Back
You are here: Home
समाचार
मुग्लिन–नारायणगढ सडक यात्रा जोखिम बन्दै
समाचार
शालिग्राम नेपाल
नारायणगढ, ५ असार । सडक विस्तारको काम भइरहेको मुग्लिन–नारायणगढ सडक खण्डमा रात्रीकालिन यात्रा जोखिम हुन थालेको छ ।
सडक विस्तारको क्रममा कतिपय स्थानमा पहाड फोड्नु र ढिस्को खोस्रनु परेको छ । त्यस्तो ठाउँमा पटकपटक पहिरो खस्ने गर्दा रात्रीकालिन यात्रा जोखिम बनेको हो । दिउसोको समयमा पहिरो आएको देखिने भएपनि राती त्यो सम्भव नहुने भएकाले सकेसम्म राती यात्रा नगर्न प्राविधिकले सुझाव दिएका छन् । ‘वैकल्पिक मार्ग प्रयोग गर्न मिल्नेहरुले अन्य बाटो जान हामी अनुरोध गर्दछौं’ मुग्लिन नारायणगढ सडक सुधार आयोजनाका इन्जिनियर शिव खनालले भने ।
‘तीन दिनदेखि यो सडक खण्ड धेरै समय बन्द भएको छ, ३६ किलोमिटर सडक पार गर्न १५ घण्टासम्म लाग्ने गरेको छ’ ’ उनले भने ‘पानी परेपछि जुनसुकै समयमा पहिरो खसेर बाटो बन्द हुन सक्छ ।’ उनले काठमाण्डौं जाने र आउने बस तथा साना सवारी साधनलाई त्रिभुवन राजपथ र सिद्धार्थ राजमार्ग प्रयोग गर्न सल्लाह दिए । ती राजमार्गमा ठूला सवारी साधन पनि चलाउन मिल्ने गरी मर्मत भएको उनले बताए ।
‘शनिबार पनि विहान ६ बजेदेखि साँझ ५ बजेसम्म बाटो बन्द भयो, वर्षात्को समयमा त कहिले बाटो बन्द हुन्छ थाहा हँुदैन’ इन्जिनियर खनालले भने ‘आफ्नो यात्रा सुरक्षित गर्न र समयमा पुग्न चाहनेका लागि वैकल्पिक मार्ग रोज्नु राम्रो हुनेछ’ । उनले अन्य सडकमा चल्न नसक्ने ठूला र भारी सवारी साधनहरुले मात्र मुग्लिन नारायणगढ सडक प्रयोग गर्न सुझाए ।
मुग्लिन–नारायणगढ सडकको सवैभन्दा धेरै पहिरो खस्ने ठाउँ कालिखोला जलवीरे क्षेत्र हो । यहाँ साना–ठूला गरी धेरै पहिरो खस्ने गरेको छ । पहिरो आएको बेला काम गर्न सकिदैंन । पहिरो आएको ठाउमा लाइटको व्यवस्था गरिएपनि त्यही समयमा अर्को ठाउँमा पनि पहिरो आउन सक्छ । रातीको समयमा त्यो थाहा पाउन सकिदैंन । पहाड काटेको स्थानमा बायो इन्जिनियरिङको तयारी गरिएपनि पहिरोको कारणले गर्न नसकेको उनले जानकारी दिए ।
पहिरो रोकथामको लागि पहाड काटेको ठाउँमा रुख विरुवा लगाउनु पर्दछ । त्यसले पहिरो खस्न रोक्ने काम गर्दछ । तर अहिले त्यसको काम हुनसकेको छैन यसले मुग्लिन–नारायणगढको यात्रा जोखम हुने उनको भनाई छ । धेरै पहिरो जाने ठाउँमा सूचना बोर्ड राख्ने र वैकल्पिक राजमार्गको प्रयोगको लागि सूचना दिने काम भएको उनले बताए ।
पूर्व जाने रात्री बसहरु त्रिभुवन राजपथबाट जान सक्ने इन्जिनियर खनालले बताए । उक्त राजमार्ग मुग्लिन–नारायणगढको भन्दा एक घण्टा ढिलोमात्र हुनेछ । पहिरोको जोखिम नहुँने उक्त राजमार्गमा ठूला बसहरु सजिलै जान सक्ने बनाइएको छ । तर, कतिपय सवारी साधनले घण्टौं कुरेर पनि यही सडक रोज्ने गरेकाले थप कठिन बनेको उनको भनाइ छ ।
पहिरोको कारण हुने अधिक सवारी जामले गर्दा सडक मर्मतको कामसमेत प्रभावित भएको आयोजनाले जानकारी दिएको छ । सडक विस्तारको लागि काम गर्दै गरेका साधनसमेत जाममा परेपछि सडक बिस्तारको काम ज्यादै ढिला भएको उनले बताए । अहिलेसम्म २१ प्रतिशतमात्र काम सम्पन्न भएको खनालले जानकारी दिए ।
अन्य समयमा दिउसो सवारी आवागमन बन्द गरेर काम गरिएपनि असार लागेपछि सडक बन्द गरिएको छैन । वर्षात् लागेकाले बन्द हटाइएको हो । उक्त सडक खण्डको कडा चट्टान भएको क्षेत्रमा पहाड फोड्ने र पहिरो जाने स्थानमा सडक क्षेत्रमा पर्खाल लगाउने र अन्य स्थानमा सडक मर्मतको काम भइरहेको छ ।
मुग्लिन–नारायणगढको बाटोमा यात्रुहरुलाई परेको समस्या र रात्रीकालिन यात्राको जोखिमका विषयमा प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी निक्र्यौल निकाल्ने तयारी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुवरले बताए । ‘सवारी साधनले वैकल्पिक सडक प्रयोग नगर्नाले समस्या भएको छ’ उनले भने ‘पश्चिमका सवारी साधनले सिद्धार्थ राजमार्ग र पूर्वकाले त्रिभुवन राजमार्ग प्रयोग गरे धेरै समस्या हट्छ’ ।