समाचार
चण्डीभञ्ज्याङ, १० असार । चितवनको चण्डीभञ्ज्याङ गाविस ९, याक्राङमा रहेको गुरुङ गाउँमा होमस्टे सञ्चालनको प्रयास सुरु भएको छ ।
याक्राङ र जलबिरेमा होमस्टे सञ्चालनको सम्भावना खोजी गर्न मैयाँदेवी ट्रष्ट नेपालले चण्डीभञ्ज्याङमा बिहीबारदेखि घरबास व्यवस्थापन तथा आतिथ्यता सम्बन्धी तीनदिने तालिमको आयोजना गरेको छ । चितवन पर्यटन विकास समितिको समन्वय, नेपाल पर्यटन बोर्डको विशेष सहयोग र लामो झरना पर्यटन विकास समितिको स्थानीय सहयोगमा तालिम आयोजना गरिएको हो ।
मैयाँदेवी ट्रष्टका महासचिव टंकनाथ पौडेलको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा पर्यटन पत्रकार मञ्चका अध्यक्ष सूर्यप्रकाश कँडेल, चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदी, लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देव गुरुङ, चण्डेश्वरी निमाविका प्रधानाध्यापक भविश्वर गुरुङ, मैयाँदेवी ट्रष्टका कार्यसमिति सदस्य देवेन्द्र गुरुङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
तालिमका प्रशिक्षकमा चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदी र सचिव सुदिप भट्ट रहेका छन् । तालिममा याक्राङ र जलबिरेका गरी ४५ जना सहभागी छन् । जलबिरेस्थित पर्यटकीय क्षेत्र लामो झरनाको शिरमा रहेको याक्राङ गाउँमा ४० घर गुरुङको बसोबास छ ।