Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार शिक्षा कार्यालयलाई भवनको अभाव

समाचार

शिक्षा कार्यालयलाई भवनको अभाव

शालिग्राम नेपाल नारायणगढ, ९ असार । जिल्ला शिक्षा कार्यालय चितवनलाई भवनको अभाव भएको छ । अहिले भइरहेको भवन गएको वर्ष आएको भुकम्पले चर्किएर जोखिम भएको र आवश्यक थप कार्यक्रम गर्नलाई समेत भइरहेको भवन अपुग भएको कार्यालयले जानकारी दिएको छ । स्रोत व्यक्तिहरुको बैठक, शिक्षा सम्बन्धी अन्य बैठक तथा कार्यालयको सामग्री राख्नलाई समेत कोठा तथा भवनको अभाव भएको जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले जानकारी दिए । ‘कार्यालयको काम थपिएको छ, जिम्मेवारी वृद्धि छ, कर्मचारी बढेका छन् तर भवन पुरानै छ’ शिक्षा अधिकारी अर्यालले भने, ‘जिल्लाका १३ जना स्रोत व्यक्ति राखेर बैठक गर्ने स्थानसमेत छैन ।’ शिक्षा विभागमा कार्यालयको अवस्थाको बारेमा जानकारी गराउँदा समेत बजेट आउन नसकेको उनले बताए । ‘भूकम्पले गर्दा पुरानो भवन चर्किएर जोखिम भएको छ । अहिले काम चलाउको रुपमा हामीले काम गरिराखेका छौँ’ उनले भने, ‘अब अर्को भुकम्प आएमा यो भवन भत्किन सक्छ ।’ जिल्लाका महत्वपूर्ण कागजपत्र राख्नु पर्ने, कार्यालय प्रयोजनका सामग्रीहरु भएको पुरानो भवन वर्षातमा पानी पर्दा चुहिने भएपछि जस्ताले छाएर काम चलाउने गरिएको अर्यालले बताए । अहिले भइरहेको भवन धेरै वर्ष अगाडि निर्माण भएको पुरानो र साँघुरो भएको कारण काम गर्नलाई समेत असजिलो भइरहेको उनले जानकारी दिए । ‘पत्रकार सम्मेलन गर्नु परेमा, विभागबाट टोली आएर बैठक गर्नु परेमा चर्किएको भवनको छतमा कार्यक्रम गर्न बाध्य भएका छौँ’ उनले भने, ‘यस विषयमा जानकारी गराउँदा समेत ध्यान नदिँदा चिन्तित भएको छु । जिल्लाका विद्यालयहरु भूकम्पको कारणले भत्किएका र चर्किएका छन् । ती भवनका लागि सरकारले बजेट दिएको छ तर कार्यालयको अवस्था नाजुक हुँदा वास्ता छैन ।’ शिक्षा कार्यालयको परीक्षा शाखाको गोदाम घर नहुँदा कागजपत्र बैठक हलमा राखिएको छ । विद्यार्थीको परीक्षाको कापी विद्यालयको कोठा मागेर जाँच्नु पर्ने अवस्था छ । आफ्नो कार्यालयका धेरै जना राखेर काम गराउन सकिएको छैन । व्यवस्थित तरिकाले सामग्री राख्न नसक्दा खोजेको समयमा भनेका सामग्री पाउन मुश्किल भएको जिल्ला शिक्षा अधिकारी अर्यालले बताए । परीक्षा शाखाको माथिल्लो तलामा जस्ता लगाएर छाएपनि बजेटको अभावमा कोठा बनाउन नसकिएको कार्यालयले जनाएको छ । भूकम्पले चर्किएका विद्यालय निर्माणका लागि चितवनमा २५ करोड रुपैयाँ आएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका विद्यालय निर्माण तथा मर्मतको लागि बजेट आएको जिल्ला शिक्षा अधिकारी अर्यालले जानकारी दिए । यही वर्ष खर्च गरिनु पर्ने उक्त रकम असार मसान्तसम्म ७५ प्रतिशत काम सम्पन्न हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । एक सय १३ वटा विद्यालयका लागि एक लाख रुपैयाँका दरले रकम वितरण गरिने कार्यालयले जनाएको छ । भूकम्पले पूर्णरुपमा ध्वस्त एउटा विद्यालयलाई भने ५७ लाख रुपैयाँ विद्यालय निर्माणका लागि दिइएको छ । अन्य विद्यालयहरुलाई आवश्यकता अनुसार बजेट निकासा भएको जिशिअ अर्यालले जानकारी दिए । भवन निर्माणको लागि आएको बजेटले अहिले प्रभावित क्षेत्रमा धमाधम काम भइरहेको उनले बताए । भवनको अवस्था, निर्माणको काम, गुणस्तरीयताको विषयमा अनुगमन भइरहेको छ । जिल्लाका पहाडी क्षेत्र तथा तराई भागमा समेत भवन निर्माण कार्य जारी रहेको छ । जिल्ला शिक्षा कार्यालयमार्फत भवन निर्माणका लागि बजेट गएको स्थानमा निजी क्षेत्र तथा सहयोगी संस्थाहरुले पनि भवनका केही कोठा निर्माण गर्ने भन्दै काम भइरहेको जनाएको छ । पहाडी गाविस लोथर, काउले, दारेचोक, चण्डिभञ्याङ लगायत पश्चिम चितवनको मंगलपुर क्षेत्रका विद्यालयहरुमा समेत भूकम्पले विद्यालय भवनमा क्षति पु¥याएको थियो । ती स्थानमा अहिले विद्यार्थीलाई अध्ययनको लागि अस्थायी रुपमा अध्ययन गर्ने स्थान निर्माण गरिएको छ । क्षति भएको स्थानमा भवन निर्माणको काम भइरहेको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।