समाचार

क्याम्पाचौरमा सुरु भयो फुड फेस्टिबल

नारायणगढ, २९ पुस । चितवनको गौरव र गरिमामय प्रस्तुति चितवन महोत्सव अन्तर्गतको फुड फेस्टिबल बिहीबारदेखि नारायणगढको क्याम्पाचौरमा सुरु भएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले फुड फेस्टिबलको उद्घाटन गरेका हुन् । प्रजिअ भट्टले हाम्रा मौलिकता झल्कने खानाहरुको संवद्र्धन तथा प्रवद्र्धन गर्न फेष्टिबलले विशेष भूमिका खेल्ने बताए । हरेक खानेकुराहरुको उत्पत्ति त्यसै नभएको र हरेक खानाका परिकारको आफ्नै विशेषता रहेको भन्दै उनले फेस्टिबलमा खानाको मौलिकता झल्कने गरी स्टलहरुले परिकार समावेश गर्नुपर्ने बताए ।
प्रजिअ भट्टले गुणस्तरीय खानेकुरा मात्रै बिक्री गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । क्षणिक स्वादका लागि स्वास्थ्यमा हानि पुग्ने बस्तुहरु मिसाएर खाद्य सामग्री तयार गर्दा त्यसले दीर्घ रोग निम्त्याउने भन्दै उनले जनमानसको स्वास्थ्यलाई ख्यालमा राख्न सुझाव दिएका छन् ।
माघ दुई गतेसम्म सञ्चालन हुने फुड फेस्टिबलमा खानाका विभिन्न परिकार रहेका ५० वटा स्टल छन् । साँझ ६ बजेपछि सञ्चालन हुने फेस्टिबलमा सांस्कृतिक कार्यक्रम समेत हुने फुड फेस्टिबल व्यवस्थापन समितिका संयोजक शंकर नेपालले बताए ।