Back
You are here: Home
समाचार
स्वीकृतिबिना संचालित स्वास्थ्य संस्था बन्द
समाचार
रत्ननगर, ८ असार । स्वीकृतिबिना संचालनमा रहेका रत्ननगरका ३ वटा स्वास्थ्य संस्था मंगलबार बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय र जनस्वास्थ्य कार्यालयको टोलीले गरेको अनुगमनका क्रममा स्वीकृति लिएको कागजात नभेटिएपछि ती संस्थाहरु बन्द गरिएको हो । रत्ननगरको क्षितिज डेण्टल केयर, चित्रसेन हेल्थ क्लिनिक र नेपाल भेटेरेनरी कन्सल्टेन्सी बन्द गराइएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओमनारायण शर्माले जानकारी दिए ।
टोलीले रत्ननगरका १३ वटा मेडिकल तथा ८ वटा कन्सल्टेन्सीको अनुगमन गरेको थियो । अनुगमनका क्रममा बरदान मेडिकल, भारद्वाज आयुर्वेद औषधालय, सिरडी फार्मेसीलगायतमा स्वीकृतिप्राप्त व्यक्तिले औषधि बिक्री गर्नुपर्नेमा त्यसो नभएकाले बन्द गरिएको बजार संरक्षण अधिकृत शर्माले बताए । शिक्षा मन्त्रालयको स्वीकृतिबिना सञ्चालनमा आएका कन्सल्टेन्सीलाई बन्द गर्न निर्देशन दिई केही दिन अगाडिदेखि गरेको अनुगमनपछि पूर्वी क्षेत्रका कन्सल्टेन्सी बन्द भएको उनले बताए ।
स्वीकृति नलिएका त्यस्ता संस्था बन्द गर्न निर्देशन दिएपछि अनुगमनका क्रममा धेरै संस्था बन्द भएको आफूले पाएको उनले जानकारी दिए । विदेश पठाउनका लागि खोलिएका म्यानपावरहरुको पनि अनुगमन भएको उनले बताए । पूर्वी क्षेत्रमा ती संस्था नभएको पाइएको उनले बताए ।
यसैबीच, बजार अनुगमन टोलीले रत्ननगरका १० वटा किराना पसल र होटलको अनुगमन गरेको छ । उक्त अनुगमनका क्रममा २ वटा होटलले अखाद्य सामग्रीको प्रयोग गरी मिठाई बिक्री गरेको पाइएको खाद्य निरीक्षक नवीन देउजाले बताए । उनका अनुसार, रत्ननगर १ बकुल्लहरमा रहेको शुभकामना स्वीट हाउस र रत्ननगर २ टाँडीमा रहेको हाम्रो होटल स्वीट एण्ड चाट हाउसले अखाद्य हाइड्रो नामक सामान मिठाईमा प्रयोग गर्ने गरेका छन् ।
अखाद्य सामान प्रयोग गर्ने ती दुई होटललाई खाद्य ऐन बमोजिम कारवाही हुने खाद्य निरीक्षक देउजाले बताए । अनुगमन गरिएका होटलहरुमा सरसफाई समेत नभएको पाइएको छ । अनुगमनका क्रममा किराना पसलहरुमा म्याद सकिएको सामग्री राखिएको, मूल्यसूची नभएको पाइएको देउजाले बताए । म्याद सकिएको सामान नष्ट गरिएको उनले बताए ।