Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार

समाचार

संविधान संशोधनको विकल्प नभएको दाबी

नारायणगढ, २२ पुस । स्थानिय विकासमन्त्री हितराज पाण्डेले संविधान संशोधनको विकल्प नभएको दाबी गरेका छन् ।
माडी नगरपालिका भवनको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । संविधान संशोधन देशलाई निकास दिने एकमात्र विकल्प भएकोले सबैलाई सहमतिमा आउन आग्रह गर्दै मन्त्री पाण्डेले सरकार सबैको मागका लागि गम्भीर भएको बताए । सर्वोच्च अदालतले समेत अवरोध नगर्न निर्देशन दिएको बताउँदै अब केही दिनमा सबै समस्या हल हुने उनले ठोकुवा गरे ।
संसद खुल्ने वातावरणले पनि सकारात्मक बाटो निर्देश गरेको उनको ठम्याई थियो । उनले निकुञ्जको कानुन संशोधन गर्न पहल गर्ने समेत बताए । स्थानीय निकायका प्रमुखहरुलाई निर्देशन गर्दै उनले समयमै विकास बजेट खर्च गर्न, उपभोक्ता समिति गठन, ठेक्कापट्टा, अनुगमलाई तिब्रता नदिने कर्मचारीलाई कारबाही गर्ने बताए ।
उनले नौ करोडको लागतमा माडी नगरपालिका भवन वनन लागेको तर ७० लाख बजेटमात्रै आएको भन्ने गुनासोलाई सम्बोधन गर्दै सबै रकम मन्त्रालयले निकासा गर्ने प्रतिवद्धता व्यक्त गरे । यसअघि मन्त्री पाण्डेले सीमा क्षेत्र विकास कार्यक्रमको अनुगमन गर्ने क्षेत्रीय कार्यालय उद्घाटन र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नामावली भएको पुस्तक विमोचन तथा सार्वजनिक गरेको स्थानीय विकास अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए ।

जनता आवास कार्यक्रममा गाविस छनौट

चितवन, २२ पुस । जनता आवास कार्यक्रम जिल्ला समन्वय समितिले आवास कार्यक्रमका लागि चितवनका साविकका गाउँ विकास समितिलाई छनोट गरेको छ ।
यस वर्ष जनता आवास कार्यक्रम अन्तर्गत चितवनमा विपन्न चेपाङ समुदायको  ८० वटा घर निर्माण हुँदैछन् । यसका लागि समितिको बिहीबार बसेको बैठकले स्थानको टुङ्गो लगाएको समितिका संयोजक सांसद शेषनाथ अधिकारीले जानकारी दिए । चण्डीभञ्ज्याङ्, पदमपुर, भण्डारा, अयोध्यापुरी, काउले, दाहाखानी, दारेचोक, कविलास, शक्तिखोर, लोथर, सिद्धि, कोराक लगायतका गाविस छनौटमा परेका छन् । समितिले अघिल्लो वर्ष सय वटा आवास निर्माण गर्ने लक्ष्य लिएपनि ८९ वटा मात्रै आवास वनाउन सफल भएको थियो ।
बैठकले लक्षित वर्ग समुदायका तर्फबाट समितिमा दुई जनालाई मनोनित गरेको छ । मनोनित हुनेमा लक्ष्मण चेपाङ र महेन्द्र चेपाङ रहेका छन् । भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्नुपर्ने भएपछि लक्षित समुदायको सकृयता बढी हुने विश्वास समितिले लिएको समितिका संयोजक अधिकारीले बताए । जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण गर्ने व्यक्तिले १० प्रतिशत र अन्य रकम सरकारले बेहोर्ने प्रावधान रहेको छ । 
बैठकले चेपाङ बस्तीलाई व्यवस्थित गर्न र ती क्षेत्रको विकास गर्नका लागि एकीकृत बस्ती विकास योजना आवश्यक रहेको भन्दै नेपाल सरकार र पुनःनिर्माण प्राधिकरणलाई यस्ता बस्तीमा विशेष कार्यक्रम संञ्चालन गर्नका लागि जानकारी गराउने निर्णय गरेको सहरी विकास तथा भवन निर्माण विभाग भरतपुरका प्रमुख सरोद मानन्धरले बताए ।

चितवन महोत्सवको तयारी तीब्र

नारायणगढ, २० पुस । चितवन महोत्सवको एघारौं संस्करणको तयारी तीब्र पारिएको छ ।
पुस २५ गतेदेखि माघ पाँच गतेसम्म नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजना गर्न लागिएको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मंगलबार नारायणगढमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । २०५३ सालमा नारायणगढको क्याम्पाचौरमा पहिलोपटक सुरु गरिएको महोत्सवलाई त्यसपछि हरेक दुई वर्षमा आयोजना गरिँदै आएको छ ।
नेपालकै सबैभन्दा ब्यवस्थित र महत्वपूर्ण महोत्सवका रुपमा हेरिने चितवन महोत्सवको आयोजकमा उद्योग वाणिज्य संघ चितवन, जिल्ला विकास समिति चितवन र भरतपुर उपमहानगरपालिका रहेका छन् । महोत्सवमा चार सय ७५ स्टल रहने महोत्सव मूल आयोजक समिति संयोजक राजन गौतमले जानकारी दिए ।
चितवनको गौरव र गरिमामय प्रस्तुति भन्ने नाराका साथ गर्न लागिएको महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तय भएको छ । स्थानीय स्तरमा उत्पादन गरिएका वस्तु, कृषि क्षेत्र साथै ब्यापार ब्यवसायलाई प्रवद्र्धन गर्ने र राष्ट्रिय उद्योगहरुको प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको महोत्सव मूल आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले बताए ।
महोत्सव सम्पन्न गर्नको लागि सात सय सदस्यीय मूल समिति, ३२ सदस्यीय स्टेयरिङ्ग समिति, ४७ सदस्यीय सल्लाहकार समिति निर्माण गरिएको छ । महोत्वसको पहिलो दिन पुस २५ गते बिहान प्रदर्शनीस्थलबाट विभिन्न संघसंस्था, विद्यालय, जनजातिहरुको विशेष झाँकीसहित बृहत शोभायात्रा निकालिने छ ।
महोत्सव अवधिभर विभिन्न विषयका चार वटा कार्याशाला गोष्ठी आयोजना गरिने संयोजक गौतमले जानकारी दिए । यसैगरी एक गाउँ एक उत्पादन अन्तर्गत रहेको चितवन जिल्लाको केरालाई प्रवद्र्धन गर्ने उदेश्यले यसपटक पनि केराको खानेकुरा, केराको डमी र नमूना खेती, मह परिसर, डेरी र प्लाष्टिकको नमूना उद्योगका साथै खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिहरुको भेषभुषा, कला, संस्कृतिको प्रदर्शन हुनेछ । 
महोत्सवमा चित्रकला तथा मूर्तिकला प्रदर्शनी परिसर, पोल्ट्री परिसर, बैंक तथा वित्तीय संस्थाहरु, माछा पोखरी रहने छन् । महोत्सवमा प्रजापति पराजुली, बद्री पंगेनी, जुना थापा, शिव परियार, रामचन्द्र काफ्ले, जितु नेपाल, सुरेन्द्र केसी, बिष्णु थापा लगायतका राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक समितिका संयोजक रोहितकुमार श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा नारायणी कला मन्दिर, लोक दोहोरी गीत प्रतिष्ठान चितवन र आदिवासी जनजाति महासंघले नृत्य, गीत तथा जनजातिहरुको भेषभुषा, कला, संस्कृतिसहितको मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम गरिने उनले बताए । पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा करिब २० करोड रुपैयाँको कारोबार हुने लक्ष्य राखिएको छ ।

सामुदायिक वन गरीबमुखी हुनुपर्ने

नवलपरासी, २२ पुस । देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट–३, ढोडेनीको १५ औं साधारणसभाको उद्घाटन गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य छत्रराज पौडेलले सामुदायिक वनहरुले गरीबमुखी कार्यक्रम गर्नुपर्ने बताएका छन्  ।
सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्णबहादुर देवकोटाले सामुदायिक वनहरु ज्हिले पनि वन, वातावरण र वनयजन्तु संरक्षण गर्ने दिशामा अग्रसर हुनुपर्ने धारणा राखे । कार्यक्रममा नेपाली कांग्रेस गैंडाकोटका सभापति तारापति खरेल, नेकपा माओवादी केन्द्रका नगर संयोजक दुर्गादत्त ढुंगाना, नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोटका अध्यक्ष लालचन्द केसी, जयश्री सामुदायिक वनका उपाध्यक्ष दानबहादुर क्षेत्री, वन समूहका पूर्वअध्यक्ष धनबहादुर चितौरे लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
समूहका अध्यक्ष ठाकुरप्रसाद रिमालको अध्यक्षतामा सम्पन्न साधारणसभामा सहसचिव नरबहादुर सिंजालीले प्रगति प्रतिवेदन र लेखा समिति संयोजक बद्रीप्रसाद रिमालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

क्यान्सर अस्पतालमा जनशक्ति अभाव

भरतपुर, २० पुस । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा जनशक्ति अभावका कारण प्रभावकारी उपचार सेवा दिन नसकिएको अस्पतालका अध्यक्ष डा. प्रकाशराज न्यौपानेले बताएका छन् ।
अस्पतालले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष न्यौपानेले विशेष रोगको उपचार गरिने अस्पताल भनेपनि सामान्य अस्पताललेजस्तै सबैखाले बिरामीलाई सेवा दिनु परेको र जनशक्ति कम भएकोले सेवा प्रभावकारी हुन नसकेको बताउका हुन् । उनले अस्पताल संचालक समितिले पूर्णता पाउन नसक्दा वार्षिक बजेट बनाएर काम गर्न समेत नसकिएको जानकारी गराए ।
अस्पतालका कार्यकारी निर्देशक डा. चीनबहादुर पुनले क्यान्सर अस्पतालका चिकित्सकले बाहिरका निजी अस्पतालमा काम नगर्नु नै संस्थाको हितमा हुने बताए । ‘यहाँका सबैजसो चिकित्सकले बाहिर निजी अस्पतालमा काम गर्छन्’ उनले भने, ‘एकैचोटी यो काम बन्द गर्न गाह्रो छ । हामी बिस्तारै क्यान्सरका चिकित्सकले बाहिर काम नगरुन् भन्ने हिसाबले काम गरिरहेका छौँ ।’

क्रिकेटमा वेस्टर्न र क्यापिटल विजयी

भरतपुर, २२ पुस । चितवनमा जारी एसएसपी कप क्रिकेट अन्तर्गत बिहीबार भएका दुई खेलमा बुटवलको वेस्टर्न क्रिकेट एकेडेमी र काठमाडौँको क्यापिटल कलेज विजयी भएका छन् ।
पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हेटौँडा सिटीले निर्धारित १६ ओभरको खेलमा १५ दशमलव दुई ओभर खेल्दै ९० रन बनाएको थियो । ९१ रनको विजय लक्ष्य पछ्याएको बुटवलले पनि निर्धारित ओभरमा ९० रनमात्र बनाउन सक्यो । सुपर ओभरमा २० रनको लक्ष्य पछ्याएको हेटौँडा सिटीले ५ रनमात्र बनाएपछि बुटवल १४ रनले विजयी भयो ।
दोस्रो खेलमा काठमाडौँको क्यापिटल कलेजले धनगढीको सुदुरपश्चिम एकेडेमीलाई ७८ रनले हराएको छ । समूहको दुबै खेल हारेको धनगढी प्रतियोगिताबाट बाहिरिएको छ  । टस हारेर ब्याटिङको निम्तो पाएको क्यापिटलले निर्धारित १८ ओभरमा दुई सय चार रन जोडेको थियो ।
दुई सय पाँच रनको लक्ष्य पछ्याएको धनगढीले १८ ओभरमा आठ विकेट गुमाएर एक सय २५ रनमात्र बनाउन सक्यो । अर्धशतकीय पारी खेलेका क्यापिटलका दिलीप नाथ म्यान अफ द म्याच घोषित भए । शुक्रबारको पहिलो खेल न्यू होराइजन क्रिकेट एकेडेमी भैरहवा र ग्रेस वीरेन्द्र भरतपुरबीच हुनेछ । दोश्रो खेलमा काठमाडौँको क्यापिटल कलेज र भरतपुरको नेपाल पोलिटेक्निक कलेज भिड्नेछन् ।

सकियो शक्तिसाधना महाअनुष्ठान

चितवन, २० पुस । नारायणगढको पोखरा बसपार्कस्थित गौरेश्वर शिव मन्दिरमा पुस ११ गतेदेखि सुरु भएको श्रीमद् देवी भागवत नवाह एवं शक्तिसाधना महाअनुष्ठान मंगलबार समापन भएको छ ।
समापन कार्यक्रमका प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सरकारले गर्न नसकेको कन्या गुरुकुल संचालन गरेर प्रतिष्ठानले नेपालकै अनुकरणीय कार्य गरेको बताए । उनले गुरुकुलको भौतिक निर्माणको साथै अन्य आवश्यक सहयोग गर्ने समेत बताए ।
महाअनुष्ठानको नवौं दिन दुई लाख ४५ हजार रुपैयाँ संकलन भएको महाअनुष्ठानका संरक्षक प्रकाण्ड पियाले जानकारी दिए । देवघाटमा रहेको रामजानकी बालिका आश्रम अर्को व्यवस्था नभएसम्मका लागि भगवती उपाध्यायले हकभोग गरी आएको निजी आश्रम संचालनका लागि पुनः अनुमति दिइएको छ ।
आश्रमको प्रमुख संरक्षक समेत रहेकी उपाध्यायले महाअनुष्ठानको समापनको क्रममा महाअनुष्ठानका मूल समिति संयोजक शान्तप्रसाद पोखरेल, देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष शैलेन्द्रकुमार पिया र भरतपुर उपमहानगरपालिका एकका वडा सचिव बालकृष्ण थपलियाको संयुक्त हस्ताक्षरमा आश्रम संचालनका लागि अनुमति दिइएको हो ।

निकुञ्जमा अर्ना र बाह्रसिंगेका लागि खोर तयार

तिलकराम रिमाल
चितवन, २० पुस ।  चितवन राष्ट्रिय निकुञ्जमा अर्ना र बाह्रसिंगे स्थानान्तरण गरी ल्याउनका लागि खुल्ला खोर (इन्क्लोजर) निर्माण कार्य सम्पन्न भएको छ ।
निकुञ्जको मानव बस्ती स्थानान्तरण गरिएको पुरानो पदमपुर क्षेत्रमा खुल्ला खोर निर्माण गरिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार ३० हेक्टर क्षेत्रफलमा दुई हजार मिटर जाली लगाएर खोर निर्माण गरिएको छ । भुईंमा सोलिङ गरेर जालीलाई पिसिसिले च्यापेर ६ फिट अग्लो खोर बनाइएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।
खोर बाहिर वरिपरि सोलार फेन्सिङ काम भने केही बाँकी रहेको उनले जानकारी दिए । “सोलार फेन्सिङको तार तन्काएर विद्युत प्रवाह यसै हप्ता सम्पन्न हुन्छ” प्रमुख संरक्षण अधिकृत कँडेलले भने, “सोलार फेन्सिङ निर्माण भएपछि अन्य जंगली जनावर सहजै खोरभित्र प्रवेश गर्न पाउने छैनन् ।”
वन मन्त्री, सचिव र  विभागका महानिर्देशकको समय मिलाएर अर्काे हप्ताभित्र (पुस महिनामै) अर्ना स्थानान्तरण गरी ल्याउने कार्य शुरु गरिने उनले बताए । कोशीटप्पु वन्यजन्तु आरक्षबाट पाँच वटा भाले र १५ वटा पोथी अर्ना ल्याउन लागिएको हो । सदर चिडियाखानामा रहेका दुई अर्ना पनि चितवन ल्याइँदैछ ।
अर्ना ल्याईसकेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट २५ वटा बाह्रसिंगे ल्याइने बताइएको छ । पाँच वटा भाले र २० वटा पोथी बाह्रसिंगे ल्याउन लागिएको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिए । अर्ना र बाह्रसिंगेका लागि उपयुक्त मानिएको उक्त ठाउँमा ईन्क्लोजरभित्र चार सय मिटर लामो र १५ मिटर चौडा भएको पानीको ताल बनाइएको छ । बाँकी भाग घाँसे मैदान रहेको छ ।
कुनै निश्चित ठाउँमा रहेका वन्यजन्तु अर्काे ठाउँमा स्थानान्तरण गर्दा महामारी रोगको प्रकोपबाट बचाउन सकिने, फरक नश्लबाट नयाँको जन्म हुने हुँदा प्रजातिमा विविधिकरण आउने हुँदा निकुञ्ज विभागले देशका विभिन्न राष्ट्रिय निकुञ्ज र आरक्षबाट वन्यजन्तु स्थानान्तरण गर्दै आएको छ । गत वर्षमात्रै चितवन राष्ट्रिय निकुञ्जबाट पाँच वटा एकसिंगे गैंडा बर्दिया स्थानान्तरण गरिएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जमा गैंडा, पाटेबाघ, हात्ती, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावर पाइन्छन् । यसैगरी घडियाल गोही, मगर गोही, अजिंगर लगायत सरिसृप तथा उभयचर, बसाई सरी आएका र रैथाने गरी ५ सय ४६ भन्दा बढी जातका चराचुरुंगी र विभिन्न किसिमका कीरा, फट्यांग्रा चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन् ।
निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु लगायतका जनावर हेर्न वर्षेनी दुई लाखभन्दा बढी पर्यटकहरु चितवन आउने गर्दछन् । यहाँ थप वन्यजन्तु ल्याएसँगै पर्यटकहरुको संख्यामा पनि बृद्धि हुने अपेक्षा पर्यटन व्यवसायीहरुले गरेका छन् ।

गैंडाकोटको विकास बजेट सात करोड

गैंडाकोट, २० पुस । नवलपरासीको गैंडाकोट नगरपालिकाको तेस्रो नगरपरिषद्ले आगामी आर्थिक वर्ष २०७४÷७५ को लागि २१ करोड ६७ लाख ८४ हजार रुपैयाँ बराबरको अनुमानित बजेट पारित गरेको छ ।
मंगलबार कार्यालयमा आयोजित नीति तथा कार्यक्रम र बजेट सार्वजनिक कार्यक्रममा कार्यालयका प्रमुख कार्यकारी अधिकृत श्रीकृष्ण नेपालद्वारा प्रस्तुत भएको रकम नगर परिषद्ले पारित गरेको हो । कार्यकारी अधिकृत नेपालले पुँजीगत खर्चतर्फ छ करोड ९८ लाख ४९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।
उनले आन्तरिक स्रोतबाट प्राप्त हुने र मौज्जात बाँकी रहने रकम गरी दुई करोड ६१ लाख ५० हजार, राजश्व बाँडफाँटबाट प्राप्त हुने रकम एक करोड, नेपाल सरकारको सशर्त नगरपालिका अनुदानबाट पाँच करोड ४३ लाख ५९ हजार, नगर क्षेत्र पूर्वाधार विकास कार्यक्रममा एक करोड ६३ लाख ५५ हजार, वातावरणमैत्री स्थानीय शासनतर्फ एक करोड ६४ लाख, सामुदायिक विकासतर्फ २५ लाख २० हजार र सामाजिक सुरक्षा अनुदानमा आठ करोड ८० लाख रुपैयाँ बराबरको प्रस्ताव पेश गरेका थिए ।
भौतिक पूर्वाधारतर्फ कम्तीमा पाँच लाख रुपैयाँभन्दा बढीको पूर्वाधारमा मात्र लगानी गर्ने नगरपालिकाको तयारी रहेको नेपालले जानकारी दिए । सहरी आवागमनलाई सहजता प्रदान गर्न बाटो अवरोध हुने गरी २४ घण्टाभन्दा बढी कुनै पनि निर्माण सामग्री राख्न नदिने, भूकम्प प्रतिरोधी वैकल्पिक निर्माण समग्री प्रयोग गरी वातावरणमैत्री घर लगायतका संरचना बनाउने कार्यलाई प्रोत्साहनस्वरुप नक्सापास गर्ने नगरबासीलाई राजश्वमा ७५ प्रतिशत छुट दिने, नगरपालिकाको सञ्चालनमा रहेको वेभसाइटलाई थप व्यवस्थित बनाउँदै लैजाने, गैंडाकोट नगरपालिकालाई आगामी २०७४ साल चैतभित्र बालमैत्री नगर बनाउने लक्ष्यसहित बालबालिकातर्फ १५ प्रतिशत बजेट छुट्याइएको नेपालले बताए ।
कार्यक्रममा नगरबासीहरुले पाँच लाखभन्दा साना भौतिक संरचना निर्माणको लागि समेत नगरपालिकाले अनुदान प्रदान गर्नुपर्ने बताएका थिए । नवलपरासी क्षेत्र नम्बर एकका सांसद तथा नेपाली काँग्रेसका महामन्त्री सशांक कोइराला प्रमुख अतिथि रहेको कार्यक्रममा अन्तरपार्टी महिला सञ्चाल गैंडाकोटकी अध्यक्ष राधा लामिछाने, आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् अध्यक्ष ललित गुरुङ, नेपाल पत्रकार महासंघ नवलपरासीका प्रतिनिधि विद्रोही गिरी लगायतले मन्तव्य राखेका थिए ।