समाचार
– विद्रोही गिरी
ताप्लेजुङ । पूर्वी पहाडको भ्रमणमा निस्केका अधिकांश मान्छे पाथीभरा भगवतीको दर्शन गरेर फर्कन्छन् । झापाको चारआलीबाट इलाम लागेपछि त्यहाँबाट पाँचथर पुग्नेहरु एकपटक पाथीभरा पुग्ने गरेका छन् । धार्मिक र साँस्कृतिक महत्वको यो ठाउँ हिन्दुहरुको आस्थाको केन्द्र हो । त्यसैले हरेक नेपाल र भारतका हिन्दु धर्मावलम्बीहरु पाथीभराको दर्शन गर्न लालायित हुुुन्छन् ।
मान्छेमा नयाँ ठाउँ र नयाँ चिज देख्ने रहर हुन्छ । एक ठाउँको मान्छेलाई अर्को ठाउँमा पुग्दा धेरै कुरा नयाँ हुन्छन् । पाथीभरा पुग्दा धेरै मान्छेले नयाँ अनुभव गर्न पाउछन् । ‘पाथीभरा भगवतीको दर्शन गर्दा मनले चिताएको पुग्ने विश्वास गरिन्छ’ मेची पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष रणबहादुर खड्काले भने –‘त्यसैले पाथीभरा देवीको महत्व बढाएको छ ।’
काठमाण्डौं हँुदै सिन्धुलीबाट बर्दीवासदेखि चारआली लागेपछि पूर्वी पहाडको सून्दरताको ‘रानी’ भेट्न मनमा उत्सुकता जाग्दो हुन्छ । ईलामको कन्याम, सुर्योदयको मज्जासँगै, चियाको चुस्की लगाउदै घोडा चढ्ने रहर यहाँ आउने पर्यटकले राख्ने गर्दछन् ।
‘पाँचथर र ताप्लेजुङ पुग्दा जतिमज्जा अरु पहाड चढ्दा हँुदैन’ पत्रकार रामेश्वर कार्कीले भने ‘एकातिर प्राकृतिक सुन्दरता अर्कोतिर धार्मिक महत्वको ठाउँ, बाहिरका मान्छे यहाँ पुग्दा स्वर्गमा पुगेको अनुभव हुँदो रहेछ ।’ इलामको चिया बगान, पाँचथरको किराँत धर्मगुरु फाल्गुणानन्दको समाधि स्थल र लिम्बुहरुको उद्गम स्थलको रुपमा बुझ्ने हिलिहाङ राजाको दरवार अनि पाथीभरा भगवतीको दर्शन गर्दा बल्ल पूर्वी पाहाडको भ्रमणले अर्थ राख्छ ।
तीन हजार सात सय ९२ मिटर उचाईमा रहेको पाथीभरा भगवतीको मन्दिर हिन्दु अनुयायीहरुको लागि पुग्नैपर्ने स्थलको रुपमा रहेको छ । प्राकृतिक रुपमा रेडपान्डा, २२ प्रजातिका लालीगुराँस, कञ्चनजंघा, कुम्भकर्ण जस्ता हिमालले यहाँको सुन्दरतामा निखार ल्याएको छ । यो सुन्दरताले जो कसैलाई लठ्ठ पार्दछ ।
हरेक हिँउदमा भारतको पश्चिम बंगाल, आसाम, मेघालय, सिक्किमबाट आउने पर्यटकहरु यहाँ खचाखच हुने गर्दछन् । उनीहरु भगवतीलाई मान्ने भएकाले पाथीभरा दर्शनका लागि आउने गरेका हुन् । राष्ट्रिय पर्यटन ब्यवसायी संगठनका सचिव कृष्णहरि खत्रीले अनुभव सुनाए ‘शिरको पाथीभरा मन्दिर, इलाम, पाँचथर र ताप्लेजुङको विकासको आधार हो ।’
पूर्वी नेपालको बिराटनगर, धरान, धनकुटा र झापाबाट पारिवारिक मनोरञ्जका लागि पनि कतिपय व्यक्तिहरु पाथीभरा पुग्ने गर्दछन् । गएको जेठ २२ गते २५ जिल्लाका मान्छे पाथीभराको मन्दिर पुगेका थिए । यो संख्यालाई आधार मान्दा नेपालको एक तिहाइ जिल्लाका बासिन्दा पाथीभरा गएको देखिन्छ । यसरी आउने मान्छेहरुको खर्चले यहाँको विकासलाई अगाडि लैजाने स्थानीयले बिश्वास लिएका छन् ।
पाथीभरा भगवतीको दर्शनले मनोकामना पुरा हुने भन्ने जनबिश्वास छ । कतिपय मानिसहरु सन्तान प्राप्त हुने विश्वास लिएर यहाँ आउने गरेको पाथीभरा क्षेत्र विकास समितिका डाइरेक्टर उदय भट्टराईले जानकारी दिए । ‘एकातिर धार्मिक दृष्टि अर्कोतिर घुमफिर’ एक्सचेन्ज टुरिजमको प्रशस्त ठाउँ यहाँ रहेको नेपाल पर्यटन बोर्डका सुमन घिमिरेले बताए । यहाँका शेर्पा, किराँत, लिम्बु, गुरुङको आफ्नै जातीय साँस्कृति रहेको छ । यसले पर्यटकहरुलाई थप आकर्षण गर्ने गरेको छ ।
यस क्षेत्रमा पर्यटन प्रवर्धनको सम्भावना प्रशस्त भएपनि पर्यटकीय स्थलहरुसम्म पुग्ने पूर्वाधारको काम नहुँदा एक पटक पुगेको मानिस चाहेर पनि अर्को पटक जान खोज्दैन । यसले स्थानीयलाई निराश बनाउने गरेको मेची पहाडी पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष रणबहादुर खड्काले बताए । पर्यटकले पैसा तिर्दा पनि यहाँ खान र बस्नको समस्या छ । आफूखुसी जाने पर्यटकले बास र गाँसको समस्या झेल्नु पर्छ । बेलुका ८ बजे नै होटलहरु बन्द हुँदा पर्यटकलाई मर्कापर्ने गरेको छ ।
सूचनाका लागि पर्याप्त होडिङबोर्डहरु राख्न आबश्यक छ । पाथीभरा मन्दिरको फेदीसम्म पुग्नका लागि ताप्लेजुङको फुङ्लिङ बजारदेखि काफ्लेवारीसम्मको ११ किलोमिटर सडकलाई पिच गर्नुपर्छ । सुकेटार विमानस्थलमा ओर्लनेहरुसमेत सजिलै पाथीभरा पुग्न नसक्ने भएकाले बाटोको ब्यवस्था पहिलो रुपमा गर्नुपर्छ । नाटाका संगम शेर्पाले भने –‘पाथीभरा जाँदा ठाडै उकालो पर्ने भएकाले तीन किलोमिटर क्षेत्रमा दायाँ–बायाँ रेलिङ्ग र विश्राम गृहहरु बनाउनु पर्छ ।’
पाथीभरा मन्दिरमा चढाएका भेटीलाई ब्यवस्थित गर्न सक्दा बार्षिक अढाई करोडको हाराहारीमा आम्दानी हुनसक्छ । यो यसक्षेत्रको लागि समृद्धिको आधार पनि हो । पाथीभरा क्षेत्र विकास समितिका डाइरेक्टर उदय भट्टराईका अनुसार पछिल्लो दुई महिनामा ४२ लाख भेटी उठेको बताए । ‘यसभन्दा अघिको भेटी कहाँ गयो ? हिसावकितावै छैन’ उनी भन्छन्– ‘स्थानीय संस्थाले यहाँको रेखदेख गर्दै आएका थिए, उनीहरुको समन्वयमा हामीले काम थालेका छौं’ ।
तीन जिल्लाको बीचमा पर्ने पाँचथर तुलनात्मक रुपमा इलाम र ताप्लेजुङ्ग भन्दा कम पर्यटकीय गतिविधी हुने जिल्ला हो । त्यति हुँदा–हँुदै पनि सडक मार्ग भएर ताप्लेजुङ पुग्ने पर्यटकलाई एक दिन पाँचथरमा रोक्न सक्नुपर्छ । पर्यटकको बसाइ लम्ब्याउन स्थानीय संस्कृतिको कामलाई अगाडि बढाउनु पर्छ । ‘स्थानीय संस्कृतिको संरक्षण र पर्यटकको बसोबास लम्ब्याउन होमस्टेको विकासमा जोड दिन ¬¬¬सकिन्छ’ पर्यटन ब्यवसायी बैकुन्ठ प्रधानले भने ।