नारायणगढ, १६ असार । वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रणका लागि सबैको सहयोग आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।
मानवअधिकारका लागि जनमञ्च, पिपुल फोरमले नारायणगढमा बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले सरकारी तहबाट भइरहेको कामलाई स्थानीय तहको सहयोग, विदेश जाने जनशक्तिको सचेतना धेरै महत्वपूर्ण हुनेमा जोड दिएका छन् । कार्यक्रममा वैदेशिक रोजगार न्यायाधिकरणका अध्यक्ष सुरेन्द्रवीरसिंह बस्न्यातले सुरक्षित रुपमा वैदेशिक रोजगारमा जान पाउनु संवैधानिक अधिकार भएको बताए ।
जुनसुकै नागरिक आफूले रोजगार गर्न पाउने र त्यसको लागि विदेशमा गएर भएपनि काम गर्नसक्ने व्यवस्था संविधानमा छ । वैदेशिक रोजगारमा भएका ठगी, ति नियकामा भएका कमी, कमजोरीहरुलाई नियमन गर्दै न्याय दिलाउने काम समेत विभाग अन्तर्गतको न्यायाधिकरण शाखाले हेर्दै आएको उनले बताए ।
कुनै पनि देशमा कोही श्रममा जाँदैछ भने उसले आफू जाने देशको विषयमा जानकारी पाउनु पर्ने, कामको पहिला नै अवगत गराउनु पर्ने, श्रमबाट पाउने पैसा, कामको प्रकृति सबै थाहा पाउनु पर्ने हुन्छ । यी कुरा जानकारी नगराई वैदेशिक रोजगारीमा लैजाने संस्था, त्यसमा संलग्न व्यक्ति, किर्ते काम गर्नेलाई विभागले कारबाही गरी पीडितलाई राहत उपलब्ध गराउने काम गर्दै आएको उनले बताए ।
यही समाजबाट वैदेशिक रोजगारमा जाने व्यक्तिहरु हुने भएकाले आफ्ना समुदायमा वैदेशिक रोजगारमा जाँदा अपनाउनु पर्ने सुरक्षाको विषयमा चर्चा गर्न सकेमा ठगीको घटनामा कमी आउने उनले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको लागि पर्याप्त सूचनाको आवश्यकता रहेको बताए ।
आफू कुन देशमा जाने हो, उक्त देशको कानुन, काम गर्ने संस्थालगायतका विषयमा जानकारी हुनु आवश्यक भएको उनले बताए । वैदेशिक रोजगारीमा गएर ठगीमा परेका व्यक्तिको कानुनी उपचार पाउने गरी काम गर्न चितवन प्रशासन तयार भएको उनले बताए । वैदेशिक रोजगारीलाई सुरक्षित बनाई सम्भावित ठगीबाट बचाउन प्रशासनले गैरकानुनी काम रोक्ने प्रयास गरिरहेको उनको भनाई थियो ।
पिपुल फोरमका सल्लाहकार सोम लुइँटेलले नेपाली युवाहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था सरकारले गराउनु पर्ने बताए । ‘यो अवस्था नभएको कारण रोजगारीको लागि औसतमा दैनिक एक हजार पाँच सय जना विदेश जान बाध्य भएका छन्’ उनले भने, ‘बाध्यतामा परेर जानेहरुसँग विभिन्न बहानामा ठगीका घटना पनि भएका छन् ।’
वैदेशिक रोजगारी ऐन तथा नियमावली २०६४ ले गरेको व्यवस्था अनुसार यस क्षेत्रमा काम हुनुपर्ने उनले बताए । अहिले सरकारले व्यवस्था गरे अनुसार सात वटा मुलुहरुमा फ्रि भिसा, फ्रि टिकटको व्यवस्था छ । काम गरे वापत सेवा शुल्क १० हजारमात्र लिन पाउने व्यवस्था छ । यस विषयमा वैदेशिक रोजगारमा जानेहरुले ध्यान दिनुपर्ने उनले बताए ।
फ्रि भिसा, फ्रि टिकट भएका देशहरुमा युएई, कतार, बहराइन, ओमान, साउदी अरब, कुवेत र मलेसिया रहेका छन् । विश्वका एक सय १० वटा देशहरु वैदेशिक रोजगारको लागि खुल्ला रहेको छ भने २९ वटा देशहरुमा मात्र राजदुतावास रहेको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्तबहादुर कुँवरले वैदेशिक रोजगारको क्षेत्रमा भएका कमी, कमजोरीलाई कारबाही गर्नसक्ने व्यवस्थाको विषयमा प्रष्ट जानकारी हुन नसक्दा पनि यस क्षेत्रको विकृति बढेको बताए । विभागको सक्रियाता जिल्लाहरुमा हुनुपर्ने, अनुगमनका कार्यक्रम भइरहेमा ठगीका घटनामा कमी आउनसक्ने उनको भनाई छ ।
‘अनुमति नलिई काम गरेका म्यानपावरहरुलाई जिल्लामा बन्द गराएको छु’ उनले भने, ‘एजेन्टको रुपमा स्वीकृति लिएको तर शाखा कार्यालयजस्तो गरी सञ्चालन गर्नेलाई बन्द गराएका छौँ ।’ पासपोर्ट लिने, सबै पैसा लिने, धेरै कमिसन लिएर विदेश पठाउनेजस्ता गतिविधिहरु चलाएको पाएपछि प्रहरीले ती संस्थाहरुलाई बन्द गराएको उनले जानकारी दिए । जिल्लामा ३३ वटा म्यानपावरहरु सञ्चालनमा रहेको उनले बताए ।
कार्यक्रममा पपुल फोरमका उपाध्यक्ष रुद्र नेपालले विभागबाट श्रम स्वीकृति लिएर विदेश जानेहरु मात्रै ३ लाख ५० हजार रहेको बताए । ‘आर्थिक वर्ष २०७२।७३ को बैशाख मसान्तसम्म यो विवरण छ’ उनले भने, ‘स्वदेशमा रोजगारको अवस्था नभएपनि विदेशिने युवाको संख्या हरेक वर्ष बढेको छ । विदेश जानेहरुको प्रकृति हेर्दा संस्थागत, व्यक्तिगत र सरकारी प्रयासमा जाने गरेको पाइन्छ ।’
कार्यक्रममा अधिवक्ता नरेन्द्र खनाल, माइती नेपालका युवराज दवाडी, गैरसरकारी महासंघका जिल्ला अध्यक्ष केशव आचार्यलगयातले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनु पर्ने बताए । कार्यक्रममा वैदेशिक रोजगारमा गएर दुःख पाएका मेघौलीका टेकबहादुर कुमालले आफ्नो समस्या सुनाएका थिए ।