शालिग्राम नेपाल
नारायणगढ, १० असार । वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएको म्यानपावर कम्पनीले दर्ता अनुमति नलिई शाखा कार्यालय चलाएको भन्दै चितवन प्रशासनले कारबाही प्रकृया अगाडि बढाउने भएको छ ।
अध्ययनका लागि विदेश पठाउने कन्सलटेन्सीहरुको इजाजतपत्रका विषयमा अनुगमन गर्दै आएको जिल्ला प्रशासन कार्यालय चितवनले म्यानपावरको विषयमा पनि अनुगमन गर्ने भएको हो । चितवन जिल्लामा सञ्चालित म्यानपावरका शाखा कार्यालय खोल्न पाउने अनुमति नलिएरै सञ्चालनमा छन् । चितवन जिल्लामा पुकार म्यानपावरले मात्र शाखा कार्यालय सञ्चालन गर्न पाउने स्वीकृति पाएको वैदेशिक रोजगार विभागको वेभसाइटमा उल्लेख छ ।
जिल्लाका अन्य म्यानपावरहरुले शाखा कार्यालयको रुपमा सञ्चालन गर्न पाउने स्वीकृति लिएका छैनन् । यो विषयमा लामो समयदेखि सरोकारवाला संस्थाले आवाज उठाएपनि चितवन प्रशासनले बेवास्ता गर्दै आएको थियो । तर अहिले ठगीको घटना वृद्धि हँुदै गएपछि प्रहरी प्रशासन सक्रिय भएको छ । प्रशासन कार्यालयको बजार अनगुमन शाखाका बजार संरक्षण अधिकृत ओमप्रसाद शर्माको टोलीले म्यानपावर संस्थाको दर्ताको अवस्थाबारे अनुगमन गरेको छ ।
अनुगमनका क्रममा नारायणगढको कमलनगरस्थित नमस्ते म्यानपावरले दर्ता नगरी शाखा कार्यालय सञ्चालन गरेकोमा बन्द गराइएको बजार संरक्षण अधिकृत शर्माले बताए । शाखा कार्यालयको स्वीकृति नपाई नमस्तेले कार्यालय सञ्चालन गरेको थियो । वैदेशिक रोजगारीको नाममा ठगीका घटना बाहिर आउन थालेपछि स्वीकृतिको विषयमा अनगुमन गरेको शर्माले जानकारी दिए । अन्य म्यानपावरहरुका विषयमा पनि छानबिन कार्य जारी रहेको उनले बताए ।
जिल्लामा अहिले सञ्चालनमा रहेका करिब २५ वटा म्यानपावर कम्पनीका शाखा मध्ये चार वटाले मात्र स्वीकृति लिएको पाइएको शर्माले जानकारी दिए । ‘स्वीकृति लिएकामध्ये एउटाले मात्र कार्यालय चलाएको पाइयो । अन्यको कार्यालय देखिएको छैन’ उनले भने, ‘स्वीकृति नभएका संस्थाहरुको प्रचारबाजी धेरै भएको छ ।’
दर्ता नभई कार्यालय खोलेर बसेको विषयमा छानबिन कार्य शुक्रबारबाटै सुरु गरिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताए । ‘यस विषयमा धेरै गुनासो आएको हामीले पाएका छौँ’ उनले भने, ‘कमी कमजोरी भएको पाइएमा सार्वजनिक मुद्दा ऐन अन्तर्गत कारबाही गरिनेछ ।’ स्वीकृति नलिई चलाउने, एउटा विषयमा स्वीकृति लिएर अन्य कारोबार गरेको, बोर्ड नराखी लुकीछिपी काम गरेको, वैदेशिक रोजगारमा ठगी गरेकोजस्ता गुनासाहरु आएको उपरीक्षक कुँवरले बताए ।
चितवन जिल्लामा अहिले २५ वटा जति साइनबोर्ड राखेर काम गर्ने म्यानपावरहरु रहेका छन् । ‘ती सबैले अनुमति लिएको पाएका छैनौँ । एजेन्टको अनुमति लिएर शाखा कार्यालय चलाउनेहरुलाई कारबाही गरिनेछ’ उनले भने, ‘काठमाडौँमा केन्द्रीय कार्यालय छ भन्दैमा स्वीकृति नलिई यहाँ कार्यालय चलाउनेहरुलाई कानुन बमोजिम कारबाही गरिनेछ ।’
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगिएकाहरु आफ्नो कार्यालयमा कानुनी उपचारको लागि आउने गरेको वैदेशिक रोजगारीको क्षेत्रका काम गर्दै आएको पिपुल फोरमका जिल्ला संयोजक अधिवक्ता सूर्य बोहराले जानकारी दिए । गएको दुई महिनामा सात जना ठगीको उजुरी लिएर आएकोमा ५ जनालाई काठमाण्डौ पठाएको उनले बताए ।
वैदेशिक रोजगार विभागले उनीहरुको मुद्दाको विषयमा हेरेको छ । अन्य दुई वटा उजुरी चितवन प्रहरीमा ठगीको विषयमा परेको उनले बताए । विदेश पठाइदिन्छु भन्दै मोटो रकम लिएको अभियोगमा दिपेन्द्र चापागाइ र गणेश श्रेष्ठको नाममा उजुरी गरेको बोहराले जानकारी दिए ।
गणेश श्रेष्ठले भरतपुर फूलबारीका आशिष गुरुडसँग ६ लाख ५० हजार, मकवानपुर मनहरीकी सरिता लामा र उनको साथीसँग ६ लाख ३० हजारका दरले ठगी गरेको उजुरी परेको उनले बताए । ठगी गर्ने श्रेष्ठ विदेश गएको बोहराले बताए । पिपुल फोरमले विदेश जाँदा अपनाउनु पर्ने विषय, परामर्श, विदेशमा दुःख पाएर आएकाहरुको लागि निःशुल्क सेवा दिएको बोहराले बताए ।
विदेश जानुपूर्व कुन देशमा आफू जाने हो, त्यो देश जाँदा लाग्ने खर्च, कामको प्रकृति, पठाउने एजेण्ट, दर्ता भएनभएको विषयमा जानकारी लिने काम नगर्दा ठगिने क्रम बढेको उनले बताए । आफू विदेश जानुपूर्व म्यानपावर कम्पनीको दर्ताको अवस्था, आफूले तिरेको रकमको बिल, कामको सम्झौता पत्र र तलब दिएको कागज भएमा उजुरी गर्न सजिलो हुने उनले बताए ।
पहिले भने अनुसार काम, तलब, देश नभएमा आफू ठगिएको हुने र विदेश जाने व्यक्तिले म्यानपावर संचालकमाथि मुद्दा दिएमा ठग्ने संस्थाले दोब्बर रकम क्षतिपूर्ति दिने व्यवस्था भएको अधिवक्ता बोहराले बताए ।