Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार लगत संकलन कार्यमा खटाउन तालिम

समाचार

लगत संकलन कार्यमा खटाउन तालिम

भरतपुर, २९ पुस । जिल्ला लगत संकलन व्यवस्थापन कार्यालयले भूकम्प प्रभावित आवास पुनःनिर्माण लगत संकलन कार्यलाई गति दिने लक्ष्यसहित सामाजिक परिचालकहरुलाई दुईदिने तालिम सुरु गरेको छ ।
नारायणगढमा सुरु भएको तालिमको स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले उद्घाटन गरे । पहिलो चरणको तालिममा पहाडी गाविस र माडीबाट छनौट भएका २२ जना सामाजिक परिचालकलाई तालिम दिइएको छ । तालिममा सर्वेक्षण निर्देशिकाबारे जानकारी, लगत उतार फाराम भर्ने विधि र प्रमाणित पत्र तयार गर्दा ख्याल गर्नुपर्ने विषयमा सहजीकरण गरिनेछ ।
स्थानीय विकास अधिकारी पोखरेलले आवास पुनःनिर्माण लगत संकलन कार्यमा सक्रिय भएर लाग्न सामाजिक परिचालकलाई अनुरोध गरे । उनले गाउँमा घुलमिल भएका, भौगोलिक अवस्था बुझेका र घटनाबारे स्वयं जानकार भएकाले लगत संकलनमा परिचालन गर्न खोजिएको बताए ।
लगत संकलनको कार्र्य तथ्याङ्क कार्यालय भरतपुरको अगुवाईमा हुँदैछ । तथ्याङ्क कार्यालय भरतपुरका प्रमुख जीवनाथ आचार्यले माघ एक गतेदेखि नै लगत संकलन गर्न टोली खटिने बताए । उनका अनुसार, एक सय चार जना प्राविधिकसहितका सामाजिक परिचालक खट्ने छन् ।
चितवनमा १८ हजार सात सय ५२ घरधुरी भूकम्पपीडितको सूचीमा छन् । सूचीमा परेका घरहरु वास्तविक पीडित भए नभएको हेर्ने र अनुदानका लागि सिफारिस गर्न टोली खट्न लागेको हो । पहिलो चरणको तालिम शुक्रबार सकिनेछ । दोस्रो चरणको तालिम एक हप्ताभित्र पुरा हुने आचार्यले बताए ।
जिल्ला लगत संकलन व्यवस्थापन कार्यालय प्रमुख आचार्य, सुरपरिवेक्षक चन्द्रकान्त बस्नेत, प्रकोप सम्पर्क व्यक्ति बलराम लुइँटेलले तालिममा सहजीकरण गर्नेछन् ।