समाचार
पाँच पार्टीको संयुक्त विज्ञप्ति
चितवन, २६ पुस । भरतपुर उपमहानगरपालिका वडा नम्बर ११ का विभिन्न पाँच पार्टीका वडा अध्यक्षहरुले सोमबार संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
नवजागृति सामुदायिक वन उपभोक्ता समूहको पुस १० गते सम्पन्न १६ औँ वार्षिक साधारणसभा एवं आठौं अधिवेशनबाट निर्विरोधरुपमा चयन भएको कार्यसमितिको स्वागतमा संयुक्त विज्ञप्ति जारी गरिएको हो । विज्ञप्ति जारी गर्नेहरुमा नेकपा एमालेका बाबुराम अधिकारी, राप्रपाका युवराज राना, नेकपा मालेका कृष्णबहादुर कुमाल, नयाँ शक्ति नेपालका केशव अधिकारी र अखण्ड नेपालका चुमबहादुर जिसी रहेका छन् ।
‘विधि र प्रक्रियाबाट बनेको यस समितिको हामी हार्दिक स्वागत गर्दै निर्वाचित सम्पूर्णमा बधाई एवं जनताको काममा निर्भय एवं समर्पित भावका साथ लाग्न आह्वान गर्दछौं’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘विरोध गर्ने पक्षलाई समेत समितिको विधान बमोजिम नै प्रक्रिया अपनाई अघि बढ्न समेत सुझाव दिन चाहन्छौं ।’
रत्ननगरको नगरस्तरीय भेला
रत्ननगर, २६ पुस । २१ औं नगर परिषदको पूर्वसन्ध्यामा रत्ननगर नगरपालिकाले सोमबार नगरस्तरीय भेला सम्पन्न गरेको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे, नेकपा एमालेका नगर अध्यक्ष बद्रीनाथ घिमिरे, उद्योग वाणिज्य संघ रत्ननगरका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
रत्ननगर नगरपालिकाका लेखा अधिकृत सीताराम पोखरेलले आगामी आर्थिक वर्ष २०७४÷७५ को लागि ३० करोड २१ लाख २१ हजार अनुमानित आयव्ययसहितको कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा इञ्जिनियर प्रकाशचन्द्र ढुङ्गानाले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।
देवघाटमा निःशुल्क स्वास्थ्य शिविर
चितवन, २४ पुस । काठमाडौंको कलंकी ज्योति अभियान आमा समूहको आयोेजना, लियो क्लब अफ नारायणगढ र लियो क्लब अफ नारायणगढ चित्रवनको सह–आयोजनामा देवघाटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
शिविरमा डा.महेन्द्र अग्रहरी नेतृत्वको टिमले स्वास्थ्य जाँच गरेको थियो । शिविरमा दुई सय जनाले स्वास्थ्य जाँच गराएका छन् । बिरामीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको संस्थाकी अध्यक्ष सजना खनालले बताइन् । संस्थाकी पूर्वअध्यक्ष एवं सल्लाहकार रामकला पौडेलले संस्थामा आवद्ध महिलाहरुले बचत गर्नुको साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्न अग्रसर हुने भएकाले यस्तो कार्यक्रम गर्दै आइरहेको जानकारी दिइन् ।
कार्यक्रममा लियो क्लब अफ नारायणगढका अध्यक्ष राजु चौधरी, लियो क्लब अफ नारायणगढ चित्रवनका अध्यक्ष विकास पाण्डे लगायतले बोलेका थिए ।
टरौलीको अधिवेशन
चितवन, २४ पुस । टरौली बचत तथा ऋण सहकारी संस्था रत्ननगर १९, टरौलीको पाँचौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रामकृष्ण भण्डारीको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाका लेखा संयोजक अशोककुमार खतिवडाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेशनले बालकृष्ण चापागाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रवि पौडेल, सचिवमा भैरवराज खतिवडा र कोषाध्यक्षमा सीता कार्की रहेका छन् ।
जनजाति विद्यार्थीको अध्यक्षमा साजन
चितवन, २४ पुस । नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ जिल्ला समन्वय परिषद् चितवनको नयाँ कार्यसमिति गठन भएको छ ।
भरतपुरमा शनिबार सम्पन्न जिल्ला अधिवेशनले साजन गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दिलिप बोटे, सचिवमा अर्जुन थापा मगर, सह–सचिवमा बलबहादुर पुन र कोषाध्यक्षमा सुशील दुरा चयन भएका छन् । अधिवेशन अध्यक्ष महेन्द्र दुराको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सकियो कर्मीको रंग प्रशिक्षण
भरतपुर, २४ पुस । कर्मी नाट्य समूहको आयोजनामा भरतपुरमा संचालन भएको एकहप्ते रंग प्रशिक्षण कार्यक्रम शनिबार समापन गरिएको छ ।
पुस १७ गतेदेखि भरतपुरमा संचालित प्रशिक्षण कार्यक्रम अराजक अक्षर समूह र होमिज युथ क्लबको संयुक्त सहकार्यमा सम्पन्न भएको थियो । आठ जना महिलासहित २६ जनाको सहभागिता रहेको प्रशिक्षणमा तत्सम आर्ट्सका कलाकारहरु शिशिर शिवाकोटी र अर्जुन न्यौपानेले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण कार्यक्रममा रंग क्षेत्रमा नवप्रवेशीका रुपमा काम गर्न इच्छुक व्यक्तिले आधारभूत तालिम लिएको कर्मी नाट्य समूहका सल्लाहकार असिम हमालले बताए । अराजक अक्षर समूहका अध्यक्ष मुकुन्द खलपात्रको अध्यक्षतामा समापन कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक नवराज निर्वाहले जानकारी दिए ।
निलगिरी बचतमा नयाँ नेतृत्व
खैरहनी, २४ पुस । खैरहनी ८, पर्सामा रहेको निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ंनयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरिएको छ ।
संस्थाको शनिबार सम्पन्न सातौं साधारणसभा तथा अधिवेशनले सुनिता लामाको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा लेखबहादुर पुन, सचिवमा कर्म अङ्गेल रुम्बा, कोषाध्यक्षमा रामजंग तामाङ, सदस्यहरुमा पूर्णबहादुर तामाङ, पवित्रा पुन र लिलाबहादुर डिमडुङ चयन भएका छन् ।
अधिवेशनले कमलाकुमारी तामाङको संयोेजकत्वमा तीन सदस्यीय लेखा समिति समेत चयन गरेको छ । साधारणसभाको उद्घाटन सत्रमा संस्थाकी अध्यक्ष सुनिता लामाले वार्षिक प्रतिवेदन, सचिव कर्म अङ्गेल रुम्बा लामाले कार्य प्रगति प्रतिवेदन, कोषाध्यक्ष रामजंग तामाङले आर्थिक प्रतिवेदन र लेखा समितीकी संयोजक कमलाकुमारी तामाङले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत गंगाबहादुर भुजेल, ईलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक घजिन्द्रबहादुर कार्की, ग्रामीण साकोसका सचिव राजेन्द्र रिजाल, संस्थाका सल्लाहकार हरि पुन, उपाध्यक्ष लेखबहादुर पुन लगायतले मन्तब्य राखेका थिए ।
नवदुर्गा गुठीको चौथो अधिवेशन
रत्ननगर, २४ पुस । नवदुर्गा गुठी समाज रत्ननगर २ को चौथो अधिवेशन समाजका अध्यक्ष प्रेमगोविन्द श्रेष्ठको अध्यक्षतामा शनिबार सम्पन्न भएको छ ।
अधिवेशनले राजु मालाकारको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुमालाल श्रेष्ठ, कोषाध्यक्षमा गोविन्दकृष्ण श्रेष्ठ, सचिवमा इन्द्रबिक्रम श्रेष्ठ र सहसचिवमा दानबहादुर भुजु चयन भएका छन् ।
बहुउद्देश्यीय सहकारी संघको साधारणसभा
भरतपुर, २४ पुस । चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि.को तेश्रो वार्षिक साधारणसभा शनिबार जिल्ला सहकारी संघको कार्यालय भरतपुरमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्राचार्य रेवतीरमण पोखरेल रहेका थिए । प्रमुख अतिथि पोखरेलले शेयर सदस्यलाई लक्षित गरी संघ र मातहतका सहकारीले विभिन्न किसिमका तालिमहरु आयोजना गर्नुपर्ने बताए । कार्यक्रममा नियमित बचत गर्ने चेतना चेली बहुउद्देश्यीय सहकारी संस्थालाई प्रशांसापत्र सहित सम्मान गरिएको थियो ।

समाचार
