समाचार
भलिबलमा पृथ्वी मावि हाबी
चितवन, २९ पुस । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत क्षेत्र नम्बर दुईका खेलहरु बिहीबार सकिएका छन् ।
भलिबलमा छात्र र छात्रातर्फ पृथ्वी मावि प्रथम भएको छ । भीमोदय मावि दुबै स्पर्धामा द्वितीय भएको छ । कबड्डीको छात्रतर्फ द्वारिकादास मावि प्रथम र भीमोदय मावि द्वितीय भए । छात्रातर्फ पञ्चकन्या मावि प्रथम र जनजीवन मावि द्वितीय भएका छन् ।
बुधबार एथलेटिक्स अन्तर्गत दौडका विभिन्न दुरीका खेलमा कंकाली माविले बर्चश्व जमाउँदै जिल्लास्तरको प्रतिस्पर्धामा छनोट भएको छ । प्रतियोगिताका विजयी विद्यालय र खेलाडीहरुलाई क्षेत्रीय खेल समापनका अवसरमा प्रमाणपत्र वितरण गरिएको थियो ।
भीमोदय मावि व्यवस्थापन समितिका अध्यक्ष अमृत श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष केशव आचार्य र सचिव रामजी ढकालले प्रमाणपत्र वितरण गरे । अब क्षेत्र नम्बर तीनको खेल माघ ५ र ६ गते क्याम्पाचौरमा हुनेछ ।
क्षेत्रीय स्तरका प्रतिस्पर्धाबाट छनौट भएका खेलाडी तथा विद्यालयहरुले जिल्ला स्तरीय प्रतियोगितामा भाग लिन पाउने जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष आचार्यले जानकारी दिए । क्षेत्रीय स्तरका खेलपछि जिल्ला स्तरको प्रतियोगिता हुनेछ ।


