Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार

समाचार

पत्रकारिता तालिमको समापन

नारायणगढ, ७ असार । समतामूलक समाज निर्माणको लागि नेपाली पत्रकारिताको क्षेत्रमा दलित समुदायको उपस्थिति बढाउनु आवश्यक रहेको भरतपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । भरतपुर उपमहानगरपालिकाको सहयोगमा संयुक्त राजनीतिक दलित सघर्ष समितिले असार १ गतेदेखि दलित युवाहरुको लागि सञ्चालित पाँच दिने पत्रकारिता तालिमको समापन कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले दलित समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि पत्रकारितामा दलित समुदायको उपस्थिति महत्वपूर्ण रहने बताए । उनले तालिममा सिकेको कुरा व्यवहारमा उतार्नुपर्ने र आफ्नो अधिकारका लागि आफै अग्रसर हुनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले तालिम लिएकै आधारमा कसैको पनि व्यक्तित्व विकास हुन नसक्ने भन्दै तालिममा सहभागी युवाहरुलाई पत्रकारिता पेशामा आवद्ध हुन सल्लाह दिए । कार्यक्रममा भरतपुर उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत रामकृष्ण ढकाल, कार्यक्रम संयोजक विजय विकलगायतले मन्तव्य राखेका थिए । समापन समारोह संयुक्त राजनीतिक दलित सघर्ष समितिका अध्यक्ष भीमबहादुर विकको अध्यक्षतामा भएको थियो ।

बक्तृत्वकलामा चेपाङ भइन् प्रथम

नारायणगढ, ७ असार । नेपाल सरकार स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजनामा भएको ‘परिवार नियोजन, स्मार्ट बन्छ जीवन’ विषयक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा खैरहनीकी सुशीला चेपाङले प्रथम पुरस्कार प्राप्त गरेकी छिन् । पूर्वी चितवनको खैरहनीमा रहेको उच्च माध्यमिक विद्यालमा कक्षा १० मा अध्ययनरत सुशीलाले परिवार परिवार योजनाको बारेमा बोलेर पुरस्कार प्राप्त गरेकी हुन् । आठ जना प्रतियोगीहरु मध्ये एलिशा भट्ट दोश्रा र राजन खड्का तेश्रा भए । प्रतियोगितामा बोल्ने क्रममा छात्रछात्राहरुले २० वर्ष पछिमात्र विवाह गर्नुपर्ने, योजना गरेरमात्र सन्तान जन्माउनुपर्ने, सन्तान थोरै जन्माउँदा बच्चा र आमाको स्वास्थ्य राम्रो हुने, बच्चालाई पोषण, राम्रो शिक्षा दिन सकिने बताए । उनीहरुले जन्मान्तर कायम गर्नका लागि परिवार नियोजनका साधन प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए । खैरहनी उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक भरतप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खैरहनी हेल्थपोष्टका हेल्थ असिस्टेन्ट इन्द्रविलास ढकाल लगायतले मन्तव्य राखेका थिए । यस्तै कार्यक्रम यसअघि भण्डारा, कठार र कविलासस्थित माध्यमिक विद्यालयमा सम्पन्न भइसकेको छ ।

बरण्डाभार वन संरक्षित परिषद् गठन

नारायणगढ, ७ असार । चितवनमा रहेका बरण्डाभार संरक्षित सामुदायिक वनको मूल बरण्डाभार संरक्षित परिषद् गठन पाँच वर्षपछि भएको छ । जिल्ला वन कार्यालयको संयोजकत्वमा बरण्डाभार क्षेत्रका सामुदायिक वनका पदाधिकारीहरु बीच आईतबार बसेका बैठकले जेष्ठ नागरिक ब्रतवहादुर गुरुङको सयोजनमा मूल परिषद् गठन भएको हो । वरण्डाभार क्षेत्रका १७ वटा सामुदायीक वन र जिल्ला वन कार्यालयको सदस्य सचिव हुने गरी नौ सदस्यीय मूल परिषद् गठन हुने साहायक वन अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए । वन मन्त्रालयको २०४९ को दफा २३ उपदफा (१) बमोजिम जिल्ला वन कार्यालयले मूल परिषद् गठन गर्नुअघि १७ वटा सामुदायिक वनमा ईकाई समिति गठन गरेको थियो । संरक्षित मुल परिषद् गठन भएपछि बरण्डाभार संरक्षीत वन, वनस्पति वन्यजन्तु र जैविक मार्गको एकिकृत व्यवस्थापन, स्थानिय समुदायको दिगो जिविकोपाजन गर्नका लागि सजिलो हुने उनको भनाई छ । नेपाल सरकारले २०६८ सालमा वरण्डाभार संरक्षित वनको परिषद् गठन गर्न निर्देशन दिएको थियो ।

अस्पतालमा अनुगमन

नारायणगढ, ७ असार । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले दिएको सेवा सुविधाको विषयमा जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले आइतबार अनुगमन गरेको छ । प्रजिअ विनोदप्रकाश सिंहको नेतृत्वको टोली अस्पताल पुगेर अस्पतालको निरीक्षण गर्नुका साथै विरामीका आफन्तहरुको गुनासो संकलन गरेका थिए । उक्त क्रममा बिरामीका आफन्तले अस्पतालको ल्यावमा हुने परीक्षण पनि भित्र नगरेर बाहिर जान बाध्य भएको गुनासो गरेका थिए । टोलीले निरीक्षणको क्रममा अस्पतालका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक र अन्य कर्मचारीसँग पनि अस्पतालको सेवा सुविधाबारे सोधपुछ गरेका थिए । प्रशासनले क्यान्सर अस्पतालभित्रका केही कर्मचारी र केही बाहिरका व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाएपछि हाल अस्पतालमा बिचौलियको धन्दा भने कम भएको छ ।

कोकाकोला कपको उपाधि स्मल हेभनलाई

नारायणगढ ७ असार । अन्तर विद्यालय कोकाकोला कप फुटबलको उपाधि स्मल हेभन स्कूल कल्याणपुरले जितेको छ । सोमबार क्याम्पाचौरमा भएको फाइनल खेलमा प्रतिस्पर्धी स्काइराइडर बोर्डिङ स्कूल रत्ननगरलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै स्मल हेभन च्याम्पियन बनेको हो । उसका लागि पहिलो हाफको २९ औ मिनेटमा दिपेश मिश्रले गोल गरेका थिए । विजयी टिमलाई समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । चितवनका कुल ७९ विद्यालय सहभागी प्रतियोगितामा १५ वर्ष मुनिका विद्यार्थी सहभागी रहेका थिए । चितवन जिल्ला फुटवल संघको अयोजनामा भएको प्रतियोगिताका विजयी र उपविजेता टिमले क्षेत्रीय खेलमा सहभागिता जनाउने छन् ।

भरतपुरमा थालेसिमियाका ५२ विरामी

नारायणगढ, ७ असार । भरतपुर अस्पतालमा थालेसिमियाका ५२ जना विरामीहरूले निःशुल्क उपचार लिदै आएका छन् । उनीहरुको उपचार खर्च भरतपुर अस्पताल विकास समितिले आफैले व्यहोर्ने गरेको छ । थालेसिमियाका विरामीहरूलाई १५÷१५ दिनमा रगत दिनुपर्ने हुन्छ । अस्पतालले हरेक विरामीलाई महिनामा दुई पोका रगत र औषधि उपलब्ध गराउदै आएको सामाजिक सेवाका प्रमुख नारायण सापकोटाले जानकारी दिए । “आर्थिक रुपमा कमजोर व्यक्तिलाई नियमित रूपमा उपचार गराउन समस्या पर्ने भएकोले अस्पतालले निःशुल्क परीक्षण, औषधि र रगतको व्यवस्था गरिएको छ” सामाजिक सेवा प्रमुख सापकोटाले भने, “थालेसिमिया सोसाइटीको परिचय पत्रका आधारमा उनीहरूलाई सेवा प्रदान गरिन्छ ।” थालेसिमियाका विरामीहरूलाई अस्पतालले निःशुल्क रगत उपलब्ध गराए पनि उसले रक्त सञ्चार केन्द्रलाई भने बार्षिक रुपमा करिव पाँच लाख रकम बुझाउँछ । रक्त सञ्चार केन्द्र भरतपुरले प्रतिपोका रगतको आठ सय ५० रुपैयाँ लिने गरेको छ । “थालेसिमियाका विरामीहरुमा बोनम्यारो ट्रान्सप्लान्ट गर्नु नै अन्तिम बिकल्प हो’ अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. रूद्रप्रसाद मरासिनीले भने, “तर उक्त सेवा नेपालमा नै उपलब्ध नभएको र बिदेशमा गएर ट्रान्सप्लान्ट गर्न महंगो पर्ने भएकाले विरामीहरुलाई मासिक रुपमा रगत दिनुपर्ने अवस्था छ ।” भरतपुर अस्पतालमा एक बर्षको बच्चादेखि ४५ बर्ष उमेरसम्मका विरामीहरूले निःशुल्क उपचार लिंदै आएका छन् । जसमा महिला १६ जना र पुरुष ३६ जना छन् । तीमध्ये चितवनका ३५, नवलपरासीका १२, बाराका दुई, गोरखा, सर्लाही र बर्दियाका एक÷एक जना छन् । नियमित रूपमा उपचार गराउदै आएका थालेसिमियिाका विरामीमध्ये ३० जना थारू जातिका छन् । “थारू जातिमा बढी मात्रामा थालेसिमिया र सिकलसेल एनिमिया हुने गरेको पाइन्छ” भरतपुर अस्पताल फिजिसियन डा. भोजराज अधिकारीले भने, “हेमोग्लोविन बनाउने क्रोमोजोममा हुने गड्बडी जेनेटिक कारणबाट हुने भएकोले यस्तो समस्या आएको हो ।”

रक्तदान कार्यक्रम सम्पन्न

नारायणगढ, ७ असार । नारायणी मोटर्स नारायणगढ, एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रोट्रयाक्ट क्लब अफ भरतपुर र लायन्स क्लब अफ नारायणगढ बालकुमारीको संयुक्त आयोजनामा सोमबार नारायणगढमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १६ महिलासहित एक सय छ जनाले रक्तदान गरेको कार्यक्रमकी संयोजक नारायणाी मोटर्सकी प्रोपाइटर अनुसा चुकेले जानकारी दिइन् । नारायणी मोटर्सको प्राङ्गढमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी शाखाले प्राविधिक सहयोग गरेको थियो ।

कार्ययोजनाबारे जानकारी

कावासोती, ७ असार । बालमैत्री नगरपालिका घोषणाको तयारीमा जुटेको देवचुली नगरपालिकाले आयोजनामा लैङ्गिक हिंसा निगरानी समूहका सदस्यहरुलाई कार्ययोजनाको बारेमा जानकारी गराएको छ । देवचुली नगरपालिकालाई आगामी भदौ नौ गतेभित्र बालमैत्री नगर घोषणा गर्ने योजना अन्तर्गत यहाँका ४० जना अगुवा महिलाहरुलाई उक्त जानकारी गराइएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले बताए । उनीहरुलाई बालमैत्री स्थानीय शासनको अवधारणाको विकास, बालबालिकामा किन लगानी गर्नुपर्छ र यसको महत्व कस्तो रहेको छ ? देबचुली नगरपालिकाले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र कार्यान्वयन कार्यबिधीमा उल्लेख भएको ३९ सुचकहरुमा हालसम्म हासिल गरेको अबस्थाको बारेमा जानकारी गराइएको थियो । सोही अवसरमा लैङ्गिक हिंसा निगरानी समूहले बालमैत्री अभियानलाई वडा तहसम्म लैजाने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा देबचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुषाल, युनिसेफ नेपालका बालमैत्री सहजकर्ता शर्मिला पौडेल र जागृति बाल तथा युवा सरोकार नेपालका दिपक शर्माले सहजिकरण गरेका थिए ।

बक्तृत्वकला प्रतियोगिता

नारायणगढ, ७ असार । नेपाल स्काउटको ६४ औं स्थापना दिवसको अवसर पारेर नेपाल स्काउट चितवन शाखाले अन्तर विद्यालय स्काउट बक्तृवकला प्रतियोगिता सम्पन्न गरेको छ ।b कार्यक्रममा अरोमा उच्च माबि स्काउट ट्रुप प्रथम, बिद्या मेमोरियल स्काउट ट्रुप बिरेन्द्रनगर दोश्रा र प्रेमबस्ती उच्च माबि स्काउट ट्रुप तेश्रा भएका छन् । कार्यक्रममा विजयी स्काउट ट्रुपहरुलाई प्रमाणपत्र र नगद पुरस्कारले सम्मान गरिएको थियो । नेपाल स्काउट चितवनका जिल्ला आयुक्त तीर्थराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवनका स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला समन्वय आयुक्त रामप्रसाद पोख्रेललयातले मन्तव्य राखेका थिए । कार्यक्रममा २० विद्यालयका स्काउटको सहभागीता रहेको थियो ।