समाचार

काबुल घटनामा खैरहनीका ढुङ्गानाको मृत्यु परिवारजन, आफन्त र बहेरी गाउँ शोकमा

शिशिर सिंखडा रत्ननगर, ८ असार । अफगानिस्तानको काबुलमा आतंकवादीको आत्मघाती बम आक्रमणमा परेर सोमबार चितवनका कृष्णबहादुर ढुङ्गानाको मृत्यु भएपछि परिवार र गाउँ शोकमा परेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका १, बहेरीका ३३ वर्षीय ढुङ्गाना पनि आत्मघाती आक्रमणको निसाना बन्न पुगे । आवासबाट आफू कार्यरत क्यानेडियन दुतावास जाने क्रममा बीच बाटोमै आत्मघाती विष्फोटमा परेर सोमबार बिहान ढुङ्गानाको मृत्यु भएको खबर परिवारजनले दिउँसोमात्रै पाएका थिए । २०५९ सालमा नेपाली सेनामा भर्ती भएका ढुङ्गाना परिवारका माहिला छोरा हुन् । जेठो छोरा गणेश छुटभिन्न भइसके । उनी पनि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् । कान्छा भाई अर्जुनले नेपालीलाई विदेश पठाई दिने काम गर्छन् । हजुरबुबा र हजुरआमासहित ९ जनाको परिवार धान्दै आएका कृष्णको निधनले ढुङ्गाना परिवार विक्षिप्त बनेको छ । माओवादी द्वन्द्वका कारण २६ महिनामा जागिर छाडेका उनी परिवार पाल्न २०६३ सालमा दुबई गई ३ वर्ष काम गरेर घर फर्किए । विवाहपश्चात अफगानिस्तान तीन पटकसम्म आउजाउ गरेका ढुङ्गाना गत जेठ १६ गते चौथो पटक काबुल पुगेका थिए । २६ दिनको छुट्टीमा घर आएका कृष्णले नयाँ घर बनाउन भनी खैरहनी नगरपालिकाबाट नक्सापास गराई सम्पूर्ण व्यवस्था मिलाएका थिए । अहिले उनको घरको जग खनेर निर्माण कार्य सुरु भएपनि यो घटनाले उनको घर सम्पन्न गर्न समस्या देखिएको छ । घर पूरा गर्ने र घरपरिवार कसरी चलाउने भन्ने चिन्ता रहेको कृष्णका जेठा मामा हिमनाथ न्यौपाने बताउँछन् । मंगलबार शोकाकुल आफन्तजनलाई सान्त्वना दिन भान्जाको घर पुगेका न्यौपानेले भान्जाको मृत्यु भइसकेको भनी आफूले स्वीकार्न नसकिरहेको बताए । ‘दस दिनअघि फोनमा कुरा गर्दै घर बनाउने काममा रेखदेख गर्नुहोला है मामा भनेका थिए भान्जाले’ भान्जाको आवाज अझैपनि कानमा गुन्जिरहेको बताउँदै उनले भने, ‘भान्जाले त्यतिबेला म काबुल आएर काममा लागिसकेको छु । अब पठाएको पैसाले नयाँ घर राम्रोसँग बनाउने हो भनेका थिए ।’ सामान्य परिवारका कृष्णको ७ कठ्ठा जमिन छ । परिवारनै कृषि पेशमा आश्रित छन् । ‘घर बसेर के गर्ने कमाई छैन, परिवार पाल्न प¥यो भन्थे । नजाउन भन्दा मान्दैनथे’ कान्छा मामा राजकुमारले भने, ‘दिन आयो भने मरिन्छ, के गर्नु कमाउनै प¥यो भन्थे । जे नहुनु थियो, त्यही भयो ।’ नातिको मृत्युको खबरले ८१ वर्षीय हजुरबुबा होमनाथ, ८३ वर्षीया हजुरआमा जानुका, मामा घरका ८७ वर्षीय हजुरबुबा टीकानाथ न्यौपाने, आमा विन्दादेवी, बुबा उत्तरकुमार र श्रीमती भगवती कोही पनि कसैसँग बोल्न सक्ने अवस्थामा छैनन् । परिवारमा रुवाबासी छ । कृष्णका ५ वर्षीया छोरी कृष्भा र ४ वर्षका छोरा कृपन स्थानीय मेरी गोल्ड स्कुलमा अध्ययनरत छन् । घरमा भएको रुवाबासीको उनीहरुले राम्रोसँग भेउ पाएका छैनन् । कृष्णको दुःखद घटनामा मृत्युको खबरले सिंगो बहेरी गाउँ पीडामा छ । उनी गाउँमा सबैसँग मिल्ने स्वभावका थिए । सामान्य परिवार भएकाले घर चलाउन विदेश जानु उनको बाध्यता भएको स्थानीय अनुप खनालले बताए । ‘मासिक एक हजार डलर कमाई हुन्छ भन्थे, परिवार चलाउन, घर बनाउन सक्छु होला भन्थे’ खनालले भने । अफगानिस्तानको राजधानी काबुलस्थित क्यानेडियन दुतावासको सुरक्षामा बेलायती कम्पनी सार्वे इन्टरनेशनल मार्फत खटिएका २१ जना नेपाली चढेको मिनीबसमा आक्रमण भएको थियो । उक्त घटनामा १२ नेपालीसहित १४ जनाको मृत्यु भएको छ भने ७ जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये मानबहादुर थापा र कृष्णकुमार देउजा पनि चितवनकै हुन् । मृतक ढुङ्गानाको शव बुधबार काठमाडौँ आइपुग्ने र बेलुका चितवन ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताए ।