Sun01212018

Last update01:57:25 AM

Back You are here: Home समाचार

समाचार

यामाहाको नयाँ वर्ष योजना

नारायणगढ, २३ चैत । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली नयाँ वर्ष २०७४ लाई लक्षित गरी ल्याएको नयाँ ग्राहक योजनामा नारायणगढका १ जनाले ५० हजार र २ जना ग्राहकले २५÷२५ हजार रुपैयाँ पुरस्कार जितेका छन् ।
यामाहाले १५ चैतबाट ‘विस काउन्ट’ योजना ल्याएको थियो, जसमा सावित्री पौडेलले ५० हजार तथा अन्जु लोप्चन र उदयचन्द्र चौधरीले जनही २५ हजार रुपैयाँ जितेका हुन् । उनीहरु तिनै जनाले नारायणगढका लागि यामाहाको आधिकारिक विक्रेता नवीन अटो सेन्टरबाट यामाहा मोटरसाइकल र स्कुटर किनेका थिए ।

बखान सहकारीका संस्थापकलाई सम्मान

गैंडाकोट, २३ चैत । नेपालको पहिलो सहकारी बखान सहकारी संस्थाका संस्थापक चन्द्रध्वज गुरुङ ६० औं राष्ट्रिय सहकारी दिवसको अवसरमा गैंडाकोटमा आयोजित कार्यक्रममा सम्मानित भएका छन् ।
गैंडाकोट नगर सहकारी समन्वय मञ्चले आयोजना गरेको कार्यक्रममा बखानका संस्थापक तथा वर्तमान सल्लाहकार गुरुङ सम्मानित भएका हुन् । नेपालमा २०१३ साल चैत २० मा पहिलो सहकारी बखान सहकारी दर्ता भएको थियो । कार्यक्रममा खेमराज सापकोटा, डिलाराम कँडेल र अक्कलध्वज गुरुङलाई पनि सम्मान गरिएको थियो ।
मञ्चका सचिव दीपक पाण्डेका अनुसार, गैंडाकोट क्षेत्रमा रहेका ९५ वर्ष उमेर पार भएका २० जना वृद्धवृद्धालाई पनि सम्मान गरिएको थियो । गैंडाकोट नगरपालिकाका कार्यकारी अधिकृत शिवप्रसाद रिजाल प्रमुख अतिथि रहेको कार्यक्रम मञ्चका अध्यक्ष वेदप्रसाद गौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । मञ्चका कोषाध्यक्ष चन्द्रमणि पौडेलले स्वागत मन्तब्य राखेका थिए ।

द्वन्द्वपीडितको सम्मानसँगै अभिमुखीकरण

चितवन, २२ चैत । सहिद स्मृति प्रतिष्ठान नेपाल चितवनले द्वन्द्वपीडित सम्मान तथा द्वन्द्व व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
सांसद सन्तु दरै प्रमुख अतिथि रहेको कार्यक्रममा ६०  जना सहिद परिवार, घाइते, अपाङ्ता भएका व्यक्ति, जेल जीवन बिताएका तथा विस्थापित व्यक्तिहरुको सहभागिता रहेको थियो । चितवनबाट द्वन्द्वको समयमा एक सय सात जनाको ज्यान गएको छ भने १९ जना बेपत्ता भएका छन् ।
जेल जीवन बिताउने दुई सय, विस्थापित ५० र घाइते ५० जना रहेको सहिद स्मृति प्रतिष्ठान नेपालको तथ्याङ्कमा उल्लेख छ । सहिद स्मृति प्रतिष्ठान नेपाल चितवनकी अध्यक्ष संगिता भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

अस्पतालमा हाजिरी जवाफ

चितवन, २३ चैत । भरतपुर अस्पतालको  ५४ औ वार्षिकोत्सवको अवसरमा अन्तर नर्सिङ कलेज हाजिरी जवाफ प्रतियोगिता गरिएको छ ।
प्रतियोगितामा आईओएमटी कलेज प्रथम, बालकुमारी कलेज द्वितीय, श्री मेडिकल कलेज तृतीय र पुरानो मेडिकल कलेजले सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगितामा चितवनका १० वटा नर्सिङ कलेजको सहभागिता रहेको थियो ।

समृद्धिका लागि उत्पादनमा जोड

चितवन, २३ चैत । भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले देशलाई समृद्ध बनाउन उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।
चितवन उद्योग संघले मंगलबार आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत जोशीले व्यापारलाई मात्र जोड नदिई उत्पादनलाई मूख्य जोड दिनुपर्ने बताए । उनले देशको औद्योगिक वातावरण विकास नगरेसम्म देश विकास नहुने भन्दै हरेक प्रदेशहरुमा औद्योगिक वातावरण राम्रो बन्नुपर्ने बताए ।
उनले चितवनको भरतपुर महानगरपालिकासंगै अन्य नगरपालिकामाहरुमा आर्थिक कारोबार बढाउन उत्पादनमा जोड दिनुपर्ने बताए । उनले चितवन उद्योग संघको अगुवाईमा निर्माण हुन लागेको चितवन प्रदर्शनी केन्द्र र शक्तिखोर औद्योगिक क्षेत्र निर्माणमा हरेक तवरले सहयोग गर्न आफू तयार रहेको बताए ।
कालिका नगरपालिकाका कार्यकारी अधिृकत रमेश सुवेदीले शक्तिखोरमा निर्माण हुन लागेको औद्योगिक क्षेत्रका लागि आफूले सक्दो सहयोग गर्ने बताए । उनले उद्योगीहरुलाई सहज वातावरण बनाउन आफू सदैव तयार रहेको बताए । चितवन उद्योग संघका अध्यक्ष भीमबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका द्वितीय उपाध्यक्ष राजु पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

क्याम्पस प्रशासनमा तालाबन्दी

चितवन, २३ चैत । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस कमिटी वीरेन्द्र बहुमुखी क्याम्पसले सातबुँदे माग गर्दै क्याम्पस प्रशासनको मूलढोकामा तालाबन्दी गरेको छ । 
आफूहरुको मागका बिषयमा पटकपटक क्याम्पस प्रशासनको ध्यानाकर्षण गराउँदा समेत माग सम्बोधन नभएकोले बाध्य भएर तालाबन्दी गरेको कमिटी अध्यक्ष लिलाराम पौडेलको भनाई छ ।
एक वर्षदेखि रोकिएको निःशुल्क छात्रवृत्ति तत्काल वितरण गनुपर्ने, निजी स्रोतबाट संचालित शैक्षिक कार्यक्रमहरुमा अध्ययनरत विद्यार्थीलाई तत्काल निःशुल्क छात्रवृत्ति वितरण प्रक्रिया अघि बढाउनुपर्ने, पुस्तकालयमा तत्काल नयाँ संस्करणका पुस्तक ब्यवस्था गर्नुपर्ने लगायतका माग रहेका छन् ।

मधेशी दल निर्वाचनमा सहभागी हुन्छन् ः थापा

चितवन, २३ चैत । नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख रामबहादुर थापाले मधेसी दलहरु स्थानीय तहको निर्वाचनमा सहभागी हुने बताएका छन् ।
जनप्रगतिशील मञ्च प्रवास लागुऔषध मुक्ति अभियानले आयोजना गरेको सहिद, बेपत्ता, घाइतेको सम्मान कार्यक्रममा बोल्दै थापाले सरकारले निर्वाचनका विषयमा मधेसी मोर्चासँग छलफल गरेकाले केही दिनभित्रै सहमति हुने दाबी गरे । निर्वाचन तोकिएकै मितिमा हुने भन्दै उनले कार्यकर्तालाई चुनाव प्रचार प्रसारमा लाग्न आग्रह गरे ।
उनले अहिले नयाँ दलहरुले ल्याएको चुनाव चिह्नको विवाद तुरुन्तै अन्त्य हुने भन्दै संविधान उल्लङ्घन कसैले गर्न नपाइने बताए । अहिले गाउँगाउँमा चुनावी माहोल बनेको भन्दै थापाले यसलाई सफल बनाउन सबै जनतालाई आग्रह गरे । जनताका घरघर जाउँ माओवादी केन्द्रलाई विजयी गराउँ भन्ने अभियानका साथ थापा चुनावी प्रचार प्रसारका लागि चितवन आएका हुन्  ।
नेकपा माओवादी केन्द्रका नेता विश्वभक्त आहुतिले गाउँ र शहरमा स्थानीय तहको निर्वाचनको माहोल बनेको भन्दै माओवादीलाई जिताउनको लागि आग्रह गरे । जनताका उपलब्धिलाई संस्थागत गर्नका लागि स्थानीय तहको निर्वाचन आवश्यक रहेको भन्दै उनले यसको नेतृत्व गर्ने जिम्मेवारी माओवादीलाई दिने गरी जिताउनु पर्ने बताए ।
नेकपा माओवादी केन्द्र कालिका नगरपालिकाका संयोजक विवेक डल्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय स्तरका कालाकारहरु प्रमोद खरेल, जुना डिसी, काशीराम बुढामगर, सुलेमान शंकर (ईकु)ले आ–आफ्नो कला प्रस्तुत गरेका थिए ।

आश्रमलाई शिक्षकको सहयोग

भरतपुर, २३ चैत । झापाको मेचीनगरका शिक्षकहरुले चितवनको मानव सेवा आश्रमका असहायहरुलाई सहयोग गरेका छन् ।
मेचीनगरमा रहेको मेची विद्योदय प्राथमिक विद्यालयका शिक्षक शेरबहादुर बुढाथोकीको नेतृत्वमा आएको शिक्षकहरुको टोलीले चितवनको बाईपासरोडमा रहेको मानव सेवा आश्रमको अवलोकनपछि आश्रममा आश्रितहरुका लागि चिउरा, दाल र सरसफाईका सामग्री सहयोग गरेको हो ।
मंगलबार चैतेदशैँको अवसर पारी मुक्तिनाथ दर्शनका लागि मोटरसाईकल यात्रामा आएको आठ जनाको टोलीले आश्रममा रहेका असहाय, घरबारविहीन तथा मानसिक सन्तुलन गुमेका ५४ जना आश्रितहरुलाई सहयोग प्रदान गरेको हो । आश्रमकी संयोजक रुपा केसीले आश्रममा रहेकाहरुलाई सहयोगी मनहरुको मुठ्ठी मुठ्ठी दानबाट आश्रम चलेको जानकारी गराइन् ।


रत्ननगरमा चार सय बालश्रमिक

रत्ननगर, २३ चैत । चितवनको रत्ननगर क्षेत्रमा ४ सय २९ जना बालश्रमिक भेटिएका छन् ।
सन् २०१७ भित्र रत्ननगर नगरपालिकालाई बालश्रममुक्त घोषणा गर्ने लक्ष्यसहित यहाँ गरिएको सर्वेक्षणमा यस्तो पाइएको रत्ननगर उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष ज्ञानबादुर विसुरालले जानकारी दिए । रत्ननगरमा यसअघि ५ सय ८४ जना श्रमिक बालबालिका थिए ।
रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत अमरनाथ ढकालले बालश्रमिक राख्नु गैरकानुनी भएको बताउँदै समुन्नत समाज निर्माणका लागि सबैको हातेमालो जरुरी रहेको बताए । कानुन अनुसार १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि श्रममा तथा १४ देखि १८ वर्ष सम्मका बालबालिकालाई निकृष्ट काममा लगाउन पाइँदैन ।