समाचार
बसन्त ढुंगाना
धादिङ सलाङकी लालकुमारी सिलवालका श्रीमान् नेपाल प्रहरीमा जागिरे थिए । १९ महिनापछि घरमा आएको थाहा पाएका माओवादी कार्यकर्ताले २०५७ साल चैत्र २५ गते राति १२ बजे घरमा आगो लगाईदिए ।
घरभित्र सुतिरहेको अवस्थामा भएको आगोलागीबाट उनीहरु त बल्लबल्ल बाँचे तर उनीहरुको सबै सम्पत्ती जलेर खरानी भयो । ‘त्यसपछि पुख्यौली थलोबाट हाम्रो परिवार विस्थापित भयो र चितवन बसाई स¥यो’ सिलवालले भनिन् ‘२०६० सालको मंसिरमा विरगंजमा भएको झडपमा श्रीमानले ज्यान गुमाउनु भयो, त्यसपछि झनै काहाली लाग्दो अवस्था आइलाग्यो’ ।
‘एक जनाको कमाईको भरमा कोठामा बसेर छोराछोरी हुर्काउँदै गरेको अवस्थामा त्यस्तो बज्रपात पर्दा मैले कसरी मन बुझाएँ होला तपाई आफैँ अनुमान गर्नु होस् ?’ सत्य निरुपण तथा मेलमिलाप आयोग चितवन शाखामा भेटिएकी सिलवालले भनिन् ‘२५ वर्षको उमेरमा सेतो कपडा लगाउनु पर्दा यो मन कस्तो भयो होला ?’ उनले द्वन्द्वको नाउमा निर्दोष मान्छेले यस्तो पीडा भोग्नुुपर्दा पनि सरकारले न्याय नदिएको गुनासो गरिन् ।
गोरखा सोरपानीका खिलनाथ ढकालले पनि सशस्त्र द्वन्द्वका क्रममा तत्कालिन राज्य पक्षले विस्थापित गराएको भन्दै शुक्रबार चितवनमा उजुरी दिए । ‘२०५२ सालमा चौकी जलाएको आरोप लगाएर मलाई प्रहरीले समात्यो, २८ दिन हिरासत र २२ दिन कारागारमा थुनिएँ’ उनले भने ‘२०५३ सालमा प्रहरीले गोली हान्दा भाग्यले बाँचे, त्यसपछि भागेर चितवन आएँ, केटाकेटी चौकीको बाटो भएर स्कूल जानुपर्ने, उनीहरुलाई तेरो बुवाआमा खै भन्दै प्रहरीले कुट्दो रहेछ । त्यसपछि केटाकेटी पनि यतै झरे ।’
उनले प्रहरीको गोली लागेर प्वाल परेको टोपी माओवादी नेता प्रचण्ड र बाबुरामलाई पनि देखाएको बताए । ‘हामी सत्तामा पुगेपछि न्याय दिलाउँछु भन्थे, न्याय पाइएला भनेर पटक–पटक निवेदन दिएँ, तर केही गरेन्’ उनले गुनासो गरे ‘जन्मैदेखि कम्युनिष्ट भईयो, अन्त जान सकिएन, अहिले माओवादीको गतिविधी देखेर दिक्क लाग्छ ।’
सशस्त्र द्वन्द्वको क्रममा पीडितहरुले न्याय पाइन्छ भन्नेमा विश्वस्त देखिँदैनन् । त्यसैले सरकारले सोचे जति उजुरी पनि परेको छैन । पदमपुरकी सानु चौधरीका श्रीमान पनि द्वन्द्वकालमा काभ्रेमा मृत्यु भयो । न्यायका लागि उनले निवेदन त दिइन् तर न्याय पाइन्छ भन्ने कुरा उनको मनमा फिकिक्कै छैन ।
द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारवाही सिफारिस गर्ने अधिकार पाएको सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन् । दुवै आयोगले असार मसान्तसम्म उजुरी दिन सक्नेगरी समय बढाएका हुन् । यसअघि उजुरी दिने समय सीमा जेठ मसान्तसम्म तोकिएको थियो । बैशाखदेखि उजुरी लिन थालेका आयोगले पहिलो पटक दुईमहिना समय दिएका थिए । शुक्रबारसम्म चितवनबाट सात सय १८ जनाले उजुरी दिएका छन् ।
म्याद थप गरेपछि पनि उजुरी दिने क्रम तिब्र बढेको सत्यनिरुपण तथा मेलमिलाप आयोग चितवन शाखाकी कार्यालय अधिकृत लक्ष्मी गौतम पौडेलले जानाकारी दिईन् । यहाँबाट ८२ वटा उजुरी बेपत्ताका परेका छन् । यसअघि जिल्लामा छ सय ८६ पीडित र ३८ जना बेपत्ता भएको तथ्याङ्क सत्यनिरुपण तथा मेलमिलाप आयोग चितवन शाखाको कार्यालयमा छ । अझै पनि बेपत्ता भएका पाँच छ जना आउलान् भन्ने अपेक्षा रहेको उनले बताइन् ।
हालसम्म राहत नपाएकाले उजुरी हालेको उनले बताइन् । छ सय ८६ जनाको यहाँ नाम सूचिकृत छ तर पनि यहाँ नाम नभएकाले बढी फर्म भरेका छन् । पहिले सूचिकृत भएका भन्दा पनि यहाँ नयाँको उजुरी बढी छ ।
आयोगले नेपालभरि जुनसुकै जिल्लाबाट पनि मौखिक वा खामबन्दी रुपमा समेत उजुरी दिने व्यवस्था गरेको छ । चितवनमा जिल्लावाहिर नवलपरासी, गोरखा, धादिङ, बाग्लुङ, कास्की जिल्लाका पीडितहरुले समेत उजुरी दिएका छन् ।
आयोगले सूचना नबुझेको कारण उजुरी थोरै परेको पौडेलको भनाई छ । ‘आयोगले जनतालाई पहिले नै बुझाएन, कतिले यो राहतका लागि सिफारिस हो भनेर बुझेका छन्’ उनले भनिन् ‘एक पटक पनि राहत नपाएकाले फर्म भर्ने हो भन्ने हल्ला छ, त्यसो होइन, यो त उजुरीमात्र हो’ ।
टाढाबाट आउने पीडितहरुलाई राज्यले यातायातको व्यस्था गर्नुपर्ने हो । ‘उनीहरु एक दिनको खर्च जुटाएर निवेदन दिन यहाँ आउँदैन्’ उनले भनिन् ‘होइन भने घरदैलोमा पुगेर निवेदन संकलन गर्नुपर्छ ।’
पीडितको क्षेत्रमा कृयाशिल संगठनहरुले पनि फारम लगेर भर्ने गरेका छन् । कतिपय पीडितहरु उजुरी दिँदासमेत अलमलिने गरेका छन् । फर्म भर्ने प्राणाली समेत फरक छ । ‘फर्म भर्ने तालिम लिएका हामी त अलमलिन्छौं’ उनले भनिन् ‘उनीहरु त कसरी मेसो पाउन्’ ।
चितवन जिल्लामा सशस्त्र द्वण्द्वकालमा मृतक, बेपत्ता, अपाङ्ग, अपरहण, विस्थापित गरी छ सय ८६ जना रहेका छन् । जसमा तीन सय ३८ जनाको मृत्यु, ३८ जना बेपत्ता, एक सय ६८ जना अपाङ्ग, ९२ जना अपहरणमा परेको र ५० जना विस्थापित रहेका छन् । बेपत्ता पार्नेमा राज्य पक्ष बढी छ भने हत्या गर्नेमा विद्रोही माओवादी पक्ष बढी रहेको सत्य निरुपण तथा मेलमिलाप आयोग चितवन शाखाको तथ्याङ्कमा उल्लेख छ ।