Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार

समाचार

आधुनिक कृषिबारे प्रशिक्षण

रत्ननगर, १० असार । रत्ननगरका महिलाहरुलाई जैविक मल उत्पादन तथा आधुनिक कृषिबारे प्रशिक्षण दिइएको छ । रत्ननगर नगरपालिकाको महिला लक्षित कार्यक्रम अन्तर्गत चौधरी महिला स्वास्थ्य समूह भोकाहा र उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा एक सय जना महिलाको सहभागिता रहेको थियो । असार ३ र ४ गते ५६ जना महिलालाई जैविक मल उत्पादन र असार ५ देखि ९ गते सम्म ५४ जना महिलालाई आधुनिक कृषि उपज तालिम दिइएको हो । जैविक मल उत्पादनतर्फ फोहोरबाट जैविक मल बनाउने विधि, वनस्पति विषादीको तयारी, रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा पार्ने प्रभाव, गोठ सुधार र थोपा सिंचाईबारे प्रशिक्षण दिइएको थियो । आधुनिक कृषितर्फ बेमौसमी तरकारी खेती, खेतीमा प्रविधिको प्रयोग, बालीमा लाग्ने रोगको निवारणलगायत विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा कृषि सेवा केन्द्र रत्ननगरका प्रमुख शिवराज पौडेल, रत्ननगर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख तेजेन्द्रनाथ लामिछाने, वडा नागरिक मञ्चका संयोजक ज्वाला वनले सहजीकरण गरेका थिए । प्रशिक्षणपछि महिलाहरुलाई काँक्रो, भेन्टा र खुर्सानीको बीउ वितरण गरिएको थियो ।

शिक्षा कार्यालयलाई भवनको अभाव

शालिग्राम नेपाल नारायणगढ, ९ असार । जिल्ला शिक्षा कार्यालय चितवनलाई भवनको अभाव भएको छ । अहिले भइरहेको भवन गएको वर्ष आएको भुकम्पले चर्किएर जोखिम भएको र आवश्यक थप कार्यक्रम गर्नलाई समेत भइरहेको भवन अपुग भएको कार्यालयले जानकारी दिएको छ । स्रोत व्यक्तिहरुको बैठक, शिक्षा सम्बन्धी अन्य बैठक तथा कार्यालयको सामग्री राख्नलाई समेत कोठा तथा भवनको अभाव भएको जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले जानकारी दिए । ‘कार्यालयको काम थपिएको छ, जिम्मेवारी वृद्धि छ, कर्मचारी बढेका छन् तर भवन पुरानै छ’ शिक्षा अधिकारी अर्यालले भने, ‘जिल्लाका १३ जना स्रोत व्यक्ति राखेर बैठक गर्ने स्थानसमेत छैन ।’ शिक्षा विभागमा कार्यालयको अवस्थाको बारेमा जानकारी गराउँदा समेत बजेट आउन नसकेको उनले बताए । ‘भूकम्पले गर्दा पुरानो भवन चर्किएर जोखिम भएको छ । अहिले काम चलाउको रुपमा हामीले काम गरिराखेका छौँ’ उनले भने, ‘अब अर्को भुकम्प आएमा यो भवन भत्किन सक्छ ।’ जिल्लाका महत्वपूर्ण कागजपत्र राख्नु पर्ने, कार्यालय प्रयोजनका सामग्रीहरु भएको पुरानो भवन वर्षातमा पानी पर्दा चुहिने भएपछि जस्ताले छाएर काम चलाउने गरिएको अर्यालले बताए । अहिले भइरहेको भवन धेरै वर्ष अगाडि निर्माण भएको पुरानो र साँघुरो भएको कारण काम गर्नलाई समेत असजिलो भइरहेको उनले जानकारी दिए । ‘पत्रकार सम्मेलन गर्नु परेमा, विभागबाट टोली आएर बैठक गर्नु परेमा चर्किएको भवनको छतमा कार्यक्रम गर्न बाध्य भएका छौँ’ उनले भने, ‘यस विषयमा जानकारी गराउँदा समेत ध्यान नदिँदा चिन्तित भएको छु । जिल्लाका विद्यालयहरु भूकम्पको कारणले भत्किएका र चर्किएका छन् । ती भवनका लागि सरकारले बजेट दिएको छ तर कार्यालयको अवस्था नाजुक हुँदा वास्ता छैन ।’ शिक्षा कार्यालयको परीक्षा शाखाको गोदाम घर नहुँदा कागजपत्र बैठक हलमा राखिएको छ । विद्यार्थीको परीक्षाको कापी विद्यालयको कोठा मागेर जाँच्नु पर्ने अवस्था छ । आफ्नो कार्यालयका धेरै जना राखेर काम गराउन सकिएको छैन । व्यवस्थित तरिकाले सामग्री राख्न नसक्दा खोजेको समयमा भनेका सामग्री पाउन मुश्किल भएको जिल्ला शिक्षा अधिकारी अर्यालले बताए । परीक्षा शाखाको माथिल्लो तलामा जस्ता लगाएर छाएपनि बजेटको अभावमा कोठा बनाउन नसकिएको कार्यालयले जनाएको छ । भूकम्पले चर्किएका विद्यालय निर्माणका लागि चितवनमा २५ करोड रुपैयाँ आएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका विद्यालय निर्माण तथा मर्मतको लागि बजेट आएको जिल्ला शिक्षा अधिकारी अर्यालले जानकारी दिए । यही वर्ष खर्च गरिनु पर्ने उक्त रकम असार मसान्तसम्म ७५ प्रतिशत काम सम्पन्न हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । एक सय १३ वटा विद्यालयका लागि एक लाख रुपैयाँका दरले रकम वितरण गरिने कार्यालयले जनाएको छ । भूकम्पले पूर्णरुपमा ध्वस्त एउटा विद्यालयलाई भने ५७ लाख रुपैयाँ विद्यालय निर्माणका लागि दिइएको छ । अन्य विद्यालयहरुलाई आवश्यकता अनुसार बजेट निकासा भएको जिशिअ अर्यालले जानकारी दिए । भवन निर्माणको लागि आएको बजेटले अहिले प्रभावित क्षेत्रमा धमाधम काम भइरहेको उनले बताए । भवनको अवस्था, निर्माणको काम, गुणस्तरीयताको विषयमा अनुगमन भइरहेको छ । जिल्लाका पहाडी क्षेत्र तथा तराई भागमा समेत भवन निर्माण कार्य जारी रहेको छ । जिल्ला शिक्षा कार्यालयमार्फत भवन निर्माणका लागि बजेट गएको स्थानमा निजी क्षेत्र तथा सहयोगी संस्थाहरुले पनि भवनका केही कोठा निर्माण गर्ने भन्दै काम भइरहेको जनाएको छ । पहाडी गाविस लोथर, काउले, दारेचोक, चण्डिभञ्याङ लगायत पश्चिम चितवनको मंगलपुर क्षेत्रका विद्यालयहरुमा समेत भूकम्पले विद्यालय भवनमा क्षति पु¥याएको थियो । ती स्थानमा अहिले विद्यार्थीलाई अध्ययनको लागि अस्थायी रुपमा अध्ययन गर्ने स्थान निर्माण गरिएको छ । क्षति भएको स्थानमा भवन निर्माणको काम भइरहेको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।

रामेश्वर टोलको साधारणसभा

नारायणगढ, ९ असार । रामेश्वर टोल विकास संस्था भरतपुर उपमहानगरपालिका २, क्षेत्रपुरको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । टोल विकास संस्थाका अध्यक्ष राजेन्द्र वाग्लेको अध्यक्षतामा सम्पन्न साधारणसभामा सचिव मनोज तिवारीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष अनिता घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तेक्वान्दोमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने

रत्ननगर, ९ असार । नुवाकोटमा हुने दोश्रो नेपाल भारत मैत्री आमन्त्रण प्रतियोगितामा चितवनका सात जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । रत्ननगर तेक्वान्दो डोजाङमा आबद्ध सात जना खेलाडीहरुलाई बुधबार एक कार्यक्रम गरी डोजाङले बिदाई गरेको छ । अन्तर्राष्ट्रिय स्तरको उक्त प्रतियोगितामा पुरुषतर्फ संजय तामाङ, विवश ढकाल र महिलातर्फ दीपा कोइराला, रोशनी निम्बु, लक्ष्मीदेवी श्रेष्ठ, अनु दराई र मनिला तामाङले प्रतिस्पर्धा गर्नेछन् । रत्ननगर तेक्वान्दो डोजाङका प्रमुख तथा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक पुष्पराज जोशीले खेलाडीहरुलाई खादा ओढाई टीका लगाइ दिएर बिदाई गरेका थिए । चितवनबाट राष्ट्रिय निर्णायक नविना खनियाको नेतृत्वमा खेलाडीहरु नुवाकोट गएका छन् । तेक्वान्दोमा लामो समयदेखि सक्रिय र प्रतिभाशाली खेलाडीहरुलाई पठाइएकोले खेलाडीहरुले स्वर्ण पदक जितेर फर्कने डोजाङ प्रमुख जोशीले विश्वास व्यक्त गरे । प्रतियोगिता असार ९ र १० गते हँुदैछ ।

छात्रालाई फुटबल प्रशिक्षण

नारायणगढ, ९ असार । गैँडाकोट महिला फुटबल क्लबले खेल क्षेत्रमा महिला सहभागिता बढाउन प्रशिक्षण दिन सुरु गरेको छ । अन्तरविद्यालय कोकाकोला कप फुटबल प्रतियोगितामा महिला खेल समुहको सक्रिय सहभागिता बढाउन १० दिनसम्म प्रशिक्षण दिन सुरु गरिएको हो । क्लबकी सचिव दुर्गा घिमिरेले छात्रा विद्यार्थीलाई खेलप्रति प्रोत्साहित गर्न प्रशिक्षण सुरु गरिएको बताइन् । गैँडाकोटमा रहेको जनक उच्चमाविको खेल मैदानमा हरेक दिन बिहान अभ्यास खेल खेलाइने उनले जानकारी दिइन् । उपयुक्त खेल सीपको अभावमा छात्राहरु खेलकुद क्षेत्रमा अघि बढ्न नसकेको निष्कर्ष निकाल्दै खेल अभ्यास सुरु गरिएको क्लबले जनाएको छ । गैँडाकोटदेखि अमरापुरी क्षेत्रसम्मका सामुदायिक विद्यालयका इच्छुक छात्राहरुले खेल अभ्यासमा सहभागिता जनाउन सक्ने क्लबकी अध्यक्ष लक्ष्मी अधिकारीले जानकारी दिइन् । खेल प्रशिक्षक अमृत गुरुङले छात्राहरुलाई फुटबल खेल राम्रो खेल्न आवश्यक सीपबारे जानकारी दिने गरिएको बताए ।

बछौलीमा नेतृत्व विकास तालिम

रत्ननगर, ९ असार । ग्रामीण क्षेत्रका महिलाहरुको सशक्तिकरणको लागि पूर्वी चितवनको बछौलीमा नेतृत्व विकास तालिम सुरु भएको छ । रत्ननगर नगरपालिकाको सहयोगमा उपभोक्ता समितिले आयोजना गरेको तालिममा २५ जना महिलाको सहभागिता रहेको छ । दुई दिनसम्म चल्ने तालिममा सञ्चारकर्मी रामु आचार्यले सहजीकरण गरेका छन् । तालिमको बछौली सेवा केन्द्रका प्रमुख बासुदेव रिजालले उद्घाटन गरेका थिए । उपभोक्ता समितिकी अध्यक्ष लक्ष्मी अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका सोमनाथ ढकाल, नेकपा एमालेकी चण्डिका ढकाल, नेकपा माओवादी केन्द्रका जंगीलाल चौधरी, नेकपा मओवादीका मीनप्रसाद सापकोटा, मृगकुञ्ज सहकारीका अध्यक्ष कृष्ण खतिवडा लगायतले बोलेका थिए ।

मकवानपुरे टोलीलाई नारायणगढमा स्वागत

नारायणगढ, ९ असार । उद्योग वाणिज्य संघ–चितवनले बुधबार उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमणको क्रममा रहेको मकवानपुर उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई स्वागत गरेको छ । स्वागत कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले उद्योग र व्यवसायको प्रवद्र्धन र जिल्लाको विकासका लागि आफ्नो संघले निर्वाह गरेको भूमिकाका साथै आगामी योजनामाथि प्रकास पारेका थिए । निवर्तमान अध्यक्ष कल्याण जोशीले मकवानपुर उद्योग वाणिज्य संघबाट धेरै वर्षपछि यस संघको भ्रमण भएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले मकवानपुर उद्योग वाणिज्य संघले गरेका कार्यबारे प्रकाश पार्दै भ्रमणको उद्देश्यका विषयमा जानकारी गराएका थिए ।

पन्तले कतारमा कला प्रस्तुत गर्ने

नारायणगढ, ९ असार । चितवनको रत्ननगर निवासी लोक तथा दोहोरी गायक नेत्र जी पन्तले कतारमा हुने साँस्कृतिक कार्यक्रममा आफनो गायन प्रस्तुत गर्ने भएका छन् । एक दशकदेखि गायन क्षेत्रमा सक्रिय पन्तले पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा हुने साँस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर पाएका हुन् । गायक पन्तलाई कतारमा आफ्नो कला प्रस्तुत गर्ने अवसर चितवन युवा समुह दोहा कतारले दिएकोे हो । मुस्लिम समुदायको महत्वपूर्ण पर्व इदको अवसरमा यही असार २४ गते अर्थात जुलाई ८ तारिखमा आयोजना हुने कार्यक्रममा उनले एक दर्जन गीत प्रस्तुत गर्नेछन् । गायक पन्तले सुख लुक्छ दुःख लुक्दैन, स्वीट्जरल्याण्ड झैं नेपाल नि होला त, भाग्य देखिन्छ र, पेशा जे छ जुन ठाउँमा भए नि नेपाली हौं विदेशमा रहे निजस्ता चर्चित गीतहरु आफ्नै रचनामा बजारमा ल्याइसकेका छन् । पछिल्लो पटक गायक पन्तले बजारमा ल्याएको विदेश नामक एल्बममा समावेश गरिएको पेशा जे छ जुन ठाउँमा भए नि, नेपाली हौं विदेशमा रहे नि बोलको गीत विदेशमा रहेका नेपालीहरुले रुचाएका कारण पन्तलाई पहिलो पटक कतारमा हुने कार्यक्रममा कला प्रस्तुत गर्ने अवसर मिलेको हो । आठौं चितवन धमाका नामक उक्त साँस्कृतिक कार्यक्रममा पन्तसहित ज्योति काफ्ले, भूमिका गिरी, सरिता गुरुङ, संजीब सिंह राना, सालु गौतम, वलविक्रम थापा र सपना राईको पनि प्रस्तुति रहने कार्यक्रम संयोजक सुमन भारतीले जानकारी दिए ।

काबुल घटनामा खैरहनीका ढुङ्गानाको मृत्यु परिवारजन, आफन्त र बहेरी गाउँ शोकमा

शिशिर सिंखडा रत्ननगर, ८ असार । अफगानिस्तानको काबुलमा आतंकवादीको आत्मघाती बम आक्रमणमा परेर सोमबार चितवनका कृष्णबहादुर ढुङ्गानाको मृत्यु भएपछि परिवार र गाउँ शोकमा परेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका १, बहेरीका ३३ वर्षीय ढुङ्गाना पनि आत्मघाती आक्रमणको निसाना बन्न पुगे । आवासबाट आफू कार्यरत क्यानेडियन दुतावास जाने क्रममा बीच बाटोमै आत्मघाती विष्फोटमा परेर सोमबार बिहान ढुङ्गानाको मृत्यु भएको खबर परिवारजनले दिउँसोमात्रै पाएका थिए । २०५९ सालमा नेपाली सेनामा भर्ती भएका ढुङ्गाना परिवारका माहिला छोरा हुन् । जेठो छोरा गणेश छुटभिन्न भइसके । उनी पनि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् । कान्छा भाई अर्जुनले नेपालीलाई विदेश पठाई दिने काम गर्छन् । हजुरबुबा र हजुरआमासहित ९ जनाको परिवार धान्दै आएका कृष्णको निधनले ढुङ्गाना परिवार विक्षिप्त बनेको छ । माओवादी द्वन्द्वका कारण २६ महिनामा जागिर छाडेका उनी परिवार पाल्न २०६३ सालमा दुबई गई ३ वर्ष काम गरेर घर फर्किए । विवाहपश्चात अफगानिस्तान तीन पटकसम्म आउजाउ गरेका ढुङ्गाना गत जेठ १६ गते चौथो पटक काबुल पुगेका थिए । २६ दिनको छुट्टीमा घर आएका कृष्णले नयाँ घर बनाउन भनी खैरहनी नगरपालिकाबाट नक्सापास गराई सम्पूर्ण व्यवस्था मिलाएका थिए । अहिले उनको घरको जग खनेर निर्माण कार्य सुरु भएपनि यो घटनाले उनको घर सम्पन्न गर्न समस्या देखिएको छ । घर पूरा गर्ने र घरपरिवार कसरी चलाउने भन्ने चिन्ता रहेको कृष्णका जेठा मामा हिमनाथ न्यौपाने बताउँछन् । मंगलबार शोकाकुल आफन्तजनलाई सान्त्वना दिन भान्जाको घर पुगेका न्यौपानेले भान्जाको मृत्यु भइसकेको भनी आफूले स्वीकार्न नसकिरहेको बताए । ‘दस दिनअघि फोनमा कुरा गर्दै घर बनाउने काममा रेखदेख गर्नुहोला है मामा भनेका थिए भान्जाले’ भान्जाको आवाज अझैपनि कानमा गुन्जिरहेको बताउँदै उनले भने, ‘भान्जाले त्यतिबेला म काबुल आएर काममा लागिसकेको छु । अब पठाएको पैसाले नयाँ घर राम्रोसँग बनाउने हो भनेका थिए ।’ सामान्य परिवारका कृष्णको ७ कठ्ठा जमिन छ । परिवारनै कृषि पेशमा आश्रित छन् । ‘घर बसेर के गर्ने कमाई छैन, परिवार पाल्न प¥यो भन्थे । नजाउन भन्दा मान्दैनथे’ कान्छा मामा राजकुमारले भने, ‘दिन आयो भने मरिन्छ, के गर्नु कमाउनै प¥यो भन्थे । जे नहुनु थियो, त्यही भयो ।’ नातिको मृत्युको खबरले ८१ वर्षीय हजुरबुबा होमनाथ, ८३ वर्षीया हजुरआमा जानुका, मामा घरका ८७ वर्षीय हजुरबुबा टीकानाथ न्यौपाने, आमा विन्दादेवी, बुबा उत्तरकुमार र श्रीमती भगवती कोही पनि कसैसँग बोल्न सक्ने अवस्थामा छैनन् । परिवारमा रुवाबासी छ । कृष्णका ५ वर्षीया छोरी कृष्भा र ४ वर्षका छोरा कृपन स्थानीय मेरी गोल्ड स्कुलमा अध्ययनरत छन् । घरमा भएको रुवाबासीको उनीहरुले राम्रोसँग भेउ पाएका छैनन् । कृष्णको दुःखद घटनामा मृत्युको खबरले सिंगो बहेरी गाउँ पीडामा छ । उनी गाउँमा सबैसँग मिल्ने स्वभावका थिए । सामान्य परिवार भएकाले घर चलाउन विदेश जानु उनको बाध्यता भएको स्थानीय अनुप खनालले बताए । ‘मासिक एक हजार डलर कमाई हुन्छ भन्थे, परिवार चलाउन, घर बनाउन सक्छु होला भन्थे’ खनालले भने । अफगानिस्तानको राजधानी काबुलस्थित क्यानेडियन दुतावासको सुरक्षामा बेलायती कम्पनी सार्वे इन्टरनेशनल मार्फत खटिएका २१ जना नेपाली चढेको मिनीबसमा आक्रमण भएको थियो । उक्त घटनामा १२ नेपालीसहित १४ जनाको मृत्यु भएको छ भने ७ जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये मानबहादुर थापा र कृष्णकुमार देउजा पनि चितवनकै हुन् । मृतक ढुङ्गानाको शव बुधबार काठमाडौँ आइपुग्ने र बेलुका चितवन ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताए ।