सम्पादकीय

आगलागीबाट बच्न पूर्वतयारी आवश्यक

गर्मी र सुख्खा मौसम सुरु भइसकेको छ । अहिलेको खडेरीले मुलुकैभरी आगलागीका घटना बढेका छन् । आगलागीले मुलुकभर वर्षेनी ठूलो धनजनको क्षति हुने गर्दछ । चितवन जिल्ला पनि आगलागी धेरै हुने जिल्लाहरु मध्येमा पर्दछ । आगालागीको कारण कतिपय गरीब बस्ती सखाप हुने गरेका छन् । यसैगरी डढेलोले यहाँका सामुदायिक र सरकारी वन तथा निकुञ्जमा ठूलो क्षति हुने गरेको छ । यसवर्ष गर्मी मौसम सुरु भएपछि वर्षा हुन सकेको छैन । वातावरण पुरै सुख्खा छ । यस्तो लामो खडेरीमा आगलागीको जोखिम झनै बढ्छ । चितवनमा खडेरीमा हुनसक्ने आगलागीका घटनालाई न्यूनीकरण गर्न जिल्ला दैवी प्रकोप उद्धार समितिले कुनै पूर्वतयारी गरेको छैन । चितवन जिल्ला बाढी, पहिरो, वन्यजन्तु र सवारी दुर्घटना धेरै हुने जिल्लामा पर्दछ । गएको वर्ष बैशाखमा गएको भूकम्पले पनि जिल्लामा ठूलै क्षति पु¥याएको थियो । त्यसैले शायद जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले तिनै विषयलाई प्राथमिकतामा राखेको छ । आगलागीबाट हुने क्षति न्यूनिकरणका लागि समिति अनभिज्ञ नै देखिन्छ । यस आर्थिक वर्षमा चितवनको सामुदायिक र सरकारी वन क्षेत्रमा छ हजार ९२ हेक्टरमा आगलागी भैसकेको जिल्ला वन कार्यालयले जनाएको छ । वनमा आगलागी हुँदा कयौं महत्वपूर्ण वनस्पति मासिने, कयौँ जंगली जनावर तथा चराचुरुङ्गी मर्ने गरेका छन् । सुख्खा खडेरीले हुने क्षतिको कुनै लेखाजोखा छैन । यसै समयमा जिल्लाका माडी, राप्ती, नारायणी र रत्ननगर नगरपालिका तथा कविलास, दाहाखानी, काउले, चण्डीभञ्ज्याङ र सिद्धि गाविसमा गरी १७ घर जलेर नष्ट भएका छन् । तिनलाई जिल्ला विकास समिति र जिल्ला दैविप्रकोप उद्धार समितिले राहतसमेत प्रदान गरेको छ । सुख्खा खडेरी लम्बिरहँदा डढेलो र आगलागीका घटना अझै बढ्नसक्ने सम्भावना छ । कुनै पनि प्रकोपका घटनाहरु खबर गरेर आँउदैनन् । प्रकोपहरु जुनसुकै समयमा कुनै पनि ठाउँमा आउन सक्छन् । पूर्व तयारी हुन नसकेमा उद्धार र राहत कार्य प्रभावकारी बन्न सक्दैनन् । आगलागी र डढेलोले ठूलो मात्रामा धनजन र वातावरणको क्षति गराउँछ । गएको वर्ष बैशाखमा भूकम्प आउँदा पनि पूर्वतयारी नगरेको कारण ठूलो क्षति भयो । विगतका घटनाबाट शिक्षा लिएर सबैखाले प्रकोपबाट बच्नको लागि पूर्वतयारी गर्नु पर्दछ । बर्षा मौसममा जसरी बाढी र पहिरोको सम्भावना हुन्छ, त्यसैगरी सुख्खा खडेरी परेको बेला आगलागीको भय रहन्छ । त्यसका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले पूर्वतयारी गर्नु आवश्यक छ । आगो लागेपछि कुवा खन्नुको कुनै अर्थ रहँदैन ।