समाचार
दियालोको साधारणसभा
चितवन, २७ पुस । भरतपुर उपमहानगरपालिका एकमा रहेको दियालो बचत तथा ऋण सहकारी संस्थाको १८ औं साधारणसभा मंगलबार जलदेवी पार्कमा सम्पन्न भएको छ ।
नेफ्स्कुन केन्द्रीय सदस्य शान्ति अधिकारी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा संंस्थाका उपाध्यक्ष कृष्णप्रसाद खनालले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार पूर्णबहादुर श्रेष्ठ, पूर्वअध्यक्ष रवि श्रेष्ठ, लेखा संयोजक जीवराज अधिकारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । साधारणसभामा असल ऋणी र संस्थामा आवद्ध वृद्धवृद्धाहरुलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष देवनाथ शर्मा कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव भीमनारायण श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कूल पँुजी ७७ लाख रहेको संस्थामा दुई सय ८४ जना महिलासहित पाँच सय १० जना सदस्य रहेका छन् ।
खिचरा महोत्सवको तयारी तीब्र
खैरहनी, २७ पुस । पुस २८ गतेदेखि माघ ५ गते सम्म गौचरनमा हुने चौथो खिचरा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
महोत्सवस्थल गौचरनमा स्टल निर्माणको काम धमाधम भइरहेको छ । सुन्दर खालका एक सय २० वटा स्टल र बालउद्यान निर्माणको काम अन्तिम चरणमा पुगेको छ । स्टल बुकिङको काम पनि अन्तिम अवस्थामा पुगेको बताइएको छ ।
थारु समुदायको पर्व माघीको अवसरमा आयोजना गरिएको महोत्सवमा २० वटा खाना, ८० वटा व्यावसायिक, १० वटा अटो र ६ वटा कृषिका स्टल रहने मूल आयोजक समिति संयोजक नारायण महतोले जानकारी दिए । खानाका स्टलहरुमा अनदिको भात, चिचर ,घोङ्गी, माछा, निच्चामाछा, हाँसको मासु लगायतका परिकार बिक्रीमा राखिनेछ ।
थारु संस्कृति संरक्षणमा जनचेतना जगाउने उद्देश्यले महोत्सव परिसरभित्र मिनी संग्रहालय तथा थारु परमपरागत घरहरु राखिने प्रचार प्रसार समितिका संयोजक सन्तकुमार चौधरीले जानकारी दिए । महोत्सव सम्पन्न गर्न आवश्यक पर्ने प्रचार प्रसार, स्टल निर्माण, गेट निर्माणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
महोत्सव सम्पन्न गर्न २० लाख रुपैयाँ खर्च लाग्ने र महोत्सवबाट भएको आम्दानीबाट थारु सांस्कृतिक संग्रहालय निर्माण गर्ने योजना रहेको आर्थिक समितिका संयोजक टिकेन्द्र चौधरीले जानकारी दिए । महोत्सवको सहआयोजकमा खैरहनी नगरपालिका, खैरहनी उद्योग वाणिज्य संघ, रत्ननगर उद्योग वाणिज्य संघ, चितवन उद्योग संघ, ओमश्री ट्रेडर्स र जिल्ला कृषि विकास कार्यालय रहेको छन् ।
सकियो क्षेत्र नम्बर एकको प्रतियोगिता
चितवन, २६ पुस । राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत चितवन क्षेत्र नम्बर एकको प्रतियोगिता सोमबार सकिएको छ ।
जिल्ला खेलकुद विकास समिति चितवनको आयोजनामा भएको प्रतियोगिताको अन्तिम दिन भलिबल, कबड्डी, ज्याभ्लिन थ्रो, रिले दौड लगायतका खेल भएका छन् । छात्र भलिबलमा वीरेन्द्र आदर्श माध्यमिक विद्यालय प्रथम र ब्रह्मनगर मावि द्वितीय भए । छात्रा भलिबलमा खैरहनी मावि प्रथम र वीरेन्द्र आदर्श मावि द्वितीय भएको प्रतियोगिताका संयोजक सुदन दराईले जानकारी दिए ।
कबड्डीको छात्रातर्फ खैरहनी मावि प्रथम र डेजी इङ्ग्लिस बोर्डिङ स्कुल द्वितीय भए । छात्रतर्फ ब्रह्मनगर मावि प्रथम र कपिया मावि द्वितीय भएका छन् । ज्याभ्लिन थ्रोको छात्रातर्फ वीरेन्द्र आदर्श माविकी सावित्री पुन प्रथम, खैरहनी माविकी सन्तोषी लामिछाने द्वितीय र कपिया माविकी सुस्मिता खत्री तृतीय भए । छात्रतर्फ कपिया माविका विशाल लामा प्रथम, वीरेन्द्र आदर्श माविका चन्दन चौधरी द्वितीय र खैरहनी माविका विनोद लामा तृतीय भएका छन् ।
यसैगरी, रिले दौडमा छात्रतर्फ वीरेन्द्र आदर्श मावि प्रथम र खैरहनी मावि द्वितीय भए भने छात्रातर्फ गवै मावि प्रथम र कठार मावि द्वितीय भए । प्रतियोगिताबाट छनौट भएकाहरुले जिल्लास्तरीय प्रतियोगिता प्रतिस्पर्धा गर्न पाउने जिल्ला खेलकुद विकास समिति चितवनका कोषाध्यक्ष केशव आचार्यले जानकारी दिए ।
प्रतियोगितामा टिम प्रथम हुनेले नगद ७५ हजार र ट्रफी तथा टिम द्वितीय हुनेले नगद ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । राष्ट्रपति रनिङ शिल्डको क्षेत्र नम्बर दुईको खेल पुस २७ गते हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामाले जानकारी दिए ।
यसैबीच, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत चितवनको क्षेत्र नम्बर चारको खेल प्राविधिक कारणले सरेको जिल्ला खेलकुद विकास समिति चितवनले जनाएको छ । सोमबार विज्ञप्ति निकालेर समितिका सचिव रामजी ढकालले माघ २ र ३ गते हुने भनिएको यस क्षेत्रको खेल माघ ९ र १० गतेका लागि सारिएको जानकारी दिएका हुन् ।
अनुमति नलिइकन सिसिक्यामेरा जडान
आनन्द पोखरेल
चितवन, २६ पुस । सुरक्षाको कारण देखाउँदै चितवन जिल्लाका विभिन्न क्षेत्रमा जडान गरिएका सबै सिसिक्यामेरा अनुमति नलिइकनै जडान भएको पाइएको छ ।
सिसिक्यामेरा जडान गर्दा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर जडान गर्नुपर्ने भएपनि कुनै पनि व्यक्ति तथा संघसंस्थाले स्थानीय प्रशासनबाट सिसिक्यामरा जडानका लागि अनुमति लिएका छैनन् । सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७२ जारी भएपछि अनिवार्य रुपमा सिसिक्यामेरा जडान गर्नको लागि स्थानीय प्रशासन वा गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।
सूचनाको हक सम्बन्धी काम गर्दै आएका शर्मिला पण्डित लगायतले चितवनमा जडान गरिएका सिसिक्यामेराबारे सूचना माग गरेपछि स्थानीय प्रशासनले चितवनमा सिसिक्यामेरा जडान गरेका व्यक्ति तथा संघसंस्थाले हालसम्म अनुमति नलिएको जानकारी दिएको हो । सिसिक्यामेरा जडानको लागि स्वीकृति पाउँ भनी पुसको २४ गतेसम्म जिल्ला प्रशासन कार्यालय चितवनमा कुनै पनि व्यक्ति तथा संस्थाले निवेदन नदिएको सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीले जानकारी दिए ।
वर्तमान अवस्थामा धेरै स्थानमा सिसिक्यामेरा प्रयोग भइरहेकोले उक्त कार्यलाई व्यवस्थित गर्न भन्दै २०७२ साल कात्तिक २५ गतेको मन्त्रीस्तरको निर्णयबाट सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७२ स्वीकृत भएको थियो । उक्त कार्यविधि स्वीकृत भएकै दिनदेखि लागू हुने समेत कार्यविधिमा उल्लेख गरिएको छ ।
अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा विद्युतीय उपकरणको प्रयोगलाई प्रभावकारी गराउन, सिसिटिभीको प्रयोगलाई प्रोत्साहन र व्यवस्थित गर्नु कार्यविधिको मुख्य उद्देश्य रहेको छ । सिसिक्यामेरालाई सार्वजनिक क्षेत्र, व्यापारिक क्षेत्र र निजी प्रयोगका लागि भनेर तीन तहमा वर्गीकरण गरिएको छ ।
सार्वजनिक स्थानको सुरक्षा व्यवस्था मजबुत बनाउन, अपराध न्यूनीकरण गर्न, अनुसन्धानमा सहयोग गर्न, ट्राफिक व्यवस्थापनमा सहयोग गर्न, सडक नियम उल्लंघन गर्नेलाई निरुत्साहित गर्नका लागि प्रयोग गरिने सिसिक्यामेरालाई सार्वजनिक क्षेत्रका लागि प्रयोग हुने सिसिक्यामेरामा राखिएको छ । बैंक, वित्तीय संस्था, सपिङ मल, होटल, मूल्यवान वस्तु तथा गरगहना व्यवसाय हुने स्थानहरुको सुरक्षार्थ सम्बन्धित व्यापारिक संघसंस्थाहरुबाट जडान गरिने सिसिक्यामेरालाई व्यापारिक प्रयोजनका लागि प्रयोग हुने सिसिक्यामेरामा वर्गीकरण गरिएको छ ।
कुनै पनि व्यक्तिले आफ्नो निजी सम्पत्तिको सुरक्षाको लागि निजी परिसरमा जडान गर्ने सिसिटिभीलाई निजी प्रयोजनको लागि भनेर वर्गीकरण गरिएको छ । सिसिक्यामेराको व्यवस्थापनका सम्बन्धमा सार्वजनिक स्थानमा जडान गरिने सिसिक्यामेराको लागि गृह मन्त्रालयसँग अग्रिम सहमति लिएरमात्र जडान तथा सञ्चालन गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
व्यापारिक र निजी प्रयोजनका लागि जडान गरिने सिसिक्यामेराका सम्बन्धमा व्यापारिक÷निजी सुरक्षा प्रयोजनको लागि सिसिटिभी जडान गर्न जिल्ला प्रशासन कार्यालयमा प्रयोजन खुलाई अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । सिसिक्यामेराले खिचेका दृश्यहरु गोप्य राख्नुपर्ने, शौचालय, चेन्जिङ रुम, होटलको बेडरुमजस्ता संवेदनशील क्षेत्रमा क्यामेरा जडान गर्न नपाइने, सिसिक्यामेरा राखिएको ठाउँमा सिसिक्यामेराको जानकारी दिनुपर्ने तथा उक्त दृश्यहरु तीन महिनासम्म सुरक्षित राख्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
चितवनमा जिल्ला प्रहरीलगायत, राजमार्ग, चितवन राष्ट्रिय निकुञ्ज, बैंक तथा वित्तीय संस्था र व्यक्तिहरुले समेत सिसिक्यामेरा जडान गरेका छन् । यसरी चितवनमा कति सिसिक्यामेरा जडान भएका छन् भन्ने तथ्यांक समेत जिल्ला प्रशासन कार्यालय चितवनमा छैन । कार्यविधि विपरीत सिसिक्यामेरा जडान एवम् सञ्चालन भए विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कारबाही हुने कार्यविधिमा उल्लेख छ ।
चित्रवनमा काँग्रेसको जागरण अभियान
चितवन, २६ पुस । नेपाली काँग्रेस चितवनको जागरण अभियान अन्तर्गत सोमबार पश्चिम चितवनको चित्रवन नगरपालिकामा कार्यक्रम गरिएको छ ।
वडा नम्बर छ र सातमा जागरणसभा तथा घरैदैलो कार्यक्रम गरिएको हो । संगठन सुदृढीकरण मात्र नभएर जनताको गुनासो सुन्ने माध्यमको रुपमा कार्यक्रम गरिएको नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीले बताए ।
बुथ सभापति आशमान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा महासमिति सदस्य दिनेश कोइराला, कार्यक्रम संयोजक हरिविलास कोइराला, नगर सभापति शालिकराम पौडेल, अभियान सदस्य कमलनाथ पौडेल, सृजना अधिकारी, भक्तबहादुर गुरुङ, महिला संघ वडा सभापति राधा चापागाई, प्राध्यापक संघका भानुभक्त अर्याल लगायतले बोलेका थिए ।
यसैबीच, वडा नम्बर सातमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ । बुथ सभापति रामकृष्ण पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा महासमिति सदस्य दिनेश कोइराला, संयोजक कृष्णहरी शर्मा, क्षेत्रीय सचिव गोपाल दराई, भवानी अधिकारी लगायतले बोलेका थिए ।
कवि अवतारसिं पासको चर्चा
चितवन, २६ पुस । जनसाँस्कृतिक महासंघ चितवनले नियमित संचालन गर्दै आइरहेको शारदा घरदैलो प्रतिभा प्रवाहको एक सय ४७ औँ श्रृंखला महासंघ चितवनका अध्यक्ष रामहरि श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।
भरतपुर उपमहानगरपालिका १६ का बद्री चापागाईंको सहआयोजनामा उनकै घर आँगनमा आयोजित कार्यक्रममा भारतीय कवि अवतारसिं पासको विशेष चर्चा र कविता वाचन गरिएको थियो । प्रमुख अतिथि दाङका कवि प्रमोद धिताल, चितवनकी कवि सरिता तिवारी, समालोचकद्वय उदय अधिकारी र डिआर पोखरेलले कवि पासको विषयमा विशेष प्रकाश पारेका थिए ।
कार्यक्रममा सुमन श्रेष्ठ, द्वारिका नेपाल र अनमोल कँडेलले कवि पासका कविता वाचन गरेका थिए । अनमोलमणि, राजेन्द्र घायल, शारदा पौैडेल, तुलसी पंडित, कृष्णप्रसाद पोखरेल, पूर्णबहादुर अधिकारी, इन्द्रप्रसाद रेग्मी लगायतले आफ्ना कविता वाचन गरेका थिए । २०६२ सालदेखि शुरु भएको घरदैलो साहित्यिक कार्यक्रम हालसम्म निरन्तर चलिरहेको छ ।
देवचुलीमा एमालेको प्रशिक्षण
नवलपरासी, २६ पुस । वर्तमान सन्दर्भमा नेकपा एमालेको भूमिका विषयक दुईदिने प्रशिक्षण नवलपरासीको देवचुली नगरपालिकामा सोमबारदेखि सुरु भएकोे छ ।
नेकपा एमाले नवलपरासी क्षेत्र नम्बर एकको आयोजनामा क्षेत्र स्तरीय प्रशिक्षण संचालन भएको हो । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार क्षेत्र नम्बर एकका अगुवा कार्यकर्ता केन्द्रित प्रशिक्षण आयोजना गरिएको नेकपा एमाले क्षेत्रीय अध्यक्ष होमनाथ जैसीले जानकारी दिए ।
राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान संविधान कार्यान्वयनमा एमालेको अभियान भन्ने मूल नारासहित देशब्यापी रुपमै प्रशिक्षण संचालन भएको एमाले स्थायी कमिटी सदस्य तथा पार्टि स्कुल विभागका उपप्रमुख शंकर पोख्रेलले बताए । वर्तमान सन्दर्भमा नेतृत्व अन्य दलले गरेपनि नीति एमालेको सिद्धान्त बमोजिम अघि बढेको पोख्रेलले दाबी गरे ।
कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य गणेश तिमिल्सेना, पार्टी स्कुल विभागका सचिव इश्वरी रिमाल, एमाले केन्द्रीय सदस्य तिलक महत, केन्द्रीय पार्टी स्कुल विभागका सदस्य बद्री खनाल लगायतले प्रशिक्षण दिनेछन् ।
ब्राह्मण समाज नेपालको नगर अधिवेशन
रत्ननगर, २६ पुस । ब्राह्मण समाज नेपाल राप्ती नगरपालिकाको प्रथम अधिवेशन आइतबार सम्पन्न भएको छ ।
नेपाल ब्राह्मण संघ केन्द्रीय सम्पादन समितिका सदस्य धु्रवराज शर्मा अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले चतुर्भुज तिमिल्सिनाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यक्रममा राप्ती नगर धार्मिक महोत्सव एवं बृहद श्रीमदभागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा भएको आयव्यय सार्वजनिक गरिएको थियो । महायज्ञका संयोजक भरत पाठकले महायज्ञबाट ४७ लाख ४४ हजार रुपैयाँ आम्दानी र ११ लाख ११ हजार रुपैयाँ खर्च भएको जानकारी दिए ।
हर्टल्याण्ड र क्यापिटल फाइनलमा
चितवन, २६ पुस । भरतपुरमा जारी क्रिकेट प्रतियोगितामा भरतपुरको ग्रेस वीरेन्द्रलाई १३ रनले पाखा लगाउँदै साविक उपविजेता काठमाडौंको हर्टल्याण्ड कलेज फाइनलमा प्रवेश गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको हर्टल्याण्डले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय १२ रन तयार पारेको थियोे । एक सय १२ रनको विजय लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको वीरेन्द्र १७ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै सय रनमा रोकियो । अलराउण्ड प्रदर्शन गरेका यज्ञमान कुमाल म्यान अफ द म्याच बने ।
सेमीफाइनलको अर्को खेलमा क्यापिटल कलेजले रामपुरको कृषि तथा वन विश्वविद्यालयलाई छ विकेटले हराउँदै फाइनल प्रवेश गरेको छ । टस जितेर ब्याटिङ राजेको रामपुरले १९ दशमलव दुई ओभरमा अलआउट हँुदै ६६ रनमा समेटियो । ६७ रनको लक्ष्य पछ्याएको क्यापिटल कलेजले छ ओभरमा चार विकेट गुमाएर जीत निकाल्यो । उत्कृष्ट बलिङ गरेका ललितसिंह भण्डारी म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिताको फाइनल खेल माघ ६ गते हुनेछ । १२ टोली सहभागी प्रतियोगिताको मुख्य प्रायोजक क्याची एजुकेशन कन्सल्टेन्सी रहेको छ ।

समाचार
