समाचार

भरतपुरको आगामी बजेट नब्बे करोड

भरतपुर, २७ पुस । भरतपुर उपमहानगरपालिकाको मंगलबार सम्पन्न तेस्रो नगर परिषदमा आर्थिक वर्ष २०७४÷७५ को लागि करिब नब्बे करोड रुपैयाँको आय व्यय विवरण (बजेट) प्रस्तुत गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालबाट उद्घाटित परिषद्मा भरतपुरका कार्यकारी अधिकृत महेश बरालले ८९ करोड ५० लाख ९९ हजार रुपैयाँको अनुमानित आय व्यय विवरण प्रस्तुत गरेका हुन् । यो बजेट चालु आर्थिक वर्षको भन्दा ४० प्रतिशतले बढी छ । आगामी आर्थिक वर्षका लागि आन्तरिक स्रोतबाट आय २७ करोड ३६ लाख ३९ हजार रुपैयाँ रहेको छ ।
सरकारबाट पुँजीगत आम्दानी ११ करोड २४ लाख ५९ हजार र चालु आम्दानी दुई करोड १७ लाख ४६ हजार अनुमान गरिएको छ । सामाजिक सुरक्षातर्फ सरकारबाट २६ करोड एक लाख रुपैयाँ आम्दानी हुने उल्लेख छ । चालु खर्च १५ करोड ९९ लाख रुपैयाँ छुट्याइएको बजेटमा ठूला पूर्वाधार आयोजनामा तीन करोड ८९ लाख ३० हजार रुपैयाँ खर्च गरिने उल्लेख छ ।
नगर परिषद् समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उपमहानगरबाट महानगरपालिका बन्न लागेको भरतपुरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आफूले पहल थाल्ने आश्वासन दिए । उनले क्यान्सर अस्पतालको समस्या स्वास्थ्य मन्त्रालयमार्फत समाधानको प्रयास सुरु भइसकेको जानकारी दिँदै मेसिन, उपकरणभन्दा पनि पदाधिकारी र कर्मचारीले अव्यवस्था निम्तिएको धारणा राखे । कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीचको विवाद दुई साताभित्रै टुंग्याइने प्रधानमन्त्री दाहालले दाबी गरे ।
आँपटारीस्थित दियालो बंगलालाई राज्यको हितमा राज्यकै संयन्त्रबाट सदुपयोग गरिने बताउँदै उनले कुनै कम्पनीलाई ऐतिहासिक महत्वका जग्गा भाडामा लगाउने काम नेपाल ट्रस्टबाट भएकोले यसलाई तुरुन्तै सच्याइने बताए । ‘दियालो बंगला ऐतिहासिक स्थल हो’ उनले भने, ‘यसको सदुपयोग राज्यको हितमा हुनुपर्छ । पारदर्शी ढंगले काम नभई कुनै कम्पनीलाई दिनु उचित छैन ।’ यस विषयमा काठमाडौँ पुगेपछि आवश्यक कारबाही अगाडि बढाएर स्थानीय निकायबाटै त्यसको संचालन हुने व्यवस्था मिलाइने प्रधानमन्त्री दाहालले बताए ।
उनले पृथ्वीनारायण शाहले नेपाल एकीकरणको ऐतिहासिक अभिभारा पूरा गरेकोले उनको योगदानलाई कसैले पनि नकार्न नमिल्ने विचार व्यक्त गरे । ‘एकीकृत नेपाल निर्माणका लागि पृथ्वीनारायण शाहले गरेको काम प्रगतिशील नै थियो’ प्रधानमन्त्री दाहालले भने, ‘नेपाललाई एकीकृत राज्य बनाउनु इतिहासको आवश्यकता बनेको थियो । त्यतिबेला त्यो काम पृथ्वीनारायणले नगरे अरु कसैले गर्ने थियो ।’
तत्कालीन समयमा भारतमा अङ्ग्रेज साम्राज्यले स–साना भूरे टाकुरे राज्यलाई विशाल साम्राज्य खडा गरिरहेको समयमा नेपालमा शक्तिशाली राज्य नभएको भए यसको अस्तित्व इतिहासबाट लोप हुने खतरा भइरहेका बेला पृथ्वीनारायण शाहले केन्द्रीकृत राज्य बनाउन नेतृत्वदायी भूमिका खेलेको प्रधानमन्त्री दाहालको भनाई थियो । अहिले पृथ्वीनारायण शाहको जन्मदिनमा बिदा दिने कि नदिने भन्ने विषयमा नेपालमा बहस रहेको प्रधानमन्त्री दाहालले बताए ।
मधेसमा अरू आदिवासी जनजातिको कुरा या अलग समुदायमा पृथ्वीनारायण शाहको भूमिकालाई कसरी हेर्ने भन्ने बहसलाई राजनीतिक रुपले टुङ्गो लगाएरमात्र निक्र्योल गर्नुपर्ने उनले बताए । मन्त्रिपरिषद्को बैठकमा दुईपटकसम्म यस विषयमा छलफल भएको भन्दै उनले भने, ‘मैले राजनैतिक तहमा यो विषयमा छलफल गरेर एउटा समुचित निष्कर्ष निकाल्ने कुरामा पहल गर्नेछु ।’
विगतमा पृथ्वीनारायण शाहको सालिक ढाल्ने काम आफ्ना कार्यकर्ताबाट भएको प्रसंग कोट्याउँदै प्रधानमन्त्री दाहालले उक्त कदम गलत थियो भनेर आफूले त्यतिबेलै त्यस्तो हुन नदिएको दाबी गरे । उनले पृथ्वी जयन्तीमा राष्ट्रिय बिदा दिने विषयमा राजनीतिक तहमा छलफल गरेर टुंगोमा पुगिने बताए । ‘तत्कालै मैले भनेर हुँदैन’ उनले भने, ‘यस विषयमा राजनीतिक तहमा छलफल आवश्यक छ ।’
कार्यक्रममा सांसदहरु रामकृष्ण घिमिरे, कृष्णभक्त पोखरेल, गीता वाग्ले, स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम, वरिष्ठ इञ्जीनीयर भरतकुमार आचार्य, राजनीतिक दलका नेताहरु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरेका १५ जनालाई सम्मान गरिएको थियो ।