सम्पादकीय
नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा मंगलबार चितवनको रत्ननगरमा सुरु हुँदैछ । बुधबारसम्म चल्ने साधारणसभामा महत्वपूर्ण कामको रुपमा विधान संशोधन प्रस्तावलाई लिइएको छ । नेपाल पत्रकार महासंघको २०६० सालमा बनेको विधान अहिले चौथो पटक संशोधन गर्न लागिएको हो । दुई वर्षअघि यो विधानमा तेस्रो पटक संशोधन गरिएको थियो । देशले गतवर्ष नयाँ संविधान प्राप्त गरेपछि मुलुक संघीयतामा प्रवेश गरेको छ । संघीय संरचना अनुसार महासंघलाई पनि परिमार्जन गर्नुपर्ने भएकोले विधान संशोधनको आवश्यकता महसुस गरी यसपटक विधानमाथि चौथो संशोधन गर्न लागिएको हो । विधान संशोधन गरी महासंघलाई दस वटा प्रादेशिक समिति (हालको क्षेत्रीय समितिजस्तै) बनाउने तयारी भइरहेको छ । केन्द्रीय समिति भने पहिलेजस्तै रहने बताइएको छ । विधान संशोधनपछि सभासदलाई केन्द्रीय सभासद र क्षेत्रीय प्रतिनिधिलाई सभासद भनिनेछ । अब महासंघको केन्द्रीय सभा र प्रदेश सभा बन्नेछ । प्रदेश सभा गठन नभएसम्म उक्त सभाले गर्ने काम केन्द्रीय सभाले नै गर्ने विधान संशोधन प्रस्तावमा उल्लेख छ ।
विधान संशोधनमा समावेश भएको पत्रकार महासंघको सदस्य बन्न तोकिएको शैक्षिक योग्यताको प्रावधानले चर्चा पाउन थालेको छ । यसअघि एसएलसी उत्तीर्ण व्यक्तिले तीन वर्ष पत्रकारिता गरेको आधारमा पत्रकार महासंघको सदस्यता पाउने प्रावधानलाई संशोधन गर्ने तयारीमा महासंघ जुटेको छ । अब नेपाल पत्रकार महासंघको साधारण सदस्यता प्राप्त गर्नको लागि प्लस टु तहको पढाई पूरा गरेको हुनुपर्नेछ । यस्तो व्यक्ति निरन्तर कम्तीमा दुई वर्ष आमसञ्चारमाध्यममा कार्यरत हुनुपर्छ । पत्रकार महासंघले पत्रकारको गरिमा वृद्धिका लागि शैक्षिक योग्यताको मापदण्ड बढाएको हो । महासंघको केन्द्रीय साधारणसभाले दुईतिहाई मतबाट पारित गरेपछि महासंघको सदस्यता प्राप्तिको नयाँ प्रावधान लागु हुनेछ । महासंघले विभिन्न ४९ वटा दफा संशोधनको तयारी गरेको छ ।
नेपाल पत्रकार महासंघमा सदस्यता प्राप्ति गर्न प्लस टु तह उत्तीर्ण भएको शैक्षिक योग्यता चाहिने प्रस्तावित प्रावधानलाई लिएर एसएलसी पास भएकाले पत्रकार हुन नपाउने आसयका समाचार अनलाइनमा देखिन थालेका छन् । यो तथ्यलाई बंग्याउने काममात्र हो । पत्रकार महासंघको सदस्य नहुँदैमा पत्रकार नहुने भन्ने हुँदैन । पत्रकारिता गर्ने जोकोही पनि पत्रकार हो । अझ प्रष्ट रुपमा भन्नुपर्दा सूचना संकलन, समाचार लेखन, सम्पादन र प्रकाशन वा प्रसारणको काममा खटिने जोकोही व्यक्ति पनि पत्रकार हो । यस्तो पत्रकारले नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गर्नमात्र प्लस टु वा सो सरहको शैक्षिक तह उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गर्न लागिएको हो । जसरी सूचनाको मुहान थुन्न पाइँदैन, त्यसैगरी कसैलाई सूचना संकलन, समाचार लेखन र त्यसको बिस्तार गर्ने काममा बाधा दिन पाइँदैन । नेपाल पत्रकार महासंघको सदस्य नरहँदैमा कोही पत्रकार नै होइन वा हुन सक्दैन भन्ने कुरा सर्वथा गलत छ ।