Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार

समाचार

देवौली कुलोको सरसफाई

रत्ननगर, ८असार । महिलाहरुले रत्ननगरको बकुलहर बजारहँुदै बग्ने देवौली कुलोको मंगलबार सरसफाई गरेका छन् । कुलोमा फालिएको फोहोरले बजार र गाउँमा दुर्गन्ध फैलिन थालेपछि रत्ननगर नगरपालिकाको सहयोगमा नवदुर्गा आमा समूहले डेढ किलोमिटर कुलो सरसफाई गरेको हो । कार्यक्रममा सहभागीहरुले कुलोमा फालिएका प्लाष्टिक, सिसालगायतका सामग्रीहरु संकलन गरी नष्ट गरेको आमा समूहकी अध्यक्ष एञ्जिला कुँवरले जानकारी दिइन् । कुलोबाट पानी निकासीको लागि घाँस र झारसमेत उखेलेर फालिएको उनले बताइन् । रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरे प्रमुख अतिथि रहेको उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाका योजना शाखा प्रमुख प्रकाशचन्द्र ढुंगाना, आदिवासी जनजाति आमा समूहकी अध्यक्ष लक्ष्मी चौधरी, वडा नागरिक मञ्चकी ऋतु गिरी, सहसंयोजक शालिग्राम पराजुली, नवदुर्गा आमा समूहकी सचिव संगिता खनाललगायतले बोलेका थिए । कार्यक्रम आमा समूहकी अध्यक्ष एञ्जिला कुँवरको अध्यक्षतामा भएको थियो ।

युवालाई उत्प्रेरणा गोष्ठी

नारायणगढ, ८ असार । चितवनका युवाहरुलाई लक्षित गरी आयोजना गर्न लागिएको उत्प्रेरणा गोष्ठीको तयारी अन्तिम चरणमा पुगेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी गराइएको हो । चितवनका युवाहरुलाई लक्षित गरी आज बुधबार भरतपुर क्यान्सर अस्पतालको सभाहलमा गोष्ठीको आयोजना गर्न लागिएको हो । अन्तर्राष्ट्रिय स्तरसम्म ख्यातिीप्राप्त युवा उत्प्रेरक तथा प्रवक्ता सौनक भट्टले गोष्ठीमा युवाहरुको क्षमता विकासमा टेवा पु¥याउने जीवन उपयोगी प्रवचन दिनेछन् । लियो क्लब अफ चितवन सेन्ट्रल र लायन्स क्लब अफ चितवन सेन्ट्रलले १६ देखि ३० वर्षका युवाहरुलाई लक्षित गरी गोष्ठीको आयोजना गरेको हो । आत्महत्यालाई निरुत्साहित गर्दै युवाहरुमा सकारात्मक भावनाको उत्प्रेरणा जगाउनु गोष्ठी आयोजनाको उद्देश्य रहेको लियो क्लब अफ चितवन सेन्ट्रलका अध्यक्ष विकल घिमिरेले जानकारी दिए । पत्रकार सम्मलेनमा बोल्दै युवा उत्प्रेरक सौनक भट्टले युवाहरुमा सकारात्मक उर्जालाई वृद्धि गर्न, जीवनको लक्ष्यको बारेमा बुझाउन गोष्ठी फलदायी हुने विश्वास व्यक्त गरे ।

परिवार दलमा ढकाल

नारायणगढ, ८ असार । नेपाल परिवार दल चितवनको अध्यक्षमा धर्मप्रसाद ढकाल चयन भएका छन् । मंगलबार भएको दोस्रो जिल्ला अधिवेशनले ढकालको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । कार्य समितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद अर्याल, उपाध्यक्षमा श्रद्धा अर्याल सेढाई, सचिवमा केशव आचार्य, सहसचिवमा ओमप्रसाद सिंखडा, कोषाध्यक्षमा त्रिभुवन पौडेल चयन भएका छन् । ४ वर्षे कार्याकालका लागि नयाँ कार्यसमिति चयन गरिएको पार्टीले जनाएको छ । अधिवेशनको उद्घाटन नेपाल परिवार दलका महामन्त्री विनोद डाँगीले गरेका थिए । कार्यक्रममा केन्द्रीय सदस्य मनोज सुर्खेती, रामप्रसाद ज्ञवाली लगायतले पार्टीलाई सक्रिय बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए । निर्वतमान अध्यक्ष अनिलप्रसाद खनियाले नयाँ कार्य समितिलाई बधाई दिएका थिए ।

वृद्धवृद्धालाई झुल वितरण

नारायणगढ, ८ असार । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय र स्वास्थ्य सेवा विभागको सहयोगमा देवघाटका विभिन्न आश्रममा रहेका ५ सय जना वृद्धवृद्धालाई झुल वितरण गरेको छ । देवघाटका गलेश्वर आश्रम, हरिहर सन्न्यास आश्रम, एनआरएन वृद्धाश्रम, थेर्वालिङ बौद्ध गुम्बा, राममन्दिर र रोटरी करुणालयमा रहेका वृद्धवृद्धालाई झुल वितरण गरिएको हो । नेपाल रेडक्रस सोसाइटी देवघाट उपशाखाका सभापति दिव्यदेव पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रसका केन्द्रीय अध्यक्ष संञ्जिव थापा रहेका थिए ।

लायन्स क्लबको अवार्ड वितरण

रत्ननगर, ८ जेठ । लायन्स क्लब अफ चितवन राइनो सिटीको स्थापना दिवसको अवसरमा चार्टर रात्री तथा अवार्ड वितरण कार्यक्रम गरिएको छ । आठौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा लायन्स अफ दि इयर अवार्ड युगबहादुर थापालाई प्रदान गरिएको थियो । कार्यक्रममा लायन्सको विभिन्न गतिविधिमा उल्लेखनीय योगदान गर्ने सदस्यहरुलाई पनि सम्मान गरिएको थियो । वर्ष २०१५÷२०१६ का अध्यक्ष वेदप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशिराम गैरे, संस्थापनक मेयर नारायण वन, संस्थाका संस्थापक अध्यक्ष रामकुमार तिवारी, पूर्वअध्यक्ष राजाराम रेग्मी, निरज श्रेष्ठ, लायन्स क्लब अफ चितवन सौराहाका अध्यक्ष प्रकाशचन्द्र भट्टराई, एरिया चिफ राम श्रेष्ठ, प्रथम उपाध्यक्ष उमेर गिरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । क्लबले विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न बस्तीमा छात्रवृत्ति, असहाय केन्द्रमा सहयोग, भूकम्पपीडितलाई आर्थिक सहयोग, एसएलसीमा उत्कृष्ट छात्रछात्रालाई सम्मान एवम् गैंडा दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम समेत गर्दै आएको संस्थाका अध्यक्ष वेदप्रसाद आचार्यले बताए ।

युवालाई लागुऔषधविरुद्ध प्रशिक्षण

रत्ननगर, ८ असार । रत्ननगर ४ का युवा तथा बालबालिकाहरुलाई लागुऔषध दुव्र्यसनविरुद्ध प्रशिक्षण दिइएको छ । वडा नागरिक मञ्चको समन्वय तथा रत्ननगर नगरपालिकाको सहयोगमा लागु औषध दुव्र्यसनी कार्यक्रम उपभोक्ता समितिको आयोजनामा उनीहरुलाई प्रशिक्षण दिइएको हो । निम्न माध्यमिक विद्यालय देवौली र वुद्धज्योति इङ्ग्लिस बोर्डिङ स्कुलका विद्यार्थी लगायत स्थानीय क्लबका प्रतिनिधिहरु सहभागी तालिममा इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक जयराज सापकोटाले लागुऔषध, दुव्र्यसनको असर, कानुनी उपचार र बच्ने उपायबारे सहजीकण गरेका थिए । तालिमको उद्घाटन गर्दै रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरेले बालबालिकालाई दुव्र्यसनबाट बचाउन अभिभावक बढी चनाखो हुनु पर्ने बताए । उद्घाटन कार्यक्रम वडा नागरिक मञ्चकी संयोजक ज्वाला वनको अध्यक्षतामा भएको थियो ।

बालश्रम न्यूनीकरण कार्यक्रमको अनुगमन

रत्ननगर, ८ जेठ । रत्ननगर नगरपालिकामा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रम अन्तर्गत भएका कामहरुको मंगलबार अनुगमन गरिएको छ । युनिसेफको आर्थिक सहयोगमा नगरपालिकामा सञ्चालित कार्यक्रम अन्तर्गत उद्योग वाणिज्य संघले बालश्रम न्यूनीकरणको लागि गरिएको कामहरुको नगरपालिका, उद्योग वाणिज्य संघ र पत्रकारहरुको टोलीले अनुगमन गरेको हो । संघले श्रमिक बालबालिकाहरुलाई श्रमबाट मुक्त गरी शिक्षा र परिवारको आयआर्जनको लागि सिलाईकटाई, रिक्सा खरिद, किराना पसल, होटल व्यवसाय सञ्चालनको लागि आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ । संघले सहयोग गरी गरिएका कामहरुको प्रभावकारिताका विषयमा टोलीले अनुगमन गरेको हो । अनुगमनपछि आयोजित समीक्षा कार्यक्रममा सन् २०१७ सम्म नगरपालिकालाई बालश्रममुक्त तथा सन् २०१९ सम्म बालमैत्री नगरपालिका बनाउने लक्ष्य पूरा गर्न अभियानलाई चुस्त बनाउन सुझाव दिएका थिए । कार्यक्रममा रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरे, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विसुराल, नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख तेजेन्द्रनाथ लामिछाने, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शिशिर सिंखडा, पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

स्वीकृतिबिना संचालित स्वास्थ्य संस्था बन्द

रत्ननगर, ८ असार । स्वीकृतिबिना संचालनमा रहेका रत्ननगरका ३ वटा स्वास्थ्य संस्था मंगलबार बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जनस्वास्थ्य कार्यालयको टोलीले गरेको अनुगमनका क्रममा स्वीकृति लिएको कागजात नभेटिएपछि ती संस्थाहरु बन्द गरिएको हो । रत्ननगरको क्षितिज डेण्टल केयर, चित्रसेन हेल्थ क्लिनिक र नेपाल भेटेरेनरी कन्सल्टेन्सी बन्द गराइएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओमनारायण शर्माले जानकारी दिए । टोलीले रत्ननगरका १३ वटा मेडिकल तथा ८ वटा कन्सल्टेन्सीको अनुगमन गरेको थियो । अनुगमनका क्रममा बरदान मेडिकल, भारद्वाज आयुर्वेद औषधालय, सिरडी फार्मेसीलगायतमा स्वीकृतिप्राप्त व्यक्तिले औषधि बिक्री गर्नुपर्नेमा त्यसो नभएकाले बन्द गरिएको बजार संरक्षण अधिकृत शर्माले बताए । शिक्षा मन्त्रालयको स्वीकृतिबिना सञ्चालनमा आएका कन्सल्टेन्सीलाई बन्द गर्न निर्देशन दिई केही दिन अगाडिदेखि गरेको अनुगमनपछि पूर्वी क्षेत्रका कन्सल्टेन्सी बन्द भएको उनले बताए । स्वीकृति नलिएका त्यस्ता संस्था बन्द गर्न निर्देशन दिएपछि अनुगमनका क्रममा धेरै संस्था बन्द भएको आफूले पाएको उनले जानकारी दिए । विदेश पठाउनका लागि खोलिएका म्यानपावरहरुको पनि अनुगमन भएको उनले बताए । पूर्वी क्षेत्रमा ती संस्था नभएको पाइएको उनले बताए । यसैबीच, बजार अनुगमन टोलीले रत्ननगरका १० वटा किराना पसल र होटलको अनुगमन गरेको छ । उक्त अनुगमनका क्रममा २ वटा होटलले अखाद्य सामग्रीको प्रयोग गरी मिठाई बिक्री गरेको पाइएको खाद्य निरीक्षक नवीन देउजाले बताए । उनका अनुसार, रत्ननगर १ बकुल्लहरमा रहेको शुभकामना स्वीट हाउस र रत्ननगर २ टाँडीमा रहेको हाम्रो होटल स्वीट एण्ड चाट हाउसले अखाद्य हाइड्रो नामक सामान मिठाईमा प्रयोग गर्ने गरेका छन् । अखाद्य सामान प्रयोग गर्ने ती दुई होटललाई खाद्य ऐन बमोजिम कारवाही हुने खाद्य निरीक्षक देउजाले बताए । अनुगमन गरिएका होटलहरुमा सरसफाई समेत नभएको पाइएको छ । अनुगमनका क्रममा किराना पसलहरुमा म्याद सकिएको सामग्री राखिएको, मूल्यसूची नभएको पाइएको देउजाले बताए । म्याद सकिएको सामान नष्ट गरिएको उनले बताए ।

५४ योजनाको सम्झौता भएन, १७ लाख फ्रिज हुने पक्का जिविसको बजेट सक्न हतारमा काम

बसन्त ढुंगाना भरतपुर, ७ असार । जिल्ला विकास समिति चितवनले चालु आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको ५४ योजनाको हालसम्म सम्झौता हुन सकेको छैन । अहिलेसम्म सम्झौता नभएका योजनाहरुको बजेट फ्रिज भएर जाने चितवन जिविस योजना शाखाका अधिकृत टीकाराम कँडेलले बताए । चितवन जिविसले चालु आर्थिक वर्षका लागि सात सय २७ योजनाका लागि बजेट व्यवस्था गरेको थियो । तीमध्ये हालसम्म छ सय ७३ वटा योजनामात्र सम्भmौता भएको अधिकृत कँडेलको भनाई छ । सम्झौता भएकामध्ये हालसम्म दुई सय २१ वटा योजनाहरु सम्पन्न भैसकेको र अन्य योजनाको काम अन्तिम चरणमा पुगेको बताइन्छ । पूर्वाधारतर्फ बजेट विनियोजन भएका पाँच सय १२ योजनामध्ये पाँच सय योजनामात्र सम्झौता भएको छ । १२ वटा योजनामा सम्झौता भएको छैन । तीमध्ये केन्द्रीय योजनामा परेको पर्साको मगनीहुँदै रक्सौली जाने सडक, आर्थिक केन्द्र जोड्ने सडक योजना अन्तर्गत भरतपुर–८ मा पर्ने बाइर्सविघाको सडक, सँस्कृति प्रवद्धनसम्बन्धी दुई योजनाहरु दराई संग्रालय र थारु कूलपुजा मन्दिर निर्माण, एउटा निर्वाचन क्षेत्रतर्फको योजना र पाँचवटा जिविस अनुदानतर्फको योजनाको सम्झौता भएको छैन । ति योजनाका लागि छुट्याइएको १७ लाख रकम फ्रिज हुने निश्चित भएको हो । यस वर्षमात्र होइन, हरेक आर्थिक वर्ष सकिनै लाग्दा चितवन जिविसले विकासको काममा तीब्रता दिने गरेको छ । आर्थिक वर्ष सकिनै लाग्दा जिविसबाट रकम विनियोजित योजनाका कामहरु हतार–हतार सम्पन्न गर्न थालिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा ३३ प्रतिशत काममात्र सम्पन्न भएको तथ्याङ्क चितवन जिविससँग छ । ‘अहिले काम सकेर भुक्तानी लिन आउने क्रम बढेको छ, कतिपय योजनाहरु सम्पन्न हुने अवस्थामा छन्’ उनले भने ‘सम्झौता भएका अधिकाँश योजनाहरु असार मसान्तभित्र सम्पन्न हुन्छन्’ । आर्थिक वर्षको अन्तिममा सम्झौता भएका योजनाहरु सम्पन्न गर्नै हतार हुन्छ । हतार नगरे बजेट फ्रिज हुन जान्छ । यसरी बजेट सक्नकै लागि हतारमा गरिएका कामहरु गुणस्तरीय हुँदैनन् । भरतपुर १० का टंक चालिसे आर्थिक वर्षको अन्तिममा गरिने योजनाको काममा बजेट सक्नेमात्रै ध्याउन्न हुने बताउँछन् । ‘असार लागेपछि बिछ्याएको ग्राभेल बर्षाभरिमा हराउँछ, यस्तै असारमा गरेको पीच असोज नपुग्दै उप्कन्छ’ उनले भने ‘हतार–हतारमा योजना सक्नुभन्दा जिविसले पहिलेदेखि नै बजेट व्यवस्था गरेर गुणस्तरीय काम गर्न प्रोत्साहन गर्नुपर्दछ ।’ जिल्ला विकास समिति चितवनको आन्तिरक स्रोतबाट सञ्चालित योजनाको बजेट भने फ्रिज हुँदैनन् , यी योजनाहरु निरन्तर रुपमा चलिरहन्छन् । आन्तरिकतर्फ दुई सय १५ योजनामध्ये एक सय ७३ वटामा योजनाहरु सम्झौता भैसकेका छन् । ८२ वटा योजना सम्पन्न भैसकेका छन् भने ४२ वटा योजनाको अझै सम्झौता भएको छैन । स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेल झन्झटिलो नियमको कारण जिल्ला विकास समितिबाट हुने विकास निमार्णका कामहरु समयमै सम्पन्न हुन नसकेको बताउँछन् । ‘समयमा बजेट आउँदैन, जिविसलाई अख्तियारी पनि ढिला आउँछ’, उनले भने ‘बजेट ढिलो आयो भनेर नियम पूरा नगर्न मिलेन, यसले आर्थिक वर्षको अन्तिममा काम गर्न बाध्यता हुन्छ ।’ यस आर्थिक वर्षमा भूकम्प, नाकाबन्दी र निर्माण सामग्री समयमा नपाउँदा पूर्वाधारतर्फका योजानाहरु सम्पन्न हुन ढिलाई भएको पोखरेलले बताए । ‘६० लाखभन्दा बढीको योजना ठेकेदारमार्फत काम गर्नुपर्छ, ठेक्का लगाउन सार्वजनिक खरिद ऐनका प्रावधान पूरा गर्नुपर्दछ’ उनले भने ‘एक महिना त टेण्डर आह्वान गर्नै समय लाग्छ, हाम्रो नियम र प्रकृया लामो भएकाले विकास निर्माणको कामले गति लिन सक्दैनन् ।’ ६० लाख मुनीका योजनाहरु उपभोक्ता समितिमार्फत काम गर्न सकिने भएपनि समयमा उपभोक्ता समिति गठन हुन नसक्दा समस्या पर्ने गरेको उनको भनाई छ । स्थानीय विकास अधिकारी पोखरेलले त्यति हुँदाहुँदै पनि जिविसबाट हुने विकास निमार्णका काममा गुणस्तरको ख्याल गरिने बताए । ‘हामी ढुंगा, गिटी, बालुवाको ल्याव–टेस्ट गछौँ, कम्तीमा पनि तीन पटकसम्म कामको अनुगमन गछौँ’ उनले भने ‘पाँच लाखभन्दा बढीका योजनाहरुमा सामाजिक परीक्षण गरेरमात्र भुक्तानी दिन्छौँ ।’