । हिजोआज एकजना अधिकृतले ५० भन्दाबढी लिखत दर्ता गर्दैनन् जसकारण सेवाग्राही झनै मर्कामा परेका छन् । उपभोक्ता हित संरक्षण मञ्च चितवनका अध्यक्ष श्रीप्रसाद दवाडी प्रशासनिक सुधारका नाममा कार्यालयले सेवाग्राहीलाई ठग्दै आएको बताए । ‘यिनै कर्मचारीहरुले पहिले दिनको पाँच सयसम्म लिखत दर्ता गर्दथे र अधिकाँश लिखत उही दिन पारित हुन्थ्यो’ उनले भने ‘अहिले १२ नबज्दै कोटा पुग्यो भनेर मोठ भिडाउनै मान्दैनन् ।’ उनले कार्यालयमा टाँसिएको नागरिक वडापत्र अनुसार २ बजेसम्म सेवाग्राहीले लिखत दर्ता गर्न पाउनुपर्ने बताए । यसअघि दैनिक चार सयदेखि पाँच सयसम्म लिखत दर्ता गर्दै आएका मालपोतका कर्मचारीले अहिले दुई सय भन्दाबढी लिखत दर्ता नगर्ने मालपोत कार्यालयका सूचना अधिकारी हरिकृष्ण सुवेदीले बताए । ‘चार जना मालपोत अधिकृतले ५० वटाका दरले लिखत दर्ता गछौँ’ उनले भने, धेरै दर्ता गर्दा त्रुटिहरु बढी भए, जनशक्ति भन्दा कामको चाप बढी भएकाले सबैलाई सेवा दिन नसकेका हौं ।’ मालपोत कार्यालय भरतपुरमा सेवाग्राहीको संख्या अत्याधिक रुपमा बृद्धि भएका कारण जग्गा पास गर्न आएका सेवाग्राही तीन–चार दिनसम्म कुनुपर्ने अवस्था छ । कार्यालय प्रमुख टंकप्रसाद उपाध्यायले कर्मचारीको अभावका कारण यस्तो भएको बताए । ‘हामीसँग ४६ जना कर्मचारीमात्र छन्, कामको हिसावले यो अपुग हो’ उनले भने ‘हामीले १०–१२ जना थप कर्मचारी मागेका छौँ, कर्मचारी थपिए, कामको गति बढ्छ ।’ मालपोत कार्यालय भरतपुरबाट चालु आर्थिक वर्षको बैशाख महिनामा मात्रै ३३ हजार १४ कित्ता जग्गाको रजिष्टे«सन पारित भएको छ । यो गत आर्थिक वर्षको भन्दा पनि पाँच हजारले बढी हो । अघिल्लो आर्थिक वर्षमा जम्मा २८ हजार लिखत पास भएको थिए । कार्यालयको राजश्वमा पनि लक्ष्यभन्दा एक सय ७५ प्रतिशत बढी उठेको छ । चालु आर्थिक वर्षको नौ महिनामा गत वर्षको भन्दा १७ करोड बढी राजश्व संकलन भएको कार्यालयको सूचना अधिकृत सुवेदीले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा जम्मा ५६ करोड राजश्व संकलन भएकोमा चालु आर्थिक वर्षको नौँ महिनामा ७३ करोड राजश्व संकलन भएको छ ।