Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार गणित पढ्न डराउँछन् विद्यार्थी

समाचार

गणित पढ्न डराउँछन् विद्यार्थी

चितवन, २९ पुस । विद्यालयमा पढ्ने अधिकांश विद्यार्थी गणित विषय पढ्नको लागि डराउने गरेको पाइएको छ ।
गणित विषय सिधा रुपमा व्यवहारिक नभएको तथा पढाउने शैली उचित नभएको कारणले विद्यार्थीहरु गणित पढ्न गाह्रो मान्ने गरेको वीरेन्द्र बहुमुखी क्याम्पसका गणित विषयका विभागीय प्रमुख दयाराम पौडेलले बताए । उनका अनुसार, विद्यार्थीले गणित विषयको बारेमा बुझ्नु अघि नै उसको दिमागमा यो अप्ठ्यारो विषय हो भन्ने मानसिकता बसिसकेको हुन्छ । जसले गर्दा पनि अधिकांश विद्यार्थी गणित विषयको परीक्षामा फेल हुने गर्दछन् ।
‘गणित विषय सिधा रुपमा व्यवहारमा प्रयोग नहुने भएकाले विद्यार्थीहरुले यसलाई व्यवहारिक मान्दैनन्’ उनले भने, ‘गणित पढाउने पद्धति नै उचित छैन । पढ्ने, घोक्ने र जाँचमा लेख्ने र नम्बर ल्याउने प्रवृत्ति छ । यसले पनि विद्यार्थीहरुलाई गणित पढ्न गाह्रो भइरहेको छ ।’
गणित विषयलाई प्रयोगात्मक बनाउन सके विद्यार्थीहरुले छिटो गणित बुझ्ने उनको भनाई छ । यसको लागि व्यावहारिक कुरा तथा अन्य विषयसँग गणितको सम्बन्धलाई बुझाउन सके विद्यार्थीको लागि गणित विषय सजिलो हुने उनले बताए ।
गणित विषय आफैँमा गाह्रो विषय पनि भएको र यसलाई विद्यार्थीहरुको कमजोर मानसिकताले अझ गाह्रो बनाइदिएको नेपाल म्याथम्याटिक्स सोसाइटीका सभापति टंकनाथ धमलाले बताए । गणित विषयलाई प्रयोगात्मक रुपमा बुझाउन सकिए विद्यार्थीले यसलाई गाह्रो नमान्ने उनको भनाई छ । गणित विषयलाई सरलीकरण गर्नको लागि आफूहरुले प्रयास गरिरहेको धमलाले बताए ।
नेपाल म्याथम्याटिक्स सोसाइटीले गणित विषयलाई सरलीकरण गर्ने उद्देश्यका साथ विभिन्न अनुसन्धान गर्दै आइरहेको उनले बताए । गणित र यसको प्रयोगबारे बुधबारबाट भरतपुरमा तीनदिने राष्ट्रिय सेमिनार भएको छ । सेमिनारमा विभिन्न सिनियर गणित शिक्षकहरुले गणित विषयलाई सरलीकरण गर्नको लागि आफूहरुले गरेको खोजको बारेमा प्रस्तुतिकरण गरेका छन् । सेमिनारमा ४० जिल्लाका १४० गणित विषयका शिक्षकहरुको सहभागिता रहेको छ ।
सेमिनारमा प्राध्यापक डाक्टर केदारनाथ उप्रेती, प्राध्यापक डाक्टर कन्हैया झा, प्राध्यापक डाक्टर राजनारायण यादव, प्राध्यापक डाक्टर चिन्तामणि पोखरेल, प्राध्यापक डाक्टर भद्रमान तुलाधर, प्राध्यापक डाक्टर नारायणप्रसाद पहारी, प्राध्यापक डाक्टर दिलबहादुर गुरुङ, प्राध्यापक दयाराम पौडेल, प्राध्यापक राममणि श्रेष्ठ लगायतले गणितका नयाँ उपलब्धिबारे प्रस्तुतिकरण गरेको सप्तगण्डकी बहुमुखी क्याम्पसका गणित विषयका शिक्षक मणिराज महतोले जानकारी दिए ।