Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार पुरातात्विक संरचनाहरुको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन

समाचार

पुरातात्विक संरचनाहरुको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन

नारायणगढ, २८ पुस । नेपालमा रहेका पुरातात्विक संरचनाहरुको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा सबै लाग्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
नारायणगढको नारायणी नदी किनारमा आयोजित ११ औँ चितवन महोत्सवको अवसरमा बुधबार आयोजीत संघीय संरचनापछि पर्यटन विकासमा चितवन विषयक कार्यशाला गोष्ठीमा मन्तव्य राख्दै सरोकारवालाहरुले पर्यटकीय महत्व बोकेका धरोहरहरुलाई संरक्षण गर्नुपर्ने सबैको दायित्व भएको बताएका हुन् ।
महोत्सवका सदस्य सचिव एवम् उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले दियालो बंगलासहितका पुराना धरोहर संरक्षण गर्न चितवनबासी एक हुनुपर्ने बताए । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पर्यटन व्यवसायले गुणस्तरीय जीवन यापनमा सहयोग पु¥याउने र नयाँ व्यवसायमा व्यक्तिलाई आकर्षित गर्ने बताए ।
नेपालको छिमेकमा भारत र चीनजस्ता ठूला देशहरु भएकाले त्यहाँका मध्यम वर्गीय परिवारका व्यक्तिलाई मात्र नेपाल भित्र्याउन सकियो भने पनि नेपालको पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने प्रजिअ भट्टको भनाई थियो । नेपालको केन्द्रबिन्दुको रुपमा चितवन रहनुका साथै चितवनमा विविधता भएकाले चितवनलाई पर्यटकीय गन्तव्य बनाउन सकिने भट्टले बताए ।
चितवनमा अध्ययन र अनुसन्धानको लागि समेत विदेशका विभिन्न विश्वविद्यालयबाट अनुसन्धानकर्ताहरु ल्याउन सकिने बताउँदै प्रमुख जिल्ला अधिकारी भट्टले चितवनको पर्यटन व्यवसायलाई सबै ठाउँमा जोड्न लाग्नुपर्ने बताए । कार्यशाला गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै स्रोत व्यक्ति तथा चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदीले पर्यटन व्यवसायसँग सम्बन्धित पर्यटन नीति परिवर्तन हुनपर्ने बताए ।
पर्यटन क्षेत्रमा दक्ष जनशक्ति नभएको, सूचना प्रविधिमार्फत यहाँको पर्यटकीय क्षेत्रको बारेमा विश्वसामु प्रचार प्रसार गर्नुपर्नेमा सुवेदीले जोड दिए । कार्यक्रममा चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलिप मैनालीले मन्तव्य राख्दै चितवनको पर्यटकीय क्षेत्र सिराईचुलीदेखि सौराहासम्म र देवघाटदेखि गोलाघाटसम्म फैलिएकोले यसको प्रवद्र्धनमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा जिल्ला विकास समिति चितवनका शाखा अधिकृत प्रकाशचन्द्र पौडेल, मध्यनेपाल पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङ, देवघाटधाम संरक्षण प्रतिष्ठानका अध्यक्ष राजेन्द्रकुमार पिया, देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष शैलेन्द्रकुमार पिया, नेचर गाईड एसोसिएसन चितवनका अध्यक्ष उदयचन्द्र अर्याल, मेघौली पर्यटन विकास समितिका अध्यक्ष कृष्णप्रसाद भुर्तेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम चितवन महोत्सवको गोष्ठी तथा सेमिनार संयोजक राजेन्द्रप्रसाद ओलीको अध्यक्षतामा आयोजना गरिएको थियो ।
महोत्सवको चौथो दिन बिहीबार व्यावसायिक कृषिका लागि आधुनिकीकरण विषयक कार्यशाला गोष्ठी उद्योग वाणिज्य संघ चितवनको सभाहलमा हुने गोष्ठी तथा सेमिनार समितिका सदस्य सचिव एवम् उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत दिपकराज विष्टले जानकारी दिए ।