समाचार

पन्तले कतारमा कला प्रस्तुत गर्ने

नारायणगढ, ९ असार । चितवनको रत्ननगर निवासी लोक तथा दोहोरी गायक नेत्र जी पन्तले कतारमा हुने साँस्कृतिक कार्यक्रममा आफनो गायन प्रस्तुत गर्ने भएका छन् । एक दशकदेखि गायन क्षेत्रमा सक्रिय पन्तले पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा हुने साँस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर पाएका हुन् । गायक पन्तलाई कतारमा आफ्नो कला प्रस्तुत गर्ने अवसर चितवन युवा समुह दोहा कतारले दिएकोे हो । मुस्लिम समुदायको महत्वपूर्ण पर्व इदको अवसरमा यही असार २४ गते अर्थात जुलाई ८ तारिखमा आयोजना हुने कार्यक्रममा उनले एक दर्जन गीत प्रस्तुत गर्नेछन् । गायक पन्तले सुख लुक्छ दुःख लुक्दैन, स्वीट्जरल्याण्ड झैं नेपाल नि होला त, भाग्य देखिन्छ र, पेशा जे छ जुन ठाउँमा भए नि नेपाली हौं विदेशमा रहे निजस्ता चर्चित गीतहरु आफ्नै रचनामा बजारमा ल्याइसकेका छन् । पछिल्लो पटक गायक पन्तले बजारमा ल्याएको विदेश नामक एल्बममा समावेश गरिएको पेशा जे छ जुन ठाउँमा भए नि, नेपाली हौं विदेशमा रहे नि बोलको गीत विदेशमा रहेका नेपालीहरुले रुचाएका कारण पन्तलाई पहिलो पटक कतारमा हुने कार्यक्रममा कला प्रस्तुत गर्ने अवसर मिलेको हो । आठौं चितवन धमाका नामक उक्त साँस्कृतिक कार्यक्रममा पन्तसहित ज्योति काफ्ले, भूमिका गिरी, सरिता गुरुङ, संजीब सिंह राना, सालु गौतम, वलविक्रम थापा र सपना राईको पनि प्रस्तुति रहने कार्यक्रम संयोजक सुमन भारतीले जानकारी दिए ।