समाचार
माओवादी विद्यार्थीको कब्जामा छात्रावास
नारायणगढ, २९ पुस । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको छात्रावासमा माओवादी निकटका विद्यार्थीहरुले कब्जा गरेको भन्दै प्राध्यापकहरु आन्दोलित भएका छन् ।
छात्रावासमा बस्ने अधिकार सबै विद्यार्थीहरुको भएपनि लामो समयदेखि माओवादीनिकट विद्यार्थीहरुले एकलौटी पारेको भन्दै अन्य विद्यार्थी तथा प्राध्यापकहरुले सुशासनको माग गरेका छन् । ‘छात्रावास सबैको हो, यसलाई एउटा दलनिकट विद्यार्थीले मात्र प्रयोग गर्न पाइँदैन’ प्रगतिशील प्राध्यापक संगठन कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका अध्यक्ष बाबुराम खनालले भने ।
अन्य संगठनका विद्यार्थीलाई बस्न नदिने, पढाई सकिएको वर्षौं हँुदा समेत छात्रावास नछोड्ने, छात्रावासमा नै मदिरापान गर्नेजस्ता क्रियाकलाप गरेको प्राध्यापकहरुले बताएका छन् । छात्रावास साह्रै अव्यवस्थित भएपछि विश्वविद्यालयले यस विषयमा चासो नदिएको भन्दै पटकपटक चेतावनी दिँदा समेत नमानेको अध्यक्ष खनालले बताए ।
‘हामीले छात्रावासको व्यवस्थापन, प्रशासनिक सुधार लगायतको माग राखेर सचेत बनाउँदा बेवास्ता गरिएको छ । त्यसैले सुधारको लागि दबाव दिन प्रशासन कार्यालयमा ताला लगाएका छौँ’ उनले भने, ‘ताला लगाएको दुई महिना पुगिसकेको छ तर पनि यस विषयमा चासो दिइएको छैन ।’
प्रशासन स्रोतले जानकारी दिए अनुसार, छात्रावासमा सबै विद्यार्थीलाई बस्न सक्ने व्यवस्था गर्न आए आन्दोलन गर्ने भन्दै खाली सिसी राखिएको छ । माओवादीनिकट विद्यार्थीको नियन्त्रणमा रहेको छात्रावासमा वियर र रक्सीका खाली बोतल राखिएको छ । छात्रावासको झ्यालका पल्ला वालेर आगो तापेको, छात्रावासमै रक्सी पार्टी गर्ने गरेको, कोठा खाली भएपनि अन्य विद्यार्थीलाई प्रवेश गर्न नदिएकोजस्ता व्यवहार भएको छ ।
विश्वविद्यालयमा यस्ता घटना लामो समयसम्म भइरहँदा पनि बेवास्ता गरेको भन्दै माओवादी इतरका विद्यार्थी, प्राध्यापकहरुले प्रशासनलाई दबाव दिएका छन् । तर पनि प्रशासनले बेवास्ता गर्दा विश्वविद्यालयको अवस्था झन बिग्रँदै गएको छ । समस्या समाधानको लागि छलफल गरी राखेको विश्वविद्यालयका कृषि संकायका डीन जयप्रकाश दत्तले बताए ।
‘यस विषयमा हामीलाई जानकारी छ । टियुबाट एएफयुमा आएपछि समाधान गर्न समय लाग्छ’ उनले भने, ‘छात्रावासमा भएको समस्याका विषयमा हामीले नीतिमार्फत समाधान गर्नेछौं । एउटा संस्थाबाट अर्कोमा जाँदै गर्दा समस्याहरु आउने गर्दछ । यसलाई नियमावलीमार्फत समाधान गर्नेछौं ।’
‘छात्रावासमा एउटा दल निकटका विद्यार्थीहरुको मात्र कब्जा भएको भन्ने होइन’ उनले भने, ‘संख्या धेरै होला तर सबैको बसोबास रहेको छ । छात्रावासलाई सबै विद्यार्थीको अपनत्व हुने गरी व्यवस्था मिलाउन लागिएको छ ।’ यसै विषयमा छलफल जारी रहेकाले केही दिनभित्र समस्या समाधान गरिने उनले बताए ।
छात्रावास लगायत विश्वविद्यालयको प्रशासनिक समाधानको लागि दुई महिनादेखि लगाएको तालाबन्दी कायम रहेको उनले बताए । ‘तालाबन्दीको कारण काम गर्न कठिन भएको छ’ उनले भने, ‘यो विश्वविद्यालय सबैको हो । हामी सबैलाई मान्य हुने गरी समस्याको समाधान गर्दैछौं ।’
पछिल्लो केही समयदेखि कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विभिन्न राजनीतिक संगठनका विद्यार्थी तथा प्राध्यापकले आन्दोलन गरी माग राख्दा व्यवस्थित तरिकाले सञ्चालन हुन सकेको छैन ।


