समाचार

भरतपुर अस्पतालमा जेनेरेटर जडान हटलाइन जाँदा पनि समस्या नहुने

नारायणगढ, १० असार । चितवनको भरतपुर अस्पतालमा २५० केभीएको जेनेरेटर जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरणमार्फत हटलाइन सञ्चालन हँुदै आएको भरतपुर अस्पतालमा कारणबस हटलाइन बन्द हुँदा उपचारमा निकै समस्या हुँदै आएको अवस्थाको अन्त्य भएको अस्पतालले जनाएको छ । २५ लाख ९० हजारको लागतमा ५ सय लिटर डिजल स्टक राख्न सक्ने क्षमता भएको जेनेरेटर जडान गरिएको हो । काठमाण्डौंको एमएडब्लु इन्जिनियरिङ प्रालिले टेण्डरमार्फत जेनेरेटर आपूर्ति गरेको हो । “यो जेनेरेटरले प्रतिघण्टा ४० लिटर तेल खान्छ,” भरतपुर अस्पतालको मर्मत सम्भार शाखाका प्रमुख पुरुषोत्तम ढेवाजुले भने, “२३० भोल्ट क्षमताको जेनेरेटर भएपछि अस्पतालमा अब हटलाइन कारणबस गएपनि उपचारमा कुनै पनि समस्या हुँदैन ।” दुई बर्षसम्म जेनेरेटरमा कुनै समस्या आएमा आपूर्ति गर्ने कम्पनीले नै निःशुल्क रुपमा मर्मत सम्भार गर्नेछ । हटलाइन जाँदा स्वचालित रूपमा जेनेरेटर स्टार्ट हुने व्यवस्था गरिएको छ । यसअघि अप्रेशन थिएटर, आइसीयूलगायतका सिमित स्थानमामात्रै जेनेटर लाइनको व्यवस्था गरिएको थियो । अस्पतालमा हटलाइनसँगै सिटीलाइन पनि जडान गर्ने तयारी भैरहेको छ । हटलाइनको शुल्क गतवर्ष प्राधिकरणले बढाएपछि अस्पतालले साधारण समयमा सिटीलाइन जोड्ने तयारी थालेको हो । “भरतपुर अस्पतालमा २५० केभीएको जेनेरटर जोडेपछि अस्पतालमा नयाँ उपकरण र सेवा, सुविधा थप गर्न र बिस्तार गर्न पनि सहज हुन्छ” अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. रूदप्रसाद मरासिनीले भने, “उपकरणहरू पनि सुरक्षित रहन यसले सहयोग गर्नेछ ।” कारणवश हटलाइन जाँदा प्रयोगशाला र एक्सरे लगायतका सेवा प्रवाहमा समस्या हुँदै आएको थियो । अब भने त्यो समस्या सदाका लागि अन्त्य भएको र यसले अस्पतालको आम्दानीमा समेत वृद्धि गर्ने मेसु मरासिनीको भनाई छ । भरतपुर अस्पतालका अध्यक्ष विजय सुवेदीले अस्पतालमा नयाँ जेनेरेटर जडान गरैसँगै अस्पतालको आधारभूत आवश्यकता पूरा भएको बताए ।