समाचार

अनुमति नलिइकन सिसिक्यामेरा जडान

आनन्द पोखरेल
चितवन, २६ पुस । सुरक्षाको कारण देखाउँदै चितवन जिल्लाका विभिन्न क्षेत्रमा जडान गरिएका सबै सिसिक्यामेरा अनुमति नलिइकनै जडान भएको पाइएको छ ।
सिसिक्यामेरा जडान गर्दा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर जडान गर्नुपर्ने भएपनि कुनै पनि व्यक्ति तथा संघसंस्थाले स्थानीय प्रशासनबाट सिसिक्यामरा जडानका लागि अनुमति लिएका छैनन् । सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७२ जारी भएपछि अनिवार्य रुपमा सिसिक्यामेरा जडान गर्नको लागि स्थानीय प्रशासन वा गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।
सूचनाको हक सम्बन्धी काम गर्दै आएका शर्मिला पण्डित लगायतले चितवनमा जडान गरिएका सिसिक्यामेराबारे सूचना माग गरेपछि स्थानीय प्रशासनले चितवनमा सिसिक्यामेरा जडान गरेका व्यक्ति तथा संघसंस्थाले हालसम्म अनुमति नलिएको जानकारी दिएको हो । सिसिक्यामेरा जडानको लागि स्वीकृति पाउँ भनी पुसको २४ गतेसम्म जिल्ला प्रशासन कार्यालय चितवनमा कुनै पनि व्यक्ति तथा संस्थाले निवेदन नदिएको सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीले जानकारी दिए ।
वर्तमान अवस्थामा धेरै स्थानमा सिसिक्यामेरा प्रयोग भइरहेकोले उक्त कार्यलाई व्यवस्थित गर्न भन्दै २०७२ साल कात्तिक २५ गतेको मन्त्रीस्तरको निर्णयबाट सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७२ स्वीकृत भएको थियो । उक्त कार्यविधि स्वीकृत भएकै दिनदेखि लागू हुने समेत कार्यविधिमा उल्लेख गरिएको छ ।
अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा विद्युतीय उपकरणको प्रयोगलाई प्रभावकारी गराउन, सिसिटिभीको प्रयोगलाई प्रोत्साहन र व्यवस्थित गर्नु कार्यविधिको मुख्य उद्देश्य रहेको छ । सिसिक्यामेरालाई सार्वजनिक क्षेत्र, व्यापारिक क्षेत्र र निजी प्रयोगका लागि भनेर तीन तहमा वर्गीकरण गरिएको छ ।
सार्वजनिक स्थानको सुरक्षा व्यवस्था मजबुत बनाउन, अपराध न्यूनीकरण गर्न, अनुसन्धानमा सहयोग गर्न, ट्राफिक व्यवस्थापनमा सहयोग गर्न, सडक नियम उल्लंघन गर्नेलाई निरुत्साहित गर्नका लागि प्रयोग गरिने सिसिक्यामेरालाई सार्वजनिक क्षेत्रका लागि प्रयोग हुने सिसिक्यामेरामा राखिएको छ । बैंक, वित्तीय संस्था, सपिङ मल, होटल, मूल्यवान वस्तु तथा गरगहना व्यवसाय हुने स्थानहरुको सुरक्षार्थ सम्बन्धित व्यापारिक संघसंस्थाहरुबाट जडान गरिने सिसिक्यामेरालाई व्यापारिक प्रयोजनका लागि प्रयोग हुने सिसिक्यामेरामा वर्गीकरण गरिएको छ ।
कुनै पनि व्यक्तिले आफ्नो निजी सम्पत्तिको सुरक्षाको लागि निजी परिसरमा जडान गर्ने सिसिटिभीलाई निजी प्रयोजनको लागि भनेर वर्गीकरण गरिएको छ । सिसिक्यामेराको व्यवस्थापनका सम्बन्धमा सार्वजनिक स्थानमा जडान गरिने सिसिक्यामेराको लागि गृह मन्त्रालयसँग अग्रिम सहमति लिएरमात्र जडान तथा सञ्चालन गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
व्यापारिक र निजी प्रयोजनका लागि जडान गरिने सिसिक्यामेराका सम्बन्धमा व्यापारिक÷निजी सुरक्षा प्रयोजनको लागि सिसिटिभी जडान गर्न जिल्ला प्रशासन कार्यालयमा प्रयोजन खुलाई अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । सिसिक्यामेराले खिचेका दृश्यहरु गोप्य राख्नुपर्ने, शौचालय, चेन्जिङ रुम, होटलको बेडरुमजस्ता संवेदनशील क्षेत्रमा क्यामेरा जडान गर्न नपाइने, सिसिक्यामेरा राखिएको ठाउँमा सिसिक्यामेराको जानकारी दिनुपर्ने तथा उक्त दृश्यहरु तीन महिनासम्म सुरक्षित राख्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
चितवनमा जिल्ला प्रहरीलगायत, राजमार्ग, चितवन राष्ट्रिय निकुञ्ज, बैंक तथा वित्तीय संस्था र व्यक्तिहरुले समेत सिसिक्यामेरा जडान गरेका छन् । यसरी चितवनमा कति सिसिक्यामेरा जडान भएका छन् भन्ने तथ्यांक समेत जिल्ला प्रशासन कार्यालय चितवनमा छैन । कार्यविधि विपरीत सिसिक्यामेरा जडान एवम् सञ्चालन भए विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कारबाही हुने कार्यविधिमा उल्लेख छ ।