समाचार

फुटबलमा भरतपुर र रामपुर विजयी

चितवन, २९ पुस । गणेशबहादुर स्मृति जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न दुई खेलमा भरतपुर र रामपुर विजयी भएका छन् ।
पहिलो खेलमा भरतपुर फुटबल क्लब जुनियर विजयी भएको छ । गोन्द्राड्ड व्वाइजविरुद्ध खेलेको भरतपुर २–१ गोल गर्दै विजयी भएको हो । पहिलो हाफको २५ औं मिनटमा सुरज घलेले एक गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो हाफको २५ औं मिनटमा पुनः सुरज घलेले एक गोल थपेर आफ्नो टिमलाई बलियो बनाए । २९ औं मिनटमा गोन्द्राड्ड व्वाइजका विशाल गुरुङले एक गोल गर्न सफल रहे । खेलको म्यान अफ दि म्याच सुरज घले भएका छन् ।
रामपुर फुटबल क्लब र कालिका नगरपालिका मिलीजुली युवा क्लबबीच भएको दोस्रो खेलमा रामपुर विजयी भएको छ । दोस्रोे हाफको सातौं मिनटमा रामपुरका श्यामलाल महतोले गरेको एक गोल नै टिमलाई विजयी गराउने निर्णायक गोल बन्यो । खेलको म्यान अफ दि म्याच श्यामलाल महतो भएका छन् ।
प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो खेल एभरेष्ट फुटबल क्लब र आँंपटारी फुटबल क्लबबीच हुँदैछ । दोस्रो खेल सूर्यनगर फुटबल क्लब र भरतपुर फुटबल क्लब सिनियरबीच हुने यूनिक क्लबका अध्यक्ष दिपक गुरुङले जानकारी दिए ।