Mon12112017

Last update01:57:25 AM

Back You are here: Home समाचार स्पर निर्माणमा तीस लाख घोटालाको आशंका

समाचार

स्पर निर्माणमा तीस लाख घोटालाको आशंका

माडी, २७ बैशाख । बाढी नियन्त्रण गर्नको लागि माडी नगरपालिका–३, रतनीमा निर्माण गरिएको स्पर 

(ड्याम) निर्माणमा रकम दुरुपयोग भएको भेटिएको छ ।

जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय हेटौंडाबाट प्राप्त जानकारी अनुसार, दुई वटा उपभोक्ता समितिको नाममा ६६ लाख ६० हजार चार सय ६८ निकासा भएको रकम दुरुपयोग भएको हो । बाढी नियन्त्रण गर्नको लागि माडीको रतनीमा दुई वटा उपभोक्ता समितिले काम गरेको स्पर निर्माणमा रकम दुरुपयोग भएको देखिएपछि माडीबासीले सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । 

दुई वटा आयोजनाको नाममा ६६ लाख ६० हजार चार सय ६८ रुपैयाँमध्ये तोकिए अनुसार खर्च विवरण मुल्याङ्कन गर्दा ३५ लाख १९ हजार ९७ रुपैयाँमात्र खर्च भएको देखिन्छ । यसरी जाली खरिद, जाली भर्ने, ठाउँ मिलाउने, ढुवानी, ढुङ्गा लगायतको रकम मुल्याङ्कन गर्दा करीब ३३ लाख रुपैयाँको चलखेल भएको देखिन्छ । 

उपभोक्ता समितिले जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय हेटौंडामा बुझाएको विवरण र वास्तविक खर्चको विवरण हेर्दा रकम दुरुपयोग भएको पुष्टि हुन्छ । मदन पौडेल संयोजक रहेको रिउ खोला संरक्षण समिति साविक माडी न.पा.–१० ले ४२ लाख ४५ हजार आठ सय ३२ रुपैयाँको लागतमा १२ मिटरका जम्मा पाँच वटा स्पर निर्माण सम्पन्न गरेको छ । रतनी सिमरा कृष्णनगर राइटोल बगही रिउ खोला नियन्त्रण उपभोक्ता समितिको नामबाट नौ मिटरको एउटा र पाँच मिटरका दुई वटा स्पर निर्माण भएको छ । यसको अध्यक्षमा कुलबहादुर दुरा रहेका छन् ।

उपभोक्ता समितिका अध्यक्ष मदन पौडेलसँग सम्पर्क गर्दा उनले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय हेटौंडाको टेण्डर अनुसार नै काम सम्पन्न भएर रकम निकासा भएको बताए । निकासा रकम र वास्तविक खर्चको विवरण हेर्दा रकम चलखेल भएको माडीका सामाजिक अगुवा श्रीप्रसाद दवाडीले बताए ।

लक्ष्मीनारायण टे«डिङ, गैंडाकोटबाट किनेको बिल विवरण अनुसार, तारको जम्मा मूल्य १२ लाख एक सय १६ रुपैयाँमात्र देखिन्छ । जाली भरेको ज्यालातर्फ प्रतिजाली चार सय लागेको र योजना अनुसार छ सय २६ वटा जालीको पाँच लाख एक हजार छ सय रुपैयाँ लागेको देखिन्छ । 

ढुङ्गा ढुवानी सम्झौता अनुसार, सात सय ७० ट्याक्टर ढुङ्गा भरिएकोमा प्रतिट्याक्टरको दुई हजार ५० लागे अनुसार १५ लाख ७७ हजार तीन सय ८१ रुपैयाँ खर्च देखिन्छ । जाली राख्ने ठाउँको लागि जे.सि.बी. खर्च दुई लाख २० हजार लागेपनि सम्पूर्ण रकम जोड्दा करिब ३३ लाख जतिको दुरुपयोग भएको पाइएको माडीका अगुवा दवाडीले जानकारी दिए ।

माडीमा रेडियो माडीलगायत छ वटा संस्थाद्वारा बुधबार आयोजना गरिएको मेयरका उम्मेदवारहरु बीचको अन्तरसंवाद कार्यक्रममा उपभोक्ता समिति अध्यक्ष मदन 

पौडेल समक्ष रकम चलखेल भएको बिषयमा कुरा राख्न सहभागी आतुर थिए । तर निमन्त्रणा पाएर पनि राप्रपाबाट माडी नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका उनी उपस्थित भएनन् । 

मदन पौडेललाई स्पर निर्माणका बिषयमा कुरा राख्नका लागि तथ्य र प्रमाणसहितको विवरण हेटौँडास्थित जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयबाट ल्याइएको थियो । तर, अन्य सबै पार्टीका उम्मेदवारहरु सहभागी भएको कार्यक्रममा पौडेल अनुपस्थित रहेकाले थप शंका उत्पन्न भएको हो ।