Sun01212018

Last update01:57:25 AM

Back You are here: Home समाचार

समाचार

एक्सपर्ट एजुकेसनको सेमिनार

चितवन, २४ चैत । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गर्दै बुधबार फ्री सेमिनार आयोजना गरेको छ ।
उच्चशिक्षाका लागि अष्ट्रेलियाका विभिन्न यूनिभर्सिटीबारे जानकारी लिन चाहने विद्यार्थीलाई लक्षित गर्दै सेमिनार आयोजना गरिएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस चितवनका प्रमुख डिल्लीराम अधिकारीले जानकारी दिए । सेमिनारमा अष्ट्रेलियाका ६ वटा यूनिभर्सिटीका प्रतिनिधिको प्रत्यक्ष सहभागितामा विद्यार्थीलाई परामर्श दिइएको थियो ।

योग तथा आयुर्वेद स्वास्थ्य शिविर

भरतपुर, २४ चैत । राम नवमीको अवसरमा लायन्स क्लब अफ चितवन सिटीको आयोजनामा उज्यालो लाईफ केयर आयुर्वेद अस्पतालको प्राविधिक सहयोग र धार्मिक सेवा समिति मौलाकालिकाको प्रायोजनमा निःशुल्क योग तथा आयुर्वेद स्वाथ्य परीक्षण शिविर मौलाकालिका मन्दिर परिसरमा बुधबार सम्पन्न भएको छ ।
पूर्वडिआइजी एवं धार्मिक सेवा समिति मौलाकालिकाका प्रमुख सल्लाहकार ज्ञानेन्द्रविक्रम महत प्रमुख अतिथि रहेको उक्त कार्यक्रम लायन्स क्लब अफ चितवन सिटीका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिकराम सापकोटा, लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु नेपालका जोन चेयर पर्सन नवीन कँडेल लगायतले बोलेका थिए ।
योगी नरहरीनाथ प्राकृतिक चिकित्सा गरुकुलम्का योग प्रशिक्षक योगाचार्य यदुनाथ पोखरेलद्धारा संचालित बिहानी योग सत्रमा करिब ७५ जनाले भाग लिएका थिए । जिल्ला आयुर्वेद केन्द्र चितवनका आयुर्वेद स्वास्थ्य चिकित्सक डा. धनवीर बुढाद्वारा परीक्षण गरिएको शिविरमा एक सय ५० जनाले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा हिमालयन कम्पनी, एविल फर्मास्युटिकल, ओजस फर्मास्युटिकल, रुद्रदेव कम्पनी, उपदेश हर्वल र अरुणा आयुर्वेदले विभिन्न औषधि निःशुल्क उपलब्ध गराएका थिए ।

सेनाबाट अवकाशपछि साईकल मर्मत पसल

वसन्त ढुंगाना
चितवन, २३ चैत । शारदानगरका सुरेशकुमार गुरुङ भारतमा हुर्के, बढे । मुस्लिम समुदायमा हुर्केका उनले साईकल मर्मत गर्न पनि सिके । तर त्यहाँ साईकल मर्मतको काम भने गर्न पाएनन् । भारतीय सेनाबाट अवकाश पाएपछि गुरुङले शारदानगरमा आएर साईकल मर्मत पसल खोलेका छन् ।
तीन सय रुपैयाँमा साईकल मर्मत पसल खोलेका गुरुङ यो पेशालाई आफ्नो जीवनकै राम्रो पेशा ठान्छन् । ‘मैले शारदानगरमा साईकल पसल खोल्दा यहाँ कतै साईकल पसल थिएनन् । साईकल मर्मत गर्न नारायणगढसम्म आउनुपथ्र्यो । त्यो दुःख सम्झेर पसल खोलेको हुँ । यस पेशाबाट छोराछोरी पढाएको छु’ फूर्तीसाथ गुरुङले भने, ‘मेरो पेन्सन एक दिन बुझे सकियो यसले केही पनि हुँदैन ।’
उनले दैनिक चार हजार रुपैयाँ आम्दानी गर्ने गरेको बताए । नयाँ साईकल बेच्न गाउँघरमा गाह्रो हुने उनले बताए । ‘अहिले मैले साईकल मर्मत गर्दागर्दै भात खाने फुर्सद हुँदैन । ६६ बर्षीय गुरुङले भने, ‘यो पेशा मलाई छोड्न मन लाग्दैन । अझै १० वर्ष यही पेशा गर्छु ।’
पटिहानीका ६५ बर्षीय कृष्ण डुम्रकोटी साईकलका ट्यूब र टायरसंग खेल्न थालेको ३५ वर्ष पुग्यो । त्यतिबेला लंकुमा रहेको खरेल पसलबाट छ सय रुपैयाँमा साईकल मर्मत सामग्री ल्याएर व्यवासाय सरु गरेका डुम्रकोटीले राम्रै आम्दानी गरेका छन् । ’मलाई पहिले परिवार पाल्न निकै गाह्रो थियो । त्यतिखेर जम्मा दुई कठ्ठा जमिनमात्र थियो । अन्य पेशा केही थिएन’ तनहुँबाट चितवन झरेको बताउने डुम्रकोटीले भने, ‘अहिले दिनमा साईकल मर्मतबाट मात्रै दैनिक सात हजार रुपैयाँ आम्दानी हुन्छ ।’
उनले पटिहानीकै सुन्दरचोकमा साईकल मर्मत पसल खोलेका छन् । साईकल मर्मत गर्दै आएका उनले यसलाई बिस्तार गर्दै पाँच वर्षदेखि नयाँ साईकल बिक्री गर्छन् । अहिलेसम्म ८ लाख रुपैयाँ लगानी पुगेको उनले बताए । उनले यही पेशाबाट छोराछोरीलाई हुर्काए, पढाए । अहिले २५ कठ्ठा जमिन समेत जोडेका उनले पहिले साईकलको बिक्री राम्रै भएपनि अहिले साईकलको माग क्रमशः घट्दै गएको बताए ।
२०३० सालमा खैरहनीका गोपाल श्रेष्ठले साईकल किने तर साईकल मर्मत गर्ने ठाउँ भने थिएन । साईकल मर्मत गर्नका लागि १२ किलोमिटर हिँडेर टाँडी आउनुपथ्र्यो । त्यो दुःख सम्झेर २०३१ सालबाट उनले साईकल मर्मत पसल खोले । ‘नारायणढमा मात्र साईकल स्टोर्स थियो । त्यहीबाट लगेर बेच्थेँ’ उनले भने, ‘पाँच सयको लगानीमा साईकल मर्मत पसल खोलेको हुँ ।’
दाह्री सबै सेता भैसकेका श्रेष्ठले अझै साईकल मर्मत गर्न छाडेका छैनन् । उनले अहिले पनि दैनिक पाँच सय रुपैयाँ आम्दानी गर्छन् । यही पेशाबाट परिवार धानेका उनी खुसी देखिन्छन् । ‘मेरो यो पेशाबाट परिवार पालिएका छन् । छोराहरुलाई पढाएँ’ उनले भने, ‘अब बाँचुन्जेल यही काम गर्छु ।’
कुनै समय साईकलको प्रयोग अत्याधिक हुने चितवन जिल्लामा पछिल्लो समय भने साईकलको प्रयोग कम भएको पाइन्छ । आधुनिक सवारी साधानको प्रयोगसंगै साईकलको प्रयोगमा कमी आएको हो । मानिसहरुले साईकल प्रयोगकर्तालाई हेयको दृष्टिले हेर्दा पनि साईकल प्रयोग गर्ने मानिसहरु घट्दै गएको चितवन साईकल व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष धर्मराज सापकोटा बताउँछन् ।
‘पहिले चितवन छोरीले साईकल चलाउन नजाने विवाह हुँदैन भन्ने जिल्ला हो । बिस्तारै साईकलको प्रयोग हराउँदै गएको छ । मान्छेहरु आर्थिक रुपमा सम्पन्न भएपछि साईकललाई छोडेर मोटरसाईकल चलाउन लागेको अवस्था छ’ उनले भने, चितवनमा पहिलेको तुलनामा बच्चाको साईकल र माउन्टेन साईकल बढी बिक्री हुन्छ ।’ उनले अहिले देखासिखिको कारणले गर्दा पनि चितवनमा साईकल नचढ्ने गरेको बताए ।
दीर्घ जीवन, वातावरण संरक्षण र इन्धन बचतका लागि साईकलको प्रयोग अति नै महत्वपूर्ण मानिन्छ । चितवनमा दुई सय ६५ वटा साईकल मर्मत तथा बिक्री पसल रहेका छन् । नेपालमा वार्षिक २५ हजार साईकल बिक्री हुने गरेको चितवन साईकल व्यवसायी संघको तथ्याङ्कमा उल्लेख छ ।
चितवन साईकल व्यवसायी संघका निवर्तमान अध्यक्ष तुलसी भण्डारी पहिलेको तुलनामा अहिले साईकल व्यवसाय घट्दै गएको बताउँछन् । ‘चितवनमा केही समय अघिसम्म साईकलको आवश्यकता थियो । अहिले चितवनमा साईकल शोखको रुपमा मात्र चलाइरहेको  अवस्था छ । पाँच वर्ष अगाडिसम्म लेडिज साईकल बिक्री हुन्थ्यो । अहिले त्यो पनि बिक्री हुने अवस्था छैन’ उनले भने, ‘बजार आर्थिक सबल भएर स्कुटी, मोटरसाईकल, अटो रिक्साको कारण साईकलको माग धेरै छैन ।’

गोरखा चितवन समाजको अभिनन्दन

भरतपुर, २४ चैत । पुख्र्यौली घर गोरखा भई चितवनमा बसोबास गर्दै आएका गोरखालीहरुको साझा संस्था गोरखा चितवन समाजले बुधबार भरतपुरमा नयाँ वर्ष २०७४ को अवसरमा शुभकामना आदानप्रदान तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा. ईश्वरीप्रसाद ढकाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा समाज तथा राष्ट्रलाई विभिन्न क्षेत्रबाट योगदान पु¥याउनु भएका चार जना ज्येष्ठ सदस्यहरुलाई सम्मान तथा अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा पुस्तक व्यवसायी सूर्यबहादुर मास्के, व्यापारी ध्रुवबाबु श्रेष्ठ, पूर्वमन्त्री लिलाराज विष्ट, समाजसेवी उमाकान्त दवाडीलाई गोरखा चितवन समाज स्थापना गर्न महत्वपुर्ण योगदान निर्वाह गरेको र राष्ट्रलाई नै अतुलनीय योगदान पु¥याएको भन्दै दोसल्ला ओढाएर सम्मानपत्रसहित अभिनन्दन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले विश्वसामु गोर्खालीहरुको उच्च सम्मान रहेको बताउँदै गोरखाको गरिमा उच्च राख्न अनुशासित र मर्यादित हुनुपर्नेमा जोड दिए ।
गोरखा चितवन समाजका अध्यक्ष भोजराज कौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका उपाध्यक्ष एवं कार्यक्रम संयोजक भेषराज दुवाडीले कार्यक्रमबारे जानकारी गराएका थिए । कार्यक्रममा समाजका सल्लाहकार केदारनाथ खनाल, भरतमणि पाण्डे, अभिनन्दित व्यक्तिहरु सूर्यबहादुर मास्के, ध्रुवबाबु श्रेष्ठ, लिलाराज विष्ट, उमाकान्त दवाडी लगायतले बोलेका थिए ।

सबै स्थानीय तह जित्ने एमालेको दाबी

शिशिर सिंखडा
खोलेसिमल, २३ चैत । नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोख्रेलले आगामी बैशाख ३१ गतेको स्थानीय तह निर्वाचनमा चितवनका सबै स्थानीय तहमा एमालेका उम्मेदवार विजयी हुने दाबी गरेका छन् ।
नेकपा एमालेको जनमुखी कामका कारण जनताले एमालेलाई माया गरेको उनले बताए । नेकपा एमाले कालिका नगरपालिका वडा नं. ६ वडा कमिटीद्वारा मंगलबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले अध्यक्ष पोख्रेलले कांग्रेस र माओवादीले स्थानीय तहको निर्वाचन गर्न नचाहेपनि एमालेको दबाबको कारण निर्वाचन गर्न बाध्य भएको बताए । नेकपा एमालेको देशभर जनलहर बढेकाले कांग्रेस र माओवादी अत्तालिएको समेत उनले बताए ।
चितवनको भरतपुर महानगरपालिका, कालिका, रत्ननगर, खैरहनी, राप्ती, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाका सबै तहमा एमालेको विजय सुनिश्चित भएको उनले दाबी गरे । जनताका हरेक सुख दुःखमा एमालेको साथ रहेकोले जनताले एमालेलाई मतदान गर्न आतुर रहेको आफूले पाएको उनले बताए ।
संविधान संशोधन गर्न एमाले बाधक रहेको भन्ने सत्ताधारी दलको धारणा गलत रहेको भन्दै चितवन क्षेत्र नं. ३ का सांसद समेत रहेका पोख्रेलले देशको सार्वभौमिकता र राष्ट्रियतामा आँच आउने गरी संविधान संशोधन गर्न नदिई देशलाई फिजीकरण हुनबाट एमालेले बचाइराखेको बताए ।
कार्यक्रममा युवा संघ वडा कमिटीमा निर्वाचित अध्यक्ष राजेन्द्र श्रेष्ठसहित १ सय १ जना युवालाई सपथग्रहण गराइएको थियो । नेकपा एमाले कालिका वडा नं. ६ का संयोजक होमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपसंयोजक चेतबहादुर थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेकपा एमालेका सचिवालय सदस्यहरु बिनोद रेग्मी, गोपी श्रेष्ठ, जयचन्द्रप्रसाद चौधरी, जिल्ला सल्लाहकार सदस्य यादवप्रसाद पाठक, पूर्व क्षेत्रीय सदस्य टिकाराज रिजाल, दिपक लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तीन जना चिकित्सकको सरुवा

चितवन, २४ चैत । भरतपुर अस्पतालका वरिष्ठ चिकित्सकहरु डा. विजयप्रसाद पौडेल, डा. सुनिलमणि पोखरेल र डा. कालिदास अधिकारीलाई स्वास्थ्य मन्त्रालयले सरुवा गरेको छ ।
निर्वाचन आचारसंहिता लागु भैसकेपछि स्वास्थ्यमन्त्री गगन थापाले पुरानो मिति राखेर यी चिकित्सकहरुको सरुवा गरिएको छ । गत फागुन १८ गतेबाट निर्वाचन आचारसंहिता लागेकोमा उनीहरुको सरुवा फागुन १७ गतेको मिति राखेर गरिएको बताइएको छ । डा. पौडेललाई दाङ, डा. पोखरेललाई बाग्लुङ र डा. अधिकारीलाई गोरखा सरुवा गरिएको हो ।

बेचबिखन रोक्न नीतिगत प्रयास आवश्यक

चितवन, २३ चैत । सीमा नाकामा हुने महिला तथा बालबालिका बेचबिखनका घटना न्यूनीकरण गर्न सरकारले नीतिगत प्रयास गर्नुपर्ने सीमा क्षेत्रका महिलाहरुले बताएका छन् ।
भारतीय सीमा नाकासँगै जोडिएको माडीको बगईमा भएको सीमा नाकामा हुने महिला तथा बालबालिका बेचबिखनविरुद्ध आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने महिलाहरुले बेचबिखन लगायतका आपराधिक घटना न्यूनीकरणका लागि राज्यस्तरबाट नै सचेतना लगायतका कार्यक्रम गर्नुपर्ने बताएका हुन् ।
जिल्ला बाल कल्याण समिति चितवनले आयोजना गरेको कार्यक्रममा बोल्दै अधिकारकर्मी तथा समितिकी सदस्य मीना खरेलले सीमा क्षेत्रको आसपासमा बस्ने महिलाहरुले आफ्ना बस्ती तथा बजारहरुमा नयाँ मानिस आउँदा सोधखोज गर्नुपर्ने बताइन् । उनले महिला तथा बालबालिका सीमा क्षेत्रमा जाँदा कस्ता मानिससँग जाने गरेका छन् भन्ने विषयलाई सीमा क्षेत्रकै बासिन्दाले चनाखो भएर बुझ्नु पर्ने बताइन् ।
नेकपा एमाले माडी नगर कमिटीका अध्यक्ष नारदमणी पौडेलले सुगम जिल्लाको दुर्गम ठाउँ भनेर चिनिने माडीमा यस्ता किसिमका चेतनामूलक कार्यक्रम अत्यावश्यक रहेको बताए । उनले समय समयमा महिलाहरुलाई विभिन्न प्रलोभनमा पारेर बेचबिखनका लागि लैजाने गरेका घटनाहरु देखिने गरेको र सीमा क्षेत्रका बासिन्दालाई यस्ता घटनालाई निरुत्साहित गर्ने खालका कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
माडी, बाँदरझुलाकी विष्णु लामिछानेले जनयुद्धको समयमा धेरैजसो महिला तथा बालबालिका हराएका र तिनीहरु अझै पनि फेला नपरेको बताइन् । विपन्न परिवारका महिलालाई वैदेशिक रोजगारका लागि पठाइदिन्छु भनेर लग्ने, भारतबाट विदेश जाँदा खर्च कम लाग्छ भन्नेजस्ता प्रलोभन देखाएर बेचबिखनका लागि लग्ने गरेको लामिछानेको भनाई छ ।
माडी नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा समितिकी मिठु आचार्यले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख महिला विकास अधिकृत शान्ताकुमारी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी क्षेत्रका झन्डै दुई सय जना महिलाको सहभागिता रहेको थियो ।

क्षेत्री युवाको साँस्कृतिक साँझ

नारायणगढ, २४ चैत । क्षेत्री युवा समाज चितवनले नयाँ वर्ष २०७४ को अवसर पारेर साँस्कृतिक साँझ कार्यक्रम गर्ने भएको छ ।
समाजले बुधबार भरतपुरमा पत्रकार सम्मलेन आयोजना गरेर चैत २६ गते शनिबार राष्ट्रिय कलाकारको प्रस्तुति रहने साँस्कृतिक कार्यक्रम गर्न लागेको जानकारी दिएको छ । भरतपुरको क्यान्सर अस्पतालको सभाहलमा आयोजना हुने कार्यक्रममा सुगम पोखरेल, पशुपति शर्मा लगायतका कलाकार ल्याएर कार्यक्रम गर्न लागेको जानकारी दिइएको छ ।
साँस्कृतिक कार्यक्रमबाट उठेको रकमको केही प्रतिशत अनाथ तथा बालबालिकालाई सहयोग गर्ने आयोजकले बताएका छन् । टिकट दर एक हजार र पाँच सय रुपैयाँ तोकिएको छ । कार्यक्रमबाट ६ लाख ५० हजार रुपैयाँ उठाउने लक्ष्य लिइएको छ ।

एमालेको सचिवालय गठन

रत्ननगर, २३ चैत । नेकपा एमाले रत्ननगर वडा नम्बर ९ वडा कमिटीको मंगलबार सम्पन्न पहिलो बैठकले सचिवालय गठन गरेको छ ।
वडा कमिटीका संयोजक कमानसिंह चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा ११ सदस्यीय सचिवालय गठन गरिएको हो । बैठकले चैत २६ गते भानुचोकमा पार्टी वडा कार्यालय स्थापना गरी निर्वाचन प्रचार प्रसारको काम सुरु गर्ने निर्णय गरेको क्षेत्रीय सचिवालय सदस्य सरस्वती लामाले जानकारी दिइन् ।
बैठकमा जिल्ला सचिवालय सदस्य तथा वडा इन्चार्ज सुशिला लामिछाने, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य विष्णुहरि देवकोटा, जिल्ला सल्लाहकार सदस्य महादेवी खतिवडा, क्षेत्रीय सचिवालय सदस्य झलकराज खनाल, नगर सदस्यहरु इसारा तामाङ र इश्वरीप्रसाद लामिछाने लगायतले बोलेका थिए ।