Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार एथलेटिक्समा कंकालीको बर्चस्व

समाचार

एथलेटिक्समा कंकालीको बर्चस्व

चितवन, २८ पुस । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत क्षेत्र नम्बर दुईको खेलहरु बुधबारदेखि पदमपुरस्थित भीमोदय माध्यमिक विद्यालयमा सुरु भएका छन्  ।
पहिलो दिन भएको एथलेटिक्समा कंकाली माविले बर्चस्व जमाएको छ ।  बुधबार विभिन्न दुरीको दौड हुनुका साथै  भलिबल र कबड्डीको पहिलो चरणको खेल भएका छन्  । छात्र पन्ध्र सय मिटर दौडमा नेपाल माध्यमिक विद्यालयका इजरायल आलम प्रथम, भीमोदय माविका अनिष पाख्रिन द्वितीय र कंकाली माविका चुनचुन सहनी तेश्रो भएको प्रतियोगिताका संयोजक एवं आयोजक जिल्ला खेलकुद विकास समिति चितवनका कोषाध्यक्ष केशव आचार्यले जानकारी दिए । 
छात्रा पन्ध्र सय मिटर दौडमा कंकाली माविकी पुजा चौधरी, कंकाली माविकै जुना चौधरी र भीमोदय माविकी अनिषा परियार क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।  छात्र सटपुटमा भीमोदय माविका नविन गुरुङले प्रथम स्थान हासिल गर्दा पृथ्वी माविका केहरसिंह गुरुङ द्वितीय र जनजागृति माविका सुवास महत तेश्रो भएका छन् ।  छात्रातर्फको सटपुटमा कंकाली माविकी विनिता गान्धारी प्रथम, भीमोदय माविकी स्मृति मल्ल द्वितीय र कंकाली माविकी अर्चना चौधरी तृतीय भइन् ।
कालिका नगरपालिकाका कार्यकारी अधिकृत पुष्पराज खनालको प्रमुख आतिथ्यता तथा जिल्ला खेलकुद विकास समिति चितवनका कोषाध्यक्ष केशव आचार्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा भीमोदय माविका व्यवस्थापन समिति अध्यक्ष अमृत श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका सचिव रामजी ढकाल, विद्यालयका सहप्रधानाध्यापक विष्णुप्रसाद अधिकारी लगायतले मन्तव्य राखेका थिए  । 
बिहीबारसम्म चल्ने प्रतियोगितामा चितवन क्षेत्र नम्बर दुईका १५ वटा विद्यालयको सहभागिता रहेको छ । क्षेत्रीयस्तरका प्रतियोगितबाट प्रथम, द्वितीय भएका टिम तथा खेलाडीहरुले जिल्लास्तरको प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामाका अनुसार, जिल्लास्तरमा भएको प्रतियोगितामा टिम प्रथम हुनेले नगद ७५ हजार र द्वितीय हुनेले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसअघि क्षेत्र नम्बर एकको खेल सम्पन्न भइसकेका छन्  ।