Sun01212018

Last update01:57:25 AM

Back You are here: Home समाचार

समाचार

राप्रपाको ¥याली र कार्यालय उद्घाटन

चितवन, २० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचन क्षेत्र नं. २ को आह्वानमा शनिबार रत्ननगरमा ¥यालीको आयोजना गरिएको छ । 
¥यालीपछि आयोजित प्रशिक्षण कार्यक्रममा राप्रपा जिल्ला निर्वाचन परिचालन समितका संयोजक जितेन्द्रबहादुर भण्डारीले स्थानीय तहको निर्वाचनको सन्र्दभमा पार्टी कार्यकर्ताले निर्वाह गर्नुपर्ने भूमिका, निर्वाचन रणनीति र कार्ययोजनाबारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा नन्दप्रसाद भट्टराई, रामशरण पाठक, कृष्ण लामा, रुद्र ढकाल, मिना विक लगायतले बोलेका थिए ।
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी भरतपुर महानगरपालिका वडा नं. २२ को सम्पर्क कार्यालय पटिहानी बजारमा शनिबार उद्घाटन गरिएको छ । राप्रपा जिल्ला अध्यक्ष बद्री तिमील्सीना प्रमुख अतिथि रहेको कार्यक्रम वडा अध्यक्ष बालकृष्ण उ्रप्रेतीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा जिल्ला उपाध्यक्ष विष्णुप्रसाद वाग्ले, केन्द्रीय सदस्य विनिता शाही ठकुरी, चेतनाथ वाग्ले लगायतले बोलेका थिए ।
यसैगरी, भरतपुर महानगरपालिकाका साविक वडाहरु समायोजन भई नयाँ गठन भएका वडाहरु १७ मा कमला गुरुङ, १८ मा रामविक्रम ठकुरी, १९ मा होमनाथ तिमिल्सीना र २० मा मुना भण्डारीको अध्यक्षतामा राप्रपा वडा समितिहरु गठन भएका छन् ।

चितवनमा म्यादी प्रहरीमा दरखास्त दिनेको संख्या तीन हजार नाघ्यो ÷ पूर्व सेना, प्रहरी, ससस्त्र समेत आकर्षित

वसन्त ढुंगाना
चितवन, १९ चैत । माडी नगरपालिका तीन लक्ष्मूनियाका बेलप्रसाद पंगेनीको १० वर्ष कतारमा नै बित्यो । रोजगारीका लागि कतार गएका पंगेनी तीन वर्ष अघि स्वदेश फर्किए । केही गर्ने सोचका साथ घर आएका उनले आफ्नो महत्वपूर्ण समय त्यतिकै खेर पाल्नुप¥यो । बेरोजगारी भएर बसेका पंगेनी अहिले स्थानीय तहको निर्वाचनका लागि खोलिएको म्यादी प्रहरी हुनका लागि भर्ना भएका छन् ।
‘रोजगारीको सिलसिलामा साउदी दुई वर्ष बसेँ, कतार आठ बर्ष बसेर होटलमा काम गरेँ । स्वदेशमा नै केही गर्न सकिन्छ कि भनेर फर्किएँ, केही गर्न सकिन’ उनले भने, ‘घरमा बेरोजगार भएर बस्नुपर्दा म्यादी प्रहरीमा भर्ना हुन आएको हुँ ।’ 
तरकारी व्यवसाय गर्दै आएका भण्डाराका चन्डुराम महतो पनि शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनको परिसरमा भेटिए । ‘देशको सेवा गर्नको लागि इच्छा जाग्यो’ म्यादी प्रहरीमा दिएको दरखास्त रुजु गर्न आएका ३० बर्षीय चौधरीले भने, ‘घरको आर्थिक अवस्था पनि राम्रो होला ।’ म्यादी प्रहरी भएपछि पछि अन्य अवसर पनि पाइने भएकाले म्यादी प्रहरी हुन आएको चौधरीले बताए ।
स्थानीय तहको निर्वाचनका लागि खोलिएको म्यादी प्रहरी भर्नामा चितवन जिल्लामा आवश्कताभन्दा बढीको दरखास्त परेको छ । चितवन जिल्लाका लागि आवश्कताभन्दा बढी एक हजार जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । ‘नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौँले चितवन जिल्लाका लागि दुई हजार दुई सय जना म्यादी प्रहरी नियुक्त गर्न निर्देशन दिएको छ’ उनले भने, ‘यहाँ तीन हजार एक सय ७९ जनाको आवेदन परेको छ ।’ आवेदन दिनेमा दुई हजार छ सय ६० जना पुरुष र पाँच सय १९ जना महिला रहेको उनले बताए । 
म्यादी प्रहरीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीबाट अवकाश लिएर बसेकाहरुको आकर्षण उत्तिकै छ । अवकाश लिएर बसेका नेपाल प्रहरीका ४०, सशस्त्र प्रहरी छ, नेपाली सेना ७१ जना र विदेशमा सुरक्षा गार्डको काम गरेका दुई जनाले आवदेन दिएका छन् । यस्तै पूर्व म्यादी प्रहरी ६५ जना रहेका छन् । म्यादी प्रहरीमा आवेदन दिनेमा मधेसी समुदायको संख्या पनि राम्रै रहेको छ । चितवन जिल्लाबाट एक सय ९९ जना पुरुष र एक सय ९७ जना महिलाले आवेदन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले चैत ११ गतेदेखि १७ गतेसम्म म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाएको थियो । म्यादी प्रहरीमा युवायुवतीको आकर्षण बढेको थापाले बताए । ‘बढ्दो बेरोजगारी त छँदैछ । १५ दिनसम्म सुरक्षाका लागि तालिम हुनेछ । ५० देखि ५२ हजार रुपैयाँ पनि आम्दानी हुने र प्रहरीको तालिम लिएपछि वैदेशिक रोजगारीमा जान पनि सहज हुन्छ । प्रहरी, सेना तथा सशस्त्रमा भर्ना खुल्दा पनि उनीहरु प्राथमिकतामा पर्दछन’ उनले भने, ‘त्यसले गर्दा पनि म्यादी प्रहरीमा भर्ना हुनेको संख्या बढेको हो ।’
आवेदन दिएकामध्येबाट चैत १९, २० र २१ गते छनोट गरिने थापाले बताए । ‘प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागको निर्देशन बमोजिम एउटा पाठ्यक्रम हामीलाई प्राप्त भएको छ । शनिबारबाट जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा हजार जनाका दरले तीन दिन लगाएर परीक्षा सञ्चालन गर्छौं’ उनले भने, ‘छनौटको नतिजा २२ गते  प्रकाशित प्रकाशित गर्छौं ।’ परीक्षा नतिजा प्रकाशित गर्दा १५ प्रतिशतलाई वैकल्पिकमा राखेर प्रकाशित गरिने थापाले बताए ।
म्यादी प्रहरीमा छनौट भएकाहरुको २५ गतेदेखि वैशाख ८ गतेसम्म साधारण तालिम हुने र त्यसपछि सम्बन्धित निर्वाचन क्षेत्रमा खटाइने उनले बताए । जिल्ला प्रहरी कार्यालय चितवनले परीक्षा सञ्चालन समिति गठन गरेको छ । परीक्षा नतिजा योग्यता अनुसार प्रकाशन गरिने उनले बताए । पूर्व प्रहरी, सेना र सशस्त्र र म्यादी प्रहरी र महिलालाई प्रमुख प्राथमिकता दिइने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
म्यादी प्रहरीको अवधि ५५ दिनको हुनेछ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिक म्यादी प्रहरी बन्न योग्य हुन्छन् । साधारण लेखपढ गर्न सक्ने, कुनै नैतिक पतन देखिने फौजदारी कसुरदार नठहरिएको, कुनै राजनीतिक दलको सदस्य नरहेको तथा शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त रहेको हुनुपर्ने आवश्यक योग्यता रहेको छ ।  म्यादी प्रहरी हुनको लागि प्रारम्भिक स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्ती परीक्षण, स्वास्थ्य परीक्षण, लिखित र  अन्तरवार्ता परीक्षा उत्तीर्ण हुनुपर्नेछ ।
‘प्रारम्भिक स्वास्थ्य परीक्षणमा छाती, उचाई, तौल, एक किलोमिटर दौड हुन्छ, सिटअप र पुसअप हुन्छ । दोस्रो चरणमा स्वास्थ्य प्रशिक्षण हुन्छ । त्यसमा रक्त परीक्षण, मुुटुको धड्कन, दिसा, पिसाब चेक हुन्छ’ थापाले भने, ‘प्रारम्भिक, स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्ती परीक्षामा फेल हुनेलाई हामी नकआउट बेसिसमै हटाउँछौँ । यी सबै पास भएपछि हामीले लिखित परीक्षा लिन्छौँ ।’ लिखित परीक्षा एक सय र अन्तरवार्ता २० गरी एक सय २० पूर्णाङ्कको परीक्षा लिइने उनले बताए ।

चितवन आर्थिक राजधानी बन्न सक्ने

चितवन, १९ चैत । देशकै मध्यभागमा अवस्थित चितवनमा अन्तर्राष्ट्रिय स्तरको औद्योगिक क्षेत्र निर्माण हुने भएपछि देशका प्रमुख उद्योगपतिहरुले लगानी गर्न चाहना देखाएका छन् ।
नेपाल उद्योग परिसंघ (सिएनआई) र चितवन उद्योग संघका पदाधिकारी तथा सदस्यहरुबीच शुक्रबार मेघौलीको सेराई होटेलमा भएको छलफलमा उद्योगपतिहरुले चितवनमा लगानी गर्ने चाहना व्यक्त गरेका हुन् । कार्यक्रममा उद्योगपति गुरुप्रसाद न्यौपानेले चितवनमा लगानी गर्ने ठाउँ प्रशस्त रहेको भन्दै आफू पनि लगानी गर्न इच्छुक रहेको बताए ।
‘देशकै ठूलो औद्योगिक क्षेत्र चितवनमै बन्दैछ’ उनले भने, ‘अब चितवन आर्थिक राजधानी बन्न सक्छ ।’ उनले चितवनमा ठूला उद्योगहरु संचालनको तयारीमा रहेको भन्दै यो चितवनबासीको लागि गौरवको विषय रहेको बताए । उनले आफू हाइड्रो पावरमा लगानी गर्दै आइरहेको भन्दै यसमा लगानी गर्न चितवनका उद्योगपतिलाई आग्रह गरे ।
नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष हरिभक्त शर्माले स्थानीय निकायको निर्वाचनसंगै लगानीको वातावरण बन्ने भन्दै चितवन यसका लागि सम्भावित जिल्ला रहेको बताए । उनले चितवनका उद्योगीहरुको पहलमा औद्योगिक क्षेत्र निर्माणको चरणमा पुग्नुले यहाँको सम्भाव्यता झनै बलियो बन्दै गइरहेको बताए ।
सिएनआईका उपाध्यक्ष एवम् चितवन उद्योग संघका निवर्तमान अध्यक्ष कृष्णप्रसाद अधिकारीले चितवनमा उद्योगहरुको विकासबारे जानकारी गराए । संघका अध्यक्ष भीमबहादुर पाण्डे र वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीले चितवन उद्योग संघले गरेका क्रियाकलाप र चितवनका उद्योगीहरुले भोगिरहेको समस्याबारे जानकारी गराएका थिए ।
पोल्ट्री व्यवसायी गुणचन्द्र विष्टले नेपालमा आवश्यक उद्योगहरुको लिष्ट तयार पारेर उद्योगहरु संचालनमा ल्याउनुपर्ने बताए । उनले वातावरणलाई असर नपर्ने गरी आवश्यक उद्योगमात्रै संचालनमा ल्याउनुपर्नेमा जोड दिए ।

असुरक्षित गर्भपतन गर्ने बढे

नारायणगढ, १९ चैत । नेपालमा वार्षिक तीन लाख २३ हजार जना महिलाले गर्भपतन गराउने गरेको तथ्य सार्वजनिक गरिएको छ ।
कृपा नामक एक संस्थाले गरेको अनुसन्धानले सो तथ्यांक प्राप्त गरेको शुक्रबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा जानकारी दिइएको हो । अध्ययनका क्रममा सरकारबाट मान्यता प्राप्त संस्थाबाट भन्दा अन्य संस्था तथा तालिम नलिएका व्यक्तिबाट असुरक्षित गर्भपतन गराउने गरेको अनुसन्धानले देखाएको कृपाका सहनिर्देशक तथा प्रमुख अनुसन्धानकर्ता डाक्टर महेश पुरीले जानकारी दिए ।
‘अनुसन्धानका क्रममा मान्यता प्राप्त संस्थाबाट भन्दा स्वीकृति नलिएको संस्थाबाट गर्भपतन गराउने बढी देखिएको छ’ डाक्टर पुरीले भने, ‘५८ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेका छन् ।’ सन् २०१४ मा गरेको यो अध्ययन संस्थाले भरतपुरमा कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको हो ।
अनुसन्धानमा ४२ प्रतिशतले मात्र मान्यता प्राप्त संस्थाबाट गर्भपतन गराउने गरेका छन् । जम्मा गर्भपतन गराउने तीन लाखमध्ये एक लाखले मात्र सुरक्षित स्थानमा गर्भ पतन गराउने गरेको देखिन्छ । 
‘यो अवस्था आउनु ज्यादै डरलाग्दो हो’ डाक्टर पुरीले भने, ‘असुरक्षित गर्भपतन गराउँदा माहिलाको ज्यानको जोखिम बढेर जान्छ । अध्ययनमा आफूले गर्भपतन गराउने भन्ने विषयमा सचेत भई जानेहरुको संख्या ३८ प्रतिशत मात्रै छ । अन्य संख्या सचेत नभई, गर्भपतन गराउँदाको जोखिमको विषयमा जानकारी नभएर जाने गरेको पाइएको छ ।’
संस्थाले गरेको अध्ययनमा सबैभन्दा थोरै अनिश्चित गर्भपतन गराउनेहरु सुदुरपश्चिम क्षेत्रमा रहेको छ । सुदुरपश्चिमाञ्चल विकास क्षेत्रमा ४३ प्रतिशतले गर्भपतन गराउने गरेका छन् । सबैभन्दा धेरै अनिश्चित गर्भपतन गराउनेको संख्या मध्यमाञ्चल विकास क्षेत्रमा रहेको छ । यहाँ ५९ प्रतिशतले गर्भपतन गराउने गरेका छन् । यो संख्या विकास क्षेत्र अनुसार फरक भएको संस्थाले जनाएको छ ।
कार्यक्रममा दिइएको जानकारी अनुसार, एक हजार प्रजनन् उमेरका १५ देखि ४९ वर्ष समूहका महिलामा गरेको अध्ययनमा सुदुरपश्चिममा २१ जनाले गर्भपतन गराउने गरेका छन् । मध्यपश्चिममा एक हजारमा २७ जना रहेको थियो । विकास क्षेत्रमा सबैभन्दा धेरै मध्यमाञ्चल विकास क्षेत्रमा गरेको अध्ययनमा सोही उमेर समूहका महिलामा एक हजारमा ५९ जनाले गर्भपतन गराउने गरेको पाइएको छ ।
अध्ययनले कूल गर्भहरुमध्ये ३१ प्रतिशत र अनिश्चित गर्भहरुमध्ये ६२ प्रतिशत गर्भपतन गराउने गरेको पाइएको छ । डाक्टर पुरीका अनुसार, महिलाहरुमा अहिले पनि गर्भपतन सम्बन्धी कानुनी व्यवस्था र सेवाको बारेमा जानकारी नहुने पनि सहज पहुँच नपुगेको हुनसक्ने बताए ।
सेवाको बारेमा प्रशस्त जानकारी दिनु पर्ने, सेवा शुल्क सर्वसुलभ हुनु पर्ने, गर्भपतन सम्बन्धी समाजको धारणामा परिवर्तन आउनु पर्ने, योग्य गुणस्तरीय सेवा हुनु पर्ने विषयमा ध्यान दिनु पर्ने बताए ।
‘गर्भपतन गराउँदा महिलामा लाग्ने सामाजिक लान्छनाको कारणले गर्दा पनि सहज तरिकाले गर्भपतन गराउन जान सक्ने अवस्था छैन’ डाक्टर पुरीले भने, ‘यसले गर्दा पनि असुरक्षित गर्भपतन गराउनेका संख्या बढेको हो ।’
नेपालमा सन् २००२ मा सुरक्षित गर्भपतन सम्बन्धी कानूनी मान्यता दिइएको थियो । कानुनी मान्यता पाएपछि मातृ मृत्यदरमा कमी आएको कार्यक्रममा जानकारी दिइएको छ । सन् १९९५ मा प्रति एक लाख जिवित जन्ममा मातृ मृत्युदर ५ सय ८० जना रहेको थियो । सन् २०१३ मा यो संख्या घटेर एक सय ९० मा आएको थियो । गर्भपतन सम्बन्धी कानुनी मान्यता पाएको कारण मातृ मृत्युदरमा कमी आएको डा. पुरीले बताए ।
कार्यक्रममा दिएको जानकारी अनुसार, असुरक्षित यौन सम्पर्क हुनु, विवाहपूर्व यौन सम्पर्क हुनु, दम्पतिमा सानो परिवारको चाहना बढ्नु, थोरै सन्तान जन्माउने चाहना बढ्नु, ढिलो विवाह गर्ने चलन बढ्नु, छोराको चाहना बढ्नु लगायतको कारणले गर्भपतन बढ्ने गरेको पाइएको छ ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजयकुमार झा, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राधेश्याम खतिवडा लगायतले सार्वजनिक तथ्यांकले स्वास्थ्य क्षेत्रमा भएको समस्याको बारेमा जानकारी गराएको बताए । यसले आगामी दिनमा सेवा सुविधा, सतर्क हुनु पर्ने विषय, कुन विषयमा कार्यक्रमले जोड दिनु पर्ने भन्नेमा सहज भएको उनीहरुले बताए । कार्यक्रमको सहजीकरण अर्जुन अधिकारीले गरेका थिए ।

भलिबल तथा नृत्य प्रतियोगिता हुने

चितवन, १९ चैत । युवाका लागि खेलकुद भन्ने नारासहित चैते दशैँ तथा राम नवमीको अवसर पारेर राप्ती नगरपालिका १२, अमृतपानीको खेल मैदानमा यस वर्ष पनि भलिबल तथा नृत्य प्रतियोगिता हुने भएको छ ।
अमृत झर्ना युवा क्लबको आयोजनामा विगतका वर्षहरु झैं यस वर्ष पनि चैत २३ गतेदेखि २५ गतेसम्म खुल्ला नकआउट भलिबल तथा नृत्य प्रतियोगिता हुन लागेको क्लबका सचिव बिश्वास मल्ल ठकुरीले जानकारी दिए । प्रतियोगितामा भलिबलतर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः २० हजार, १० हजार र ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
नृत्यतर्फ प्रथम र द्वितीय हुने टिमले क्रमशः ७ हजार र ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी विभिन्न विधामा उत्कृष्ट हुन सफल खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको भलिबल टिम दर्ता शुल्क .२ हजार र नृत्य प्रतियोगिताको दर्ता शुल्क २ सय तोकिएको छ । प्रतियोगिता सफल बनाउन विभिन्न उपसमिति समेत निर्माण गरिएको ठकुरीले जानकारी दिए ।

आमा समूह सफाई अभियानमा

बाह्रघरे, १९ चैत । भरतपुर महानगरपालिका वडा नम्बर ३, बाह्रघरेमा रहेको सप्तरंगी आमा समूहले शुक्रबार फोहोर व्यवस्थापन सम्बन्धी कार्यक्रम आयोजना गरेको छ ।
महानगरपालिकाका कार्यकारी प्रमुख प्रेमराज जोशी प्रमुख अतिथि रहेको कार्यक्रममा गतवर्षको एसएलसी परीक्षामा टोल विकास समिति अन्तर्गतका उत्कृष्ट छात्रछात्रालाई सम्मान गरिएको थियो । आमा समूहले टोलमा फोहोर संकलनका लागि डष्टबीन राखेको छ । कार्यक्रममा फोहोर मैला व्यवस्थापनका विषयमा विभिन्न महानुभावहरुले बोलेका थिए ।
घरघरमा फोहोर मैला व्यवस्थापनमा ध्यान दिए सहर, बजार र गाउँ, टोल सफा हुनुका साथै फोहोर व्यवस्थापनमा स्थानीय निकायले गर्ने करोडौं रकम बचत हुने कार्यकारी अधिकृत जोशीले बताए । कार्यक्रम आमा समूहकी अध्यक्ष मिठ्ठु सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

पाँच नम्बरमा खिमबहादुर

भदौरी, १९ चैत । नेकपा एमाले बुलिङटार गाउँपालिका वडा नम्बर ५, लपाकमा भएको भेलाले खिमबहादुर गेलाङ थापाको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
कमिटिको उपाध्यक्षमा पूर्वसिंह राई, सचिवमा लालबहादुर नेपाली, उपसचिवमा रेलीमाया थापा चयन भएका छन् । जौवारी गाविस दुई वटा गाउँपालिकामा विभाजित भएपछि एमालेले बुलिङटार गाउँपालिका अन्तर्गत वडा कमिटी गठन गरेको हो । भेलामा एमाले बुलिङटार गाउँपालिकाका संयोजक टंक माकिम, एमाले प्रचार विभाग प्रदेश नम्बर चारका सदस्य एवम् प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य विद्रोही गिरी, एमालेका स्थानीय नेताहरु टंक गिरी, दिपकचन्द्र बस्ताकोटी, रामबहादुर राना, हुमबहादुर गुरुङ, मनवीर पुलामी लगायतले बोलेका थिए ।
यसैबीच, लपाकमै भएको भेलाले धनजीत सुनारको अध्यक्षतामा १७ सदस्यीय जौवारी युवा संघ गठन गरेको छ । समितिको उपाध्यक्षमा अनिल मास्की, सचिवमा पूर्ण थापा, सहसचिवमा टंकबहादुर थापा रहेका छन् । कार्यक्रमका वक्ताहरुले एमालेको नीति र एमालेकै नेतृत्व स्थानीय तहमा स्थापित गराउन वडा स्तरबाट एमालेले भूमिका खेल्ने बताएका थिए । 

मधुमेह तथा थाइराइड रोग परीक्षण

चितवन, १९ चैत । ब्राह्मी महिला बचत तथा ऋण सहकारी संस्था लि.को वार्षिककोत्सव र सहकारी दिवसको अवसरमा ब्राह्मी सहकारी, क्षेत्रपुर समर्पण पोलिक्लिनिक प्रा.लि. र रामेश्वर पुस्तकालय तथा वाचनालयको संयुक्त आयोजनामा शुक्रबार मधुमेह तथा थाइराइड रोग परीक्षण एवं जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम ब्राह्मी साकोसका अध्यक्ष शशी श्रेष्ठ, समर्पण पोलिक्लिनिकका अध्यक्ष संजय गुप्ता र रामेश्वर पुस्तकालयका अध्यक्ष राजेन्द्र वाग्लेको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा एक सय जना सेवाग्रहीले थाइराइड परीक्षण गराएका थिए । जसमध्ये १० जनामा थाइराइड देखिएको, ९ जनालाई बोर्डरमा रहेको र अन्य ८१ जनाको अवस्था सामान्य रहेको थियो ।

क्रान्तिकारीमा शोभाको नेतृत्व

नारायणगढ, १९ चैत । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रन्तिकारी) को शुक्रबार सम्पन्न भरतपुर महानगरपालिका २ नम्बर वडाको अध्यक्षमा शोभा बराली निर्विरोध निर्वाचित भएकी छिन् ।
भरतपुर २ पार्टी कार्यालय परिसरमा सम्पन्न उक्त भेलाले रचना लामिछानेलाई उपाध्यक्षमा, प्रतिमा चापागाईलाई सचिवमा, सीता सापकोटालाई कोषाध्यक्षमा र गायत्री देवकोटालाई सहसचिव निर्विरोध निर्वाचित गरेको छ ।
क्रान्तिकारीकी जिल्ला अध्यक्ष संगीता भट्टराई प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा माओवादी केन्द्रका वडा इन्चार्ज खिमलाल भण्डारी, वडा संयोजक मुकुन्द पौडेल लगायतले बोलेका थिए । कार्यक्रम सरस्वती पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।