देवघाटधाम, २९ पुस । पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघेसंक्रान्ति मेलाको तयारी पूरा भएको छ ।
देवघाट क्षेत्र विकास समितिले बिहीबार वेणी संगममा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तयारी पूरा भएको जनाएको हो । मकर संक्रान्तिका दिन त्रिशुली र कालीगण्डकीको संगम वेणीमा स्नान गर्न हरेक वर्ष माघेसंक्रान्तिका दिन लाखौं भक्तजन आउने गर्दछन् ।
देवघाटमा भक्तजनको भीड हुने भएकोले झोलुङे पुलमा एक पटकमा एक सय जनालाई आवतजावत गर्न वातावरण मिलाइएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष एवं माघेसंक्रान्ति मेला व्यवस्थापन मूल समितिका संयोजक टंकनाथ पौडेलले जानकारी दिए ।
वेणी संगममा अस्थायी स्नान कक्ष बनाइएको संयोजक पौडेलले बताए । बास बस्नका लागि टेन्ट र रातभरी धुनीको ब्यवस्था गरिएको समितिले जनाएको छ । सुरक्षा ब्यवस्थाका लागि चितवन र तनुहँ जिल्लाका प्रहरी नायब उपरीक्षकको कमान्डमा प्रहरी खटाइने बताइएको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले देवघाटमा आउने भक्तजनका लागि सहज वातावरण बनाउने बताए । उनले देवघाटमा मांस तथा मदिरा निषेधित क्षेत्र बनाउन आवश्यक पहल गर्ने बताए । तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीले शान्ति सुरक्षा ब्यवस्थामा आफू गम्भीर रहेको बताए ।
यसैबीच, देवघाटमा मकर स्नान गर्न दर्शनार्थीहरु आउने क्रम सुरु भएको छ । देवघाटमा दर्शन गर्न नेपालका विभिन्न जिल्ला तथा छिमेकी देश भारतबाट समेत दर्शनार्थी आउने देवघाट क्षेत्र विकास समितिले जनाएको छ । देवघाटमा हुने मेलालाई ब्यवस्थापन गर्न जिल्ला ट्राफिक कार्यलय चितवनले शुक्रबार दिउँसो दुई बजेदेखि माघ एक गते तीन बजेसम्म एकतर्फी सवारी आवागमन गराउने ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।