Mon12112017

Last update01:57:25 AM

Back You are here: Home समाचार कालिका नगरपालिकामा भावी मेयरको चर्चा

समाचार

कालिका नगरपालिकामा भावी मेयरको चर्चा

शिशिर सिंखडा
खोलेसिमल, २९ चैत । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा पूर्वी चितवनको कालिका नगरपालिकामा चुनावी चहलपहल बढ्दै गएको छ ।
स्थानीय निर्वाचनको मिति बैशाख ३१ गतेलाई मध्यनजर गर्दै ठूला तीन दलहरु वडा भेला, बैठक, कमिटी गठन र छलफलमा जुटेका छन् । साविक जुटपानी, पदमपुर, शक्तिखोर र सिद्धि गा.वि.स. समेटी ११ वडा भएको यस नगरपालिकामा मेयर, उपमेयर र वडा अध्यक्ष तथा सदस्य बन्न नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का स्थानीय नेताहरु दौडधुपमा छन् ।
उनीहरु आफ्ना नेता तथा कार्यकर्तासंग भेटघाट र सम्बन्ध सुधार गर्न लागिपरेका छन् । माओवादी केन्द्रका नेताहरु भने आन्तरिक चुनावी रणनीतिमा लागे पनि बाहिरी वातावरणमा देखिएका छैनन् । हरेक चोक र चिया पसलमा कुन पार्टीका को मेयर, को उपमेयर बन्ने भन्ने चर्चा चल्ने गरेको छ ।
नगरमा मेयर, उपमेयर बन्ने आकांक्षीहरुको नाम नेपाली कांग्रेस नगर समितिले संकलन गरिसकेको छ । कांग्रेसका १२ जनाले मेयर पदको लागि इच्छा व्यक्त गरेको नेपाली कांग्रेस कालिका नगर सभापति राजु श्रेष्ठले जानकारी दिए ।
मेयरमा इच्छा व्यक्त गर्नेहरुमा कमल आचार्य, शिवराम के.सी., राजु श्रेष्ठ, लिलाबहादुर गुरुङ, सरोज गुरुङ, कृष्णकुमार श्रेष्ठ, काशीराम गिरी, इन्द्रप्रसाद अधिकारी, मिलन पाण्डे, शिव शर्मा पौडेल, महाश्रम शर्मा र अशोकराज वाग्ले रहेको श्रेष्ठले बताए ।
मेयरका आकांक्षीमध्येबाट सर्वसम्मतको प्रयास थालिएको र २९ गते मंगलबारसम्म सहमतिको आधारमा तीन जनाको नाम क्षेत्रीय समितिमा पठाउने प्रयास भइरहेको श्रेष्ठले बताए । १२ जना नै पार्टीका सक्षम कार्यकर्ता भएकाले पार्टीले अवसर दिए सबैले मेयर भएर काम गर्ने क्षमता राख्ने नगर सभापति श्रेष्ठले बताए ।
मेयरमा इच्छा व्यक्त गरेकामध्ये कमल आचार्यले आफू पार्टीको पुरानो कार्यकर्ता रहेकोले उम्मेदवारी पाउनुपर्ने दाबी गर्दै आएका छन् । पोल्ट्री व्यवसायी शिवराम के.सी.ले पनि मेयरको लागि आफू बलियो उम्मेदवार रहेको बताउँदै आएका छन् । उपमेयरमा भने कमला पौडेल, निरुजा श्रेष्ठ र खिलिमा चौधरीले इच्छा व्यक्त गरेका छन् ।
कालिका नगरपालिकाको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट मेयरमा ५ जनाको नाम चर्चामा रहेको छ । साविक शक्तिखोर गा.वि.स.का पूर्वअध्यक्ष गोपी श्रेष्ठ, साविक पदमपुर गा.वि.स.का पूर्वअध्यक्ष जयचन्द्रप्रसाद चौधरी, नेकपा एमालेका नगर प्रतिनिधि विनोद रेग्मी, नगर सचिवालय सदस्य केशव लामा र साविक पदमपुर गा.वि.स.का पूर्वउपाध्यक्ष टिकाराज रिजाल पनि मेयर पदका आकांक्षी देखिएका छन् ।
युवामाझ लोकप्रिय रेग्मी, पुराना नेताहरु श्रेष्ठ, चौधरी, लामा र रिजालमध्ये कसले उम्मेदवारी पाउने भन्नेबारे एमाले कार्यकर्तामाझ बहस चलेको छ । बैशाख २ गतेसम्म नगर कमिटीले उम्मेदवारको नाम छनौट गरी पठाउनुपर्ने भएकोले छलफलबाट सर्वसम्मतिको आधारमा नाम पठाउन पहल भइरहेको नेकपा एमाले कालिका नगर कमिटीका संयोजक भिष्मप्रसाद खनालले जानकारी दिए । उपमेयरमा विमला लामा, कमला भट्टराई, कविता लामिछाने र आशा वाईबाको नाम चर्चामा आएको छ ।
नेकपा माओवादी केन्द्रका तर्फबाट मेयर पदमा रामध्वज डल्लाकोटीको नाम चर्चामा रहेको छ । चर्चाकै क्रममा सुदर्शन अधिकारी र रामचन्द्र पौडेल पनि देखिएका छन् । डल्लाकोटीले इच्छा व्यक्त गरेमा अन्य उम्मेदवारले सर्वसम्मति व्यक्त गर्न सक्ने बताइएको छ । उपमेयरमा मञ्जु सिंखडा, दुर्गा रायमाझी, प्रमिता रिजाल, सरिता लामा र कविता न्यौपानेको चर्चा रहेको छ ।
स्थानीय तहको निर्वाचनको सन्दर्भमा माओवादी केन्द्र अहिले वडा भेला र कमिटी गठनमा व्यस्त रहेको माओवादी केन्द्रका कालिका नगर प्रतिनिधि रामध्वज डल्लाकोटीले बताए । बैशाख २ र ३ गते वडावडामा छलफल गरी उम्मेदवारको लागि नाम संकलन गरेपछि मात्र छनोट प्रक्रिया अगाडि बढ्ने भएकोले अहिले यसै भन्न नसकिने उनले बताए । पार्टीको निर्देशन अनुसार सबै नेता, कार्यकर्ता अगाडि बढ्ने भएकोले सर्वसम्मतिबाटै उम्मेदवार छनोट गरिने उनले बताए ।
नगरभित्रका राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल लगायतका साना दलको भने निर्वाचित लक्षित कार्यक्रम र चर्चा परिचर्चा भएको पाइएको छैन ।

एमाले आठ नम्बर वडा अध्यक्ष उम्मेदवारमा देवकोटा
नारायणगढ, २८ चैत । स्थानीय तहको चुनावका लागि चितवनमा नेकपा एमालेले वडा तहबाट उम्मेदवार छनौट सुरु गरेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर आठको वडा कमिटी बैठकले सर्वसम्मत वडा अध्यक्ष र एक दलित महिला सदस्य उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ । अध्यक्षमा केशव देवकोटा र दलित महिला सदस्यमा पार्वती सुनुवारलाई सिफारिस गरिएको हो ।
यस्तै, कालिका नगरपालिकाको वडा नम्बर पाँचमा वडा अध्यक्ष उम्मेदवारमा रूदल महतोलाई सिफरिस गरिएको छ । अन्य पदाधिकारीका विषयमा भने सहमति नभएको एमाले कालिका नगर कमिटिले जानकारी दिएको छ । 
यसैगरी, रत्ननगर नगरपालिका पाँच नम्बर वडा अध्यक्ष उम्मेदवारका लागि कृष्ण चौधरीको नाम सर्वसम्मत सिफारिस गरिएको छ । रत्ननगर वडा नम्बर १४, पिठुवामा हरि श्रेष्ठको नाम वडा अध्यक्ष उम्मेदवारका लागि सिफारिस गरिएको पार्टी स्रोतले जानकारी दिएको छ ।
एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले वडा तहबाट कतिपय वडामा सर्वसम्मत नाम सिफारिस हुने र कतिपय वडामा आकांक्षी सबैको नाम जिल्ला कमिटीमा सिफारिस हुने बताए । चैत ३० गतेभित्र वडा कमिटीको बैठकले वडा अध्यक्ष र सदस्यको नाम सिफारिस गरिसक्न एमाले जिल्ला कमिटीले निर्देशन दिएको छ ।
वडाबाट सिफारिस भएर आएको नाममा जिल्ला कमिटीले बैशाख पहिलो सातापछि अन्तिम निर्णय गर्ने भएको छ । चितवनमा औपचारिक निर्णय गरी वडा अध्यक्ष र सदस्यको उम्मेदवार छनौट सुरु गर्ने नेकपा एमाले पहिलो शक्ति भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राप्रपा लगायतका राजनीतिक दलहरु उम्मेद्वार छनौटका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् । चितवनमा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका छन् ।